कञ्चनपुर, २४ असोज।
महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार तान्ने क्रममा सशस्त्र प्रहरीका एक सहायक प्रहरी निरीक्षक (असई) बेपत्ता भएका छन्।
केही दिनअघि कञ्चनपुरको दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुलको एक स्पान ढलेपछि चुँडिएको अप्टिकल फाइबर तार पुनः तान्ने क्रममा सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक सागरराज थारु नदीमा खसेर बेपत्ता भएका हुन्।
शनिबार दिउँसो सवा १२ बजेतिर नेपाल दूरसञ्चार प्राधिकरणको अप्टिकल फाइबर तार तान्न सहयोग गर्ने क्रममा थारु रबर बोटबाट महाकाली नदीमा खसेका थिए। सशस्त्र प्रहरी बलको देवीस्थान गुल्ममा कार्यरत थारु दोधारा चाँदनी नगरपालिका–४ बाट भीमदत्त नगरपालिका–१३ तर्फ रबर बोटको सहायताले तार तान्ने क्रममा नदीमा खसेका हुन्।
झोलुङ्गे पुल क्षतिग्रस्त भएसँगै नेपाल टेलिकमको अप्टिकल फाइबर तारसमेत चुँडिएपछि दोधारा चाँदनी क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा प्रभावित भएको थियो। अवरुद्ध दूरसञ्चार सेवा पुनः सञ्चालन गर्न सशस्त्र प्रहरीको सहयोगमा चुँडिएको तार नदीपारि पुर्याउने काम भइरहेको थियो।
थारुसहित सशस्त्र प्रहरीका छ जना र नेपाल टेलिकमका एक जना गरी सात जना सवार रबर बोटबाट तार तान्ने क्रममा थारुको खुट्टामा तार अल्झिएको थियो। तार खुट्टामा अल्झिएपछि उनी रबर बोटबाट महाकाली नदीमा खसेर बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ।
बेपत्ता थारुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।


