उपत्यकामा ठूला आइसोलेसन केन्द्र

काठमाडौँ, जेठ ११ गते । कोराना सङ्क्रमणको चाप कायमै रहेका बेला काठमाडौँ उपत्यकाका चार स्थानमा ठूला आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइने भएको छ । उपत्यकाका १८ वटै नगरपालिकाको लागत साझेदारीमा चार स्थानमा करिब एक हजार कोरोना सङ्क्रमित राख्न सकिने आइसोलेसन केन्द्र निर्माण गर्न लागिएको हो ।
भक्तपुरको चाँगुनारायण नगरपालिकाको खरिपाटीमा रहेको विद्युत् प्राधिकरणको भवन, नागार्जुन नगरपालिकाको सीतापाइलामा रहेको सहरी विकास विभागको भवन र चन्द्रागिरि नगरपालिकाको दहचोकमा एकीकृत आइसोलेसन सेन्टर सञ्चालन गर्न लागिएको उपत्यका नगरपालिका फोरमले जानकारी दिएको छ ।
टोखा नगरपालिकाको सामाखुसीस्थित राधास्वामीको भवनमा एकीकृत आइसोलेसन सेन्टर भने गत शुक्रबारदेखि सञ्चालनमा आइसकेको छ । उपत्यकाका १८ वटा नगरपालिकालाई पायक पर्ने चार स्थानमा ठूला प्रकृतिका आइसोलेसन सञ्चालन गर्न लागिएको उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ससाना आइसोलेसन केन्द्र सञ्चालन गर्दा पर्याप्त जनशक्ति र स्वास्थ्य पूर्वाधार अभाव हुने, साथै बिरामी जोखिममा पर्ने भएकाले कम क्षमताका आइसोलेसन केन्द्र सञ्चालन नगर्न सरोकारवालालाई आग्रह गरेको थियो । मन्त्रालयको यो आग्रहसँगै फोरमले धेरै बिरामी अट्ने क्षमताका एकीकृत आइसोलेसन केन्द्र सञ्चालन गर्न लागेको हो । देशभर रहेका एक लाखभन्दा बढी सक्रिय सङ्क्रमितको आधा सङ्ख्या उपत्यकामै छ ।
प्रमुख श्रेष्ठले भन्नुभयो, “ठूला प्रकृतिका आइसोलेसन सञ्चालन गर्दा ससाना आइसोलेसनमा खर्च गरिरहनु नपर्ने, आइसोलेसनको भौतिक, स्वास्थ्य पूर्वाधार र जनशक्तिसमेत व्यवस्थापन गर्न सहज हुने भएकाले उपत्यका नगरपालिका फोरमले सामूहिक रूपमा आइसोलेसन सञ्चालनको लागत बेहोर्न लागेको हो ।”
आइसोलेसन सेन्टर निर्माण र सञ्चालनको कुल लागतमध्ये काठमाडौँ महानगरपालिकाले ३४ प्रतिशत र ललितपुर महानगरपालिकाले १६ प्रतिशत बेहोर्नेछन् भने बाँकी ५० प्रतिशत लागत अन्य १६ नगरपालिकाले बेहोर्ने गरी लागत साझेदारी हुने भएको छ । लागत उपत्यका नगरपालिकाले बेहोर्ने भए पनि व्यवस्थापकीय कार्यमा भने नेपाल सरकार, नेपाली सेना र प्रहरीसँग सहकार्य गरिनेछ ।
उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भन्नुभयो, “उपत्यकामा थोरै शøया भएका आइसोलेसन त सबै नगरपालिकाले आ–आफ्नै नगरपालिकाभित्र निर्माण गरेका छन् । उपत्यकामा साझा आइसोलेसन नभएकाले एकीकृत आइसोलेसनको प्रक्रिया अगाडि बढाइएको हो ।”
आइसोलेसनमा एम्बुलेन्स, चिकित्सक, नर्सलगायतका जनशक्ति र स्वास्थ्य पूर्वाधार तयारी गर्ने योजना बनाइएको छ । आवश्यक स्वास्थ्य र भौतिक पूर्वाधारसहितको एकीकृत आइसोलेसनमा कोरोना सङ्क्रमण अन्त्य भइसकेपछि अन्य प्रयोजनका लागि पनि उपयोग गर्ने गरी एकीकृत आइसोलेसन निर्माण गर्न लागिएको हो ।

ताजा खबर

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ ३० वैशाख  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?