१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज।

जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत सुविधामा खर्च गर्ने चलनबीच भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आसेफ कुवँरले आफूले पाउने पारिश्रमिक ज्येष्ठ नागरिक, असहाय तथा अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्दै आएका छन्। पहिलो पटक २०७४ सालमा निर्वाचित भएदेखि निरन्तर रूपमा तलबभत्ताबापतको रकम सामाजिक सेवामा खर्च गर्दै आएका कुवँरले यस वर्ष पनि १६४ जनालाई आर्थिक सहयोग गरेका छन्।

वडाध्यक्ष कुवँरले प्रत्येक वर्ष विजयादशमीको अवसर पारेर वडाभित्र रहेका ज्येष्ठ नागरिक, असहाय तथा अपाङ्गता भएका व्यक्तिलाई आफूले पाउने पारिश्रमिक वितरण गर्दै आएका हुन्। दशैंको मुखमा वडा कार्यालयमै बोलाएर सम्मानपूर्वक आर्थिक सहयोग प्रदान गरेपछि सहयोग पाउने नागरिकले खुसी व्यक्त गरेका छन्।

विगत १० वर्षदेखि दशैंका बेला निरन्तर आर्थिक सहयोग पाउँदै आएको भीमदत्त नगरपालिका–१ की ज्येष्ठ नागरिक लीला लामिछानेले खुसी व्यक्त गर्दै वडाध्यक्ष कुवँरलाई आशीर्वादसमेत दिइन्।

त्यसैगरी, विगत पाँच वर्षदेखि दशैंका बेला आर्थिक सहयोग पाउँदै आएकी अर्की ज्येष्ठ नागरिक तुलसी बोहराले पनि खुसी व्यक्त गरिन्। वडाध्यक्ष कुवँरलाई आशीर्वाद दिँदै उनले प्राप्त सहयोगले दशैंमा फलफूल खान तथा उपचार गर्न सहज भएको बताइन्।

२०७४ सालदेखि आफूले पाउने पारिश्रमिक ज्येष्ठ नागरिक, असहाय तथा अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्दै आएको वडाध्यक्ष कुवँरले जनप्रतिनिधिले सेवाभावका साथ काम गर्नुपर्ने बताए। वैदेशिक ऋण र युवाहरूले खाडी मुलुकमा पसिना बगाएर पठाएको विप्रेषणबाट राज्यले तलबभत्ता उपलब्ध गराउने भएकाले उक्त रकम व्यक्तिगत सुविधामा खर्च गर्न आफूलाई उचित नलागेको उनको भनाइ छ।

देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला जनप्रतिनिधिले पनि राज्यको सम्पत्ति व्यक्तिगत सुविधामा खर्च गर्न नहुने धारणा राख्दै कुवँरले आगामी निर्वाचनमा समेत तलबभत्ता नलिई समाजसेवा गर्न प्रतिबद्ध व्यक्तिलाई जनताले निर्वाचित गर्न सके भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्ने बताए।

चाडपर्वका बेला ज्येष्ठ नागरिक, असहाय तथा अपाङ्गता भएका व्यक्तिलाई आर्थिक सहयोग गर्दै आएका वडाध्यक्ष कुवँरको अभियानले सामाजिक उत्तरदायित्व र सेवाभावको महत्त्व उजागर गरेको छ। जनप्रतिनिधिको भूमिका पद र सुविधामा मात्र सीमित नभई जनताको सुखदुःखमा साथ दिनु र समाजप्रतिको दायित्व पूरा गर्नु पनि हो भन्ने सन्देश उनको अभियानले दिएको छ।

ताजा खबर

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?