कञ्चनपुर, १८ असोज ।
महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कञ्चनपुरको भीमदत्त नगरपालिकाका महिलालाई प्रस्तावना, अवधारणा पत्र तथा बजेट लेखनसम्बन्धी तीन दिने तालिम प्रदान गरिएको छ ।
कोइका र अक्सफामको सहयोगमा निड्स नेपालद्वारा सञ्चालित महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत भीमदत्त नगरपालिकाका १९ वटै वडामा रहेका महिला सशक्तीकरण समूहका सदस्यलाई लक्षित गरी तालिम सञ्चालन गरिएको हो ।
शुक्रबारदेखि आइतबारसम्म सञ्चालन भएको तालिममा सहभागी महिलालाई प्रभावकारी प्रस्तावना तथा अवधारणा पत्र तयार गर्ने, बजेट निर्माण गर्ने र समुदायका आवश्यकता तथा समस्यालाई योजनाका रूपमा प्रस्तुत गर्नेलगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
तालिममा सहभागी महिलाहरूले यसअघि आफ्नो वडाका विकास तथा समुदायका समस्याका विषयमा वडाध्यक्षलाई प्रत्यक्ष रूपमा आग्रह गर्दै आए पनि तालिमपछि समस्या पहिचान गर्ने, बजेट माग गर्दा ध्यान दिनुपर्ने विषय, प्रस्तावना तयार गर्ने तरिका तथा योजना मागका लागि कुन–कुन निकायमा पुग्नुपर्ने भन्ने विषयमा स्पष्ट जानकारी प्राप्त भएको बताएका छन् ।
उनीहरूले समुदायमा रहेका समस्या तथा आवश्यकतालाई व्यवस्थित रूपमा पहिचान गरी त्यसका आधारमा योजना तयार गर्ने र सम्बन्धित निकायमा प्रस्ताव पेश गर्ने सीप तालिमबाट सिकेको बताएका छन् ।
महिला सशक्तीकरण कार्यक्रमका संयोजक नबिन भट्टका अनुसार, तालिमको मुख्य उद्देश्य महिला सशक्तीकरण केन्द्रका सदस्यलाई स्थानीयस्तरका समस्या तथा आवश्यकता पहिचान गरी त्यसलाई समेटेर अवधारणा पत्र र बजेटसहितको प्रस्ताव तयार गर्न सक्षम बनाउनु हो । त्यस्ता प्रस्ताव सम्बन्धित निकायमा पेश गरी समुदायका लागि आवश्यक योजना तथा कार्यक्रम ल्याउन सक्ने बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
भीमदत्त नगरपालिकाका १९ वटै वडामा रहेका २० वटा महिला सशक्तीकरण समूहका ६० जना महिलाको सहभागिता रहेको तालिमले महिलालाई समुदायका समस्या तथा आवश्यकतालाई योजनामा समेट्दै प्रभावकारी प्रस्ताव र बजेट निर्माण गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ ।
यसबाट महिलाहरू स्थानीय विकासका योजना निर्माण तथा कार्यान्वयनमा थप सक्रिय हुनुका साथै आफ्ना समुदायका आवश्यकता सम्बन्धित निकायसम्म पुर्याउन सक्षम हुने आयोजकको अपेक्षा छ ।


