महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज

कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने ऐतिहासिक झोलुङ्गे पुलको एउटा पिलर महाकाली नदीको तीव्र बहावले ढलेपछि पुलबाट हुने आवतजावत पूर्णरूपमा बन्द गरिएको छ ।

बुधबार बिहान दोधारा–चाँदनीतर्फको भागमा रहेको तेस्रो टावरको पिलर महाकाली नदीको बहावले ढालेपछि पुलमा आवतजावत रोकिएको हो । पिलरमा क्षति पुगेपछि पुलको संरचनामा थप जोखिम हुन सक्ने भन्दै सुरक्षाका दृष्टिले आवतजावत बन्द गरिएको हो ।

वि।सं। २०६१ सालमा निर्माण सम्पन्न भएको करिब १ हजार ४५२ दशमलव ९६ मिटर लामो यो झोलुङ्गे पुल एशियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा चिनिन्छ । पुल निर्माण भएपछि दोधारा–चाँदनीका स्थानीयलाई कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आवतजावत गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको थियो ।

पुलमा क्षति पुगेपछि स्थानीयलाई पुनः लामो दूरी घुमेर आवतजावत गर्नुपर्ने अवस्था सिर्जना भएको छ । स्थानीयले पुललाई तत्काल मर्मत गरी सुरक्षित रूपमा सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन् ।

स्थानीय गगनबहादुर सिंहले पुल दोधारा–चाँदनीका लागि दैनिक आवतजावतको महत्वपूर्ण माध्यम भएकाले छिटो मर्मत गर्नुपर्ने बताउनुभयो ।

दोधारा–चाँदनी नगरपालिकाका नगरप्रमुख किशोरकुमार लिम्बूले झोलुङ्गे पुल ऐतिहासिक सम्पदाका रूपमा समेत रहेको भन्दै पुलमा क्षति पुगेर आवतजावत बन्द हुँदा स्थानीयको दैनिक जीवनसँगै क्षेत्रको आर्थिक गतिविधिमा समेत प्रभाव पर्ने बताउनुभयो ।

पुलमा क्षति पुगेको जानकारी पाएलगत्तै कुनै दुर्घटना हुन नदिन आवतजावत पूर्णरूपमा बन्द गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले बताउनुभयो । उहाँका अनुसार यातायात पूर्वाधार निर्देशनालयको प्राविधिक टोलीसँग समन्वय भइसकेको छ । प्राविधिक टोलीले स्थलगत निरीक्षण गरी दिने प्रतिवेदनका आधारमा थप प्रक्रिया अघि बढाइनेछ ।

यसैबीच, पुलमा क्षति पुगेको जानकारी पाएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसहित प्रदेश सरकारका मन्त्रीहरूको टोलीले समेत क्षतिग्रस्त झोलुङ्गे पुलको स्थलगत निरीक्षण गरेको छ । टोलीले पुलको क्षतिको अवस्था, महाकाली नदीको बहाव तथा तत्काल गर्नुपर्ने मर्मतसम्भारका विषयमा जानकारी लिएको छ ।

पुलबाट आवतजावत प्रभावित भए पनि केही दूरीमा चारलेनको पक्की पुल निर्माण भइसकेकाले विगतमा जस्तो भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता भने छैन । तर ऐतिहासिक, पर्यटकीय तथा स्थानीय आवतजावतको महत्वपूर्ण माध्यमका रूपमा रहेको झोलुङ्गे पुललाई समयमै प्राविधिक अध्ययन गरी मर्मत वा पुनर्निर्माण गरेर सञ्चालनमा ल्याउनुपर्ने स्थानीयको माग छ ।

ताजा खबर

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?