अब सवारी तीव्र गतिमा चलाए परीक्षा दिनुपर्ने

विराटनगर । गाडी तीव्र गतिमा कुदाउँदै हुनुहुन्छ ? वा लापरबाहीपूर्ण तरिकाले हाक्दै हुनुहुन्छ ? यदि तीव्र गति र लापरबाहीपूर्ण तरिकाले गाडी हाक्दै हुनुहुन्छ भने अब सचेत रहनु होला ।

नत्र भने ट्राफिक प्रहरीले अपनाएको नयाँ खाले कारबाहीको भागिदार बन्नुपर्ला । प्रदेश १ को पूर्व(पश्चिम र कोशी राजमार्ग अन्तर्गतको सडक खण्डमा सार्वजनिक यात्रुबहाक सवारी साधन छिटो कुदाउने चालकसँग लिखित परीक्षा लिन थालिएको छ ।

ट्राफिक प्रहरीको अध्ययनबाट चालकले लापरबाहीपूर्ण र तीव्र गतिमा गाडी कुदाउँदा राजमार्गमा अत्याधिक दुर्घटना हुने गरेको पुष्टि भएपछि नियन्त्रण गर्न चालकमाथि कारबाहीको नयाँ उपाय अपनाइएको हो ।

८० प्रतिशत दुर्घटना चालकको लापरबाही र तीव्र गतिका कारण भएको पाइएको छ । ट्राफिक प्रहरीका अनुसार ७० प्रतिशत दुर्घटना राजमार्गमा भएका छन् । पहिलो चरणमा राजमार्गको झापा, मोरङ र सुनसरी खण्डमा चल्ने गाडीका चालकले परीक्षा दिनु पर्ने नियम लागू गरिएको हो ।

केही समय भित्रै प्रदेशका १४ वटै जिल्ला र सबै सडक खण्डमा लागू गर्ने ट्राफिकको तयारी छ । प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाही गरिए पनि लापरबाही नरोकिएपछि चालकसँग लिखित परीक्षा लिन सुरु गरिएको जानकारी दिए ।

‘यसअघि ट्राफिक नियम उल्लंघनको कसुरमा चालकलाई एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना गर्ने गरिएको थियो । तर जरिवान वापतको रकम गाडी धनीले तिरिदिने भएपछि चालकलाई यो कारबाहीले कुनै फरक परेन,’ उनले भने, ‘जरिवानाको कुनै असर नदेखिएपछि चालक स्वयं कारबाहीको भागिदार बन्ने गरी नयाँ कारबाही सुरु गरिएको हो । यसले राजमार्गमा लापरबाही र तीव्र गतिका कारणबाट सवारी दुर्घटना भएर मानविय एवं भौतिक क्षति व्यहोर्नु पर्ने अवस्था टर्ने अपेक्षा गरिएको छ ।’

यो नियमले तीव्र गति रोक्न, चालकलाई जिम्मेवार र सचेत बनाउन तथा दुर्घटना न्यूनीकरण गर्न मद्धत पुग्ने उनले बताए । आफै उपस्थित भएर लिखित परीक्षामा सहभागी बन्नु पर्ने भएपछि चालकले सवारी साधन चलाउँदा होसियारी अपनाउने दाहालको भनाइ छ ।

गल्ती गर्ने चालकसँग लिइने परीक्षाका लागि ट्राफिक नियमसँग सम्बन्धित प्रश्नपत्र हुन्छ । ‘एउटा प्रश्नपत्रमा ८० वटा प्रश्न सोधिएका हुन्छन्,’ एसपी दाहालले भने, ‘परीक्षा दिने चालकले उत्तीर्ण हुन ६० प्रतिशत अंक प्राप्त गर्नैपर्छ ।’ तीव्र गतिमा र लापरबाहीपूर्ण तरिकाले गाडी कुदाएमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) र गाडीको ब्लुबुक ट्राफिक प्रहरीले नियन्त्रणमा लिने छ ।

चालकले परीक्षामा सहभागी भएर उत्तीर्ण गरेपछि ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाही गरेर मात्रै कागजपत्र फिर्ता गरिने उनको भनाइ छ । ‘नियम उल्लंघन गरे वापत परीक्षामा उत्तीर्ण भएपछि कारबाही स्वरुप जरिवाना गरेर मात्रै कागजपत्र फिर्ता गरिने छ,’ उनले भने, ‘परीक्षामा सहभागी नभएमा वा अनउत्तीर्ण भएमा भने कागजपत्र ट्राफिककै नियन्त्रणमा हुने छ ।’

अनउत्तीर्ण हुने चालकलाई अर्को परीक्षाको व्यवस्था गरिएको छ । लापरबाही गर्ने चालकले सम्बन्धित इलाका ट्राफिक, जिल्ला ट्राफिक र प्रदेश ट्राफिक कार्यालयमा पुगेर परीक्षा दिनुपर्छ । गाडीको गति मापनका लागि राजमार्गका अधिकांश ठाउँमा राडारगनको प्रयोग गरिने एसपी दाहालले बताए । चालकले गाडी सही तरिकाले कुदाए नकुदाएको विषयमा राजमार्गमा लागू गरिएको ‘टाइम कार्ड’ बाट पनि थाहा पाउन सकिने उनको भनाइ छ ।

पूर्व(पश्चिम राजमार्गअन्तर्गत झापाको काँकडभिट्टादेखि सुनसरीको कोशी व्यारेजसम्म र कोशी राजमार्गअन्तर्गत विराटनगरदेखि धरानसम्म ट्राफिक प्रहरीले सार्वजनिक यात्रुबहाक सवारी साधनमा माघ दोस्रो सातबाट ‘टाइम कार्ड’ लागू गरेको थियो। ‘टाइम कार्ड’ लाई पनि छोटो तथा मध्यम दूरीका सवारी साधनलाई लक्षित गरेर राजमार्ग केन्द्रीत गरिएको छ ।
किलोमिटरको आधारमा ‘टाइम कार्ड’ लागू गरिएकाले तोकिएको र कार्डमा उल्लेख भएको समयमा यात्रुबहाक सवारी साधन गन्तब्यमा पुग्नु पर्छ ।

अगाडि पुग्ने गाडीका चालकले लिखित परीक्षासँगै अन्य कारबाहीको भागिदार बन्नु पर्छ । झापाको काँकडभिट्टा, बिर्तामोड, दमक, ताराबारी, मोरङको बेलबारी, गछिया, कंचनबारी, विराटनगर बसपार्क, सुनसरीस्थित धरानको तीनकुने, इटहरीको कलंकी मोड, पकली, कोसी कटान र भण्टाबारीमा ‘टाइम कार्ड’ चेकजाँच स्थल कायम गरिएका छन् ।

‘टाइम कार्ड’ अनुसार एउटा सार्वजनिक सवारी साधनले एक किलोमिटर दूरी एक मिनेट ४८ सेकेन्ड अगाडि पार गर्न पाउने छैनन् । सबै सवारीका साधनका चालकका हातमा थमाइएको ‘टाइम कार्ड’ हेण्डबुक आकारको छ । चालकले प्रत्येक ‘चेक प्वाइन्ट’मा गाडी रोकेर त्यसमा आफ्नो समय दर्ता गराउनु पर्छ । एउटा ‘टाईम कार्ड’ एकजना चालकले १२ दिनसम्म प्रयोग गर्न सक्ने प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मीराज अधिकारीले बताए । ‘टाइम कार्ड’ मा छुटेको स्थान, पुग्ने स्थान, पुगेको समय उल्लेख गरेर ट्राफिकको दस्तखत र छापसमेत लगाइने उनको भनाइ छ ।
सुनौलो पूर्व नेपाल यातायात प्राली विराटनगरका कोषाध्यक्ष राजु धमलाले आफूसँग लिखित परीक्षा लिन थालिएसँगै चालकले सावधानी अपनाउने भएकाले सवारी दुर्घटना कम हुने बताए।

प्रदेश १ मा चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा भएका आठ सय ५८ वटा सवारी दुर्घटनामा दुई सय २१ जनाको मृत्यु भएको छ । राजमार्गमा मात्रै भएका चार सय बढी दुर्घटनामा एक सय ५० जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । प्रदेश १ मा बस, मिनी बस र माइक्रो गरेर छ हजारको हाराहारीमा सार्वजनिक यात्रुबहाक सवारी साधन रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

ताजा खबर

निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ वर्ष पूरा, अनुसन्धान नतिजा शून्य

कञ्चनपुर - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार...

पर्यावरण संरक्षणका लागी भम्केनी धाममा वृक्षारोपण

कञ्चनपुर - पर्यावरण संरक्षणका लागी कञ्चनपुरको भम्केनी धाम तथा नागार्जुन...

वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा खोकाछाप्रा पीडितकाे माग

कञ्चनपुर-वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा...

जोगबुढा नदीको विचको भाग सफाई गरिदिन सुन्दरनगरका स्थानीयहरुकाे माग

कञ्चनपुर-दोधारा चादनी नगरपालिका वडा नम्वर ८ सुन्दरनगरका स्थानीयहरुले लामो...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?