चाडपर्वमा सन्तुलित खानपान

काठमाडौँ, असोज २६ । चाडपर्व भन्नेबित्तिकै खानपान अरू दिनभन्दा फरक हुने गर्छ । नजिकिएको दशैँ, तिहारलगायतका चाडपर्व त खानपानको चाडका रूपमा लिने गरिन्छ । यद्यपि दशैँ मनाउँदा असन्तुलित खानपानले स्वास्थ्यमा नोक्सानी पुग्ने भन्दै चिकित्सक तथा पोषणविद्हरूले सन्तुलित खानपान गर्न सुझाव दिएका छन् ।

चाडपर्वका नाममा अत्यधिक मदिरा, मासु, मसलेदार परिकार खाने तथा स्वास्थ्यको ख्याल नगर्दा अस्पतालसम्म पुग्नु परेका धेरै घटना रहेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले बताउनुभयो ।
दशैँमा बढी मात्रामा चिल्लो, पिरो, बोसोयुक्त खानेकुरा खाँदा बिरामी नभएका मानिससमेत बिरामी पर्ने र बिरामी भएकालाई झनै खतरा हुने जानकारी उहाँले दिनुभयो ।

अस्वाभाविक खानपानले मानिसको मिर्गौला, मुटु, कलेजोजस्ता अङ्गमा असर गर्नुका साथै रक्तचाप बढ्ने, शरीरमा कोलस्ट्रोलको मात्रा वृद्धि हुनेजस्ता समस्या देखा पर्ने गरेको उहाँले बताउनुभयो । डा. कोइरालाले भन्नुभयो, “खसी, बोका, राँगा र बङ्गुुरको मासु रातो हुनाले मानिसको स्वास्थ्यमा असर गर्ने गर्छ । त्यसैले सकभर त्यस्तो मासुमा बजारको मसला हालेर खानु हुँदैन ।”

दशैँमा एक दिन खसी काटेर १० दिनसम्म खाने चलन छ । डा. कोइरालाको भनाइमा यसरी धेरै दिनसम्म मासु राखेर खानु स्वास्थ्यका लागि राम्रो हँुदैन । चाडपर्वमा शारीरिक व्यायाम नगर्नाले पनि कोलेस्ट्रोल तथा चिल्लो बढ्ने र मुटुमा असर गर्ने उहाँको भनाइ छ । “रगतमा रहेको अल्कोहलको मात्रा जति बढ्दै जान्छ, यसले दिमाग र स्नायु प्रणालीलाई त्यति नै नकारात्मक प्रभाव पनि पार्दै जान्छ । रक्सीले सबैभन्दा बढी असर दिमागमा र त्यसपछि क्रमशः मुटु र कलेजोमा पार्छ”, डा. कोइरालाले प्रस्ट पार्नुभयो ।

चाडपर्वका अवसरमा मदिराजन्य पदार्थ बढी सेवन गरिने हुनाले मुटुको धड्कनमा गडबडी उत्पन्न भई मुटुले काम नै नगर्न सक्छ । गर्भवती महिलाले रक्सी पिएको खण्डमा विकृत मुटु भएको बच्चा जन्मन सक्नेतर्फ पनि उहाँले सचेत गराउनुभयो ।

पोषणविद् डा. अरुणा उप्रेतीले खानपानमा ध्यान नदिने तथा जीवनशैलीमा आएको परिवर्तनले गर्दा सामान्य व्यक्ति पनि रोगी बन्ने र रोगी व्यक्तिका शारीरिक अङ्गसमेत काम नलाग्ने हुनसक्ने हुनाले सन्तुलित खाना मात्र खान सुझावदिनुभयो । चाडबाडका नाममा खानपानमा ध्यान नदिँदा मानिसले स्वास्थ्यलगायत सामाजिक रूपमा समेत ठूलो क्षति बेहोर्नु परेको छ । उहाँले भन्नुभयो, “मानिसले दशैँको खानामा ध्यान नपु¥याउँदा जटिल रोगको सिकार हुनुपर्ने अवस्था आउन सक्छ ।”

पेटरोग विशेषज्ञ डा. सञ्जय पौडेलले चाडपर्वका नाममा अत्यधिक मदिरा, मासु र धेरै समयसम्म राखिएका खानेकुराले विभिन्न रोगको सिकार हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मदिरा सेवन गर्न नहुने व्यक्तिले पनि दशैँमा खाने गर्छन् । यसका कारण मानिसको स्वास्थ्यमा समस्या आउने गर्छ ।”

दशैँमा अत्यधिक मदिरा पिउनाले शरीरमा ग्लुकोज कमी हुने, डिहाइड्रेसन हुने, मानिस उठ्नै नसक्ने अवस्थामा पुग्ने, शरीरले काम नगर्नेलगायतका समस्या देखा पर्ने जानकारी उहाँले दिनुभयो । ग्यास्ट्रिक, अल्सर भएका व्यक्तिले मदिरा, मासु खानुभन्दा अगाडि विचार पु¥याउनुपर्ने भन्दै डा. पौडेलेले असन्तुलित खानाले शरीरलाई फाइदा नगर्ने बताउनुभयो । मासु र मदिराभन्दा काँक्रो, मुला, गाँजरजस्ता खाना खान सुझाव दिँदै उहाँले खानासँगै दैनिक एक घण्टा पैदल हिँड्ने र शारीरिक व्यायाम गर्नुपर्ने जानकारी दिनुभयो ।

ताजा खबर

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

सुदूरपश्चिमका हेमराज भट्ट रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, १,१३७ मतसहित पहिलो महाधिवेशनमै ऐतिहासिक सफलता

काठमाडौं, १२ असार  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट...

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहबाट २४८९ विद्यार्थी दीक्षित हुँदै

कञ्चनपुर ११ असार सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो छैटौँ दीक्षान्त समारोह शुक्रबार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?