पुनः दोहोरिँदै असारे विकास, कति खर्च हुन्छ असारमा पुँजीगत बजेट ?

१३ जेठ, काठमाडौं । राजनीतिक किचलोको मारमा बारम्बार बजेट पर्दा आर्थिक वर्षको समयमै नआउने र खर्च नहुने समस्या समाधान गर्न १५ जेठमा बजेट ल्याउनै पर्ने प्रावधान राखियो । यसको उद्देश्य १ साउनबाट सुरु हुने आर्थिक वर्ष अगाडि नै बजेट पास गर्ने र साउनबाट धमाधम कार्यान्वयनमा जान सकियोस् भन्ने थियो । तर जुन उद्देश्यले संविधानमा यो प्रावधान राखिएको थियो, व्यवहारमा भने त्यस अनुसार कार्यान्वयन हुन नसकेको देखिएको छ ।

पछिल्लो ५ वर्षको तथ्यांक अनुसार पुँजीगत बजेटको औसतः ४० प्रतिशत बजेट असारमा मात्र खर्च हुने गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले यस्तो देखाएको हो । बजेट सक्न रकमान्तर र थप निकासाको सहायता लिने प्रवृत्तिले बजेट अनुशासनमा समेत प्रश्न उठ्ने गरेको छ ।

असारमा मात्र ४० प्रतिशत विकास खर्च

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार पछिल्लो ५ वर्षमा नेपालमा औसतः ४० प्रतिशत विकास खर्च असारमा भएको छ । तथ्यांक अनुसार पछिल्लो आर्थिक वर्ष २०७२÷७३ मा असारमा ४९ प्रतिशत बजेट खर्च भएको थियो । यो वर्ष नेपालले भूकम्पको सामना गर्नुपरेको थियो । वैशाखमा आएको भूकम्पले मुख्य पुँजीगत खर्च हुने समयमा काम हुन नपाएको प्रभाव बजेट खर्चमा परेको थियो ।

आव २०७३÷७४ मा असारमा ४१ प्रतिशत पुँजीगत खर्च असारमा भएको थियो । आव २०७४÷७५ मा असारमा ३९ प्रतिशत पुँजीगत बजेट खर्च भएको तथ्यांक छ । आ.व. २०७५÷७६ मा ३६ प्रतिशत पुँजीगत बजेट असारमा खर्च भएको छ । गत आव २०७६÷७७ मा ३४.३३ प्रतिशत पुँजीगत खर्च असारमा भएको देखिएको छ ।

पछिल्लो ५ वर्षमा असार महिनामा कति प्रतिशत पुँजीगत खर्च भयो ?

२०७२÷७३ः ४९ प्रतिशत

२०७३÷७४ः ४१ प्रतिशत

२०७४÷७५ः ३९ प्रतिशत

२०७५÷७६: ३६ प्रतिशत

२०७६÷७७: ३४.३३ प्रतिशत

औसत्: ३९.८४ प्रतिशत

चालु आवमा पनि दोहोरिँदैछ असारे खर्च

असारे विकासको प्रवृत्ति चालु आर्थिक वर्ष २०७७÷७८ मा समेत दोहोरिने निश्चित भएको छ । चालु आव सकिन अब डेढ महिना मात्र बाँकी छ । बुधबारसम्मको तथ्यांक अनुसार नेपालमा १ खर्ब ३१ अर्ब ६८ करोड रुपैयाँ पुँजीगत खर्च भएको छ । यो लक्ष्यको मात्र ३७.३१ प्रतिशत मात्र हो । यो आवमा सरकारले कुल ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ पुँजीगत खर्चको लक्ष्य राखेको थियो ।

किन दोहोरिन्छ असारे विकास ?

अर्थ मन्त्रालयका अनुसार नेपालमा १५ जेठमै बजेट आएपनि पूर्वतयारी नसकिएका आयोजना बजेटमा राख्ने र त्यसको कार्यान्वयनको चरणमा जटिलता आउने गरेको छ । उदाहरणका लागि सरकारले विशेष प्राथमिकताका साथ बजेटमा राख्ने राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थलमा यो वर्ष ‘शून्य प्रगति’ भयो ।

सरकारले यो आयोजनालाई अगाडि बढाउने कुनै प्रयास नै गरेन । यो आयोजनामा विनियोजन भएको तर खर्च हुन नसकेको बजेट आवको अन्तिममा अन्य कार्यक्रममा रकमान्तर गरी खर्च गर्नुपर्दा एकातर्फ बजेटको सही उपयोग हुन सकेको छैन भने आवको अन्तिममा हुने खर्च समेत बढेको छ । पूर्वअर्थसचिव युवराज भुसालका अनुसार जुन लक्ष्यसहित जेठ १५ को मिति राखिएको हो, त्यसअनुसार बजेट कार्यान्वयन गर्ने निकाय गम्भीर हुन नसक्दा असारे विकास दोहोरिएको हो ।

चालु आवमा अपेक्षित खर्च हुन नसक्ने कारण के हुन ?

अर्थ मन्त्रालयले ६ महिना अवधिको बजेट कार्यान्वयनको मूल्यांकन गर्दा यो वर्ष बजेट खर्चमा मुख्य अवरोधक कोरोना भाइरसको महामारी मानेको थियो । अर्थले भनेजस्तै महामारीले पुँजीगत बजेट खर्च हुने मूख्य समय चैत–असारमा सबैभन्दा बढी प्रभावित बनाएको छ ।

कतिपय आयोजनामा नियुक्त तथा परिचालन भएका वैदेशिक परामर्श दातार कामदार यस पटक पनि विदेशमै रोकिने अवस्था आयो । वन प्रयोग गर्नुपर्ने सबैजसो आयोजनाहरु वातावरणीय पक्षका विविध प्रक्रियामा अड्किने गरेका छन् । यो रोग चालु आवमा समेत दोहोरियो ।

नयाँ आयोजना/कार्यक्रम पूर्वतयारी नसकी बजेटमा राख्ने परिपाटीले आवको प्रारम्भिक महिनामा बजेट खर्च हुन नसक्ने समस्या चालु आवमा समेत यथावत् देखिएको छ । ठूला र राष्ट्रिय गौरवका आयोाजनाले यो वर्ष पनि अपेक्षित गति लिन सकेनन् । अर्थ मन्त्रालयले बजेट कार्यान्वयन सम्बन्धमा उपलब्ध गराएका निर्देशिका बमोजिम बजेट कार्यान्वयन गर्ने निकायबाट पालना नहुँदा बजेट खर्चका विकृति चालु आवमा समेत दोहोरिएको हो ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?