कञ्चनपुर, २७ असोज।
बाढी, डुबान र नदी कटानजस्ता विपद्का जोखिमसँग जुधिरहेका समुदायलाई सक्षम बनाउँदै विपद् पूर्वतयारी, द्रुत प्रतिकार्य र पुनर्लाभका प्रयासलाई प्रभावकारी बनाउन कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।

अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस (आईडीडीआरआर) २०२६ को अवसरमा सोमबार बेलडाँडी गाउँपालिकाको आयोजनामा एकदिने अन्तरक्रिया कार्यक्रम गरिएको हो। निड्स नेपाल र अक्सफाम नेपालको साझेदारीमा सञ्चालित समुदायको सबलीकरण परियोजना (स्कोप आरथ्री) को सहजीकरणमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि तथा गाउँपालिकाभित्र गठन भएका समुदायस्तरीय विपद् व्यवस्थापन समितिका पदाधिकारी सहभागी थिए।

कार्यक्रममा विपद् जोखिम न्यूनीकरणका उपाय, समुदायस्तरमा पूर्वतयारी, विपद्का बेला गरिने द्रुत प्रतिकार्य, स्थानीय तह र समुदायबीचको समन्वय तथा विपद्पछिको पुनर्लाभलगायतका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले अन्तरक्रियाबाट विपद् व्यवस्थापनसम्बन्धी नयाँ जानकारी हासिल गर्नुका साथै समुदायमा देखिएका समस्या र चुनौतीबारे खुलेर छलफल गर्ने अवसर पाएको बताएका छन्।विपद्का बेला समुदायस्तरमा निःस्वार्थ रूपमा खटिएर उद्धार, सहयोग र व्यवस्थापनका काममा योगदान पुर्याउने स्थानीय विपद् व्यवस्थापन समितिका सदस्यहरूको भूमिकाको कार्यक्रममा प्रशंसा गरिएको थियो। विशेषगरी घरायसी जिम्मेवारीसँगै समय निकालेर विपद् व्यवस्थापनमा सक्रिय हुने महिला तथा समुदायका अन्य सदस्यहरूको योगदानलाई महत्त्वपूर्ण मानिएको छ।

बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथले विपद्का बेला समुदायका नागरिकले देखाउँदै आएको सेवाभाव र सक्रियताको प्रशंसा गर्नुभयो। चुलोचौकोको जिम्मेवारीबाट समय निकालेर महिला दिदीबहिनीहरूले समुदायको सुरक्षाका लागि पुर्याउँदै आएको योगदान सराहनीय रहेको उहाँले बताउनुभयो। विपद् व्यवस्थापनका लागि आवश्यक बजेटको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले स्थानीय तह र समुदायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
यसैगरी, स्कोप आरथ्री परियोजनाका संयोजक ईश्वर उपाध्यायले नेपाल विपद्का दृष्टिले उच्च जोखिममा रहेको मुलुक भएकाले यसको सामना गर्न समुदाय, स्थानीय सरकार र संघसंस्थाका प्रयासलाई एकीकृत गर्न आवश्यक रहेको बताउनुभयो। समुदायले गरिरहेका पहल, पालिकाले अघि बढाएका कार्यक्रम र संघसंस्थाले प्रदान गर्दै आएको सहयोगलाई एकै ठाउँमा ल्याएर अनुभव आदानप्रदान गर्ने तथा आगामी दिनको कार्यदिशा तय गर्ने उद्देश्यले पालिकास्तरीय अन्तरक्रिया आयोजना गरिएको उहाँले स्पष्ट पार्नुभयो।
उपाध्यायका अनुसार विपद् व्यवस्थापन प्रभावकारी बनाउन समुदायलाई जोखिम पहिचान, पूर्वतयारी र प्रतिकार्यमा सक्षम बनाउनुका साथै स्थानीय सरकार तथा सरोकारवाला निकायबीच समन्वय आवश्यक छ। समुदायको सक्रियता र संस्थागत सहकार्यबाट विपद्का सम्भावित क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने उहाँको भनाइ छ।
निड्स नेपाल र अक्सफाम नेपालको साझेदारीमा सञ्चालित विपद् पूर्वतयारी, द्रुत प्रतिकार्य तथा पुनर्लाभका लागि समुदायको सबलीकरण परियोजना (स्कोप आरथ्री) को दोस्रो चरण कञ्चनपुरका दोधारा चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका र बेलडाँडी गाउँपालिका तथा डडेलधुराको परशुराम नगरपालिकाका ४० वटा समुदायमा सञ्चालन भइरहेको छ।
परियोजनाअन्तर्गत बेलडाँडी गाउँपालिकामा १० वटा समुदायस्तरीय विपद् व्यवस्थापन समिति परिचालन गरी विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रतिकार्यका क्षेत्रमा काम भइरहेको छ। समुदायको क्षमता अभिवृद्धि, स्थानीय तहसँगको समन्वय र विपद् व्यवस्थापनमा नागरिकको सहभागिता विस्तार गर्नु परियोजनाको प्रमुख उद्देश्य रहेको छ।
विपद् जोखिम न्यूनीकरणको दिगो आधार समुदायको तयारी र सहकार्य भएकाले स्थानीयस्तरमै सक्षम संरचना निर्माण, महिला तथा समुदायका अन्य सदस्यको सक्रिय सहभागिता र आवश्यक स्रोतसाधनको व्यवस्थापनले विपद् सामना गर्ने क्षमतालाई थप सुदृढ बनाउन सक्ने अपेक्षा गरिएको छ।


