कञ्चनपुर, १५ साउन
कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइने विद्युतीय स्कुटरमाथि कञ्चनपुर भन्सार कार्यालयले कडाइ गरेको छ। पछिल्लो समय कञ्चनपुरमा भारतबाट अवैध रूपमा भित्रिएका विद्युतीय स्कुटरको प्रयोग बढ्दै गएपछि भन्सार कार्यालयले आयात, बिक्री–वितरण तथा प्रयोगमाथि निगरानी बढाएको हो।
भन्सार कार्यालयका अनुसार नेपालमा सञ्चालन हुने विद्युतीय स्कुटर तथा मोटरसाइकल आधिकारिक नेपाली आयातकर्ता वा अधिकृत विक्रेतामार्फत खरिद गर्नुपर्ने कानुनी व्यवस्था भए पनि सीमावर्ती भारतीय बजारबाट भन्सार छली गरी स्कुटर भित्र्याउने क्रम बढ्दो छ। यसले राज्यको राजस्वमा प्रत्यक्ष असर पार्नुका साथै कानुनी र सुरक्षा चुनौतीसमेत सिर्जना गरेको कार्यालयको भनाइ छ।
कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत चक्रदेव भट्टले भारतबाट अवैध रूपमा ल्याइएका विद्युतीय स्कुटरको प्रयोग बढ्दै गएकाले त्यस्ता सवारीमाथि सुरक्षा निकायसँगको समन्वयमा निगरानी कडा पारिएको जानकारी दिए। उनले सर्वसाधारणलाई भन्सार छली गरी ल्याइएका विद्युतीय स्कुटर खरिद–बिक्री नगर्न आग्रह गर्दै नेपालमा आधिकारिक रूपमा आयात गरिएका सवारीसाधन मात्रै खरिद गर्न अनुरोध गरे।
उनका अनुसार यसअघि अवैध रूपमा भित्रिएका स्कुटरको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सम्बन्धित निकायबीच छलफलसमेत भइरहेको छ।
यस्तै, यातायात व्यवस्था कार्यालय कञ्चनपुरका प्रमुख कुमार परियारले प्रज्ञापनपत्रबिना भारतबाट ल्याइएका विद्युतीय स्कुटरको प्रयोग बढ्दै गएको र ती कानुनी रूपमा वैध नभएको बताए। यस्ता सवारीसाधनलाई नियन्त्रण गर्न सम्बन्धित सबै निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ छ।
सीमावर्ती भारतीय बजारमा तुलनात्मक रूपमा सस्तो मूल्य पाइने भन्दै धेरैले भन्सार छली गरी विद्युतीय स्कुटर नेपाल भित्र्याउने गरेका छन्। तर यस्ता सवारीमध्ये धेरैजसो दर्ताविहीन हुने, चालक अनुमति पत्रबिना सञ्चालन हुने तथा हेल्मेटको प्रयोगसमेत नगर्ने प्रवृत्तिका कारण दुर्घटनाको जोखिम बढ्दै गएको सरोकारवालाहरू बताउँछन्।
अवैध रूपमा भित्रिएका विद्युतीय स्कुटरको प्रयोगले एकातिर राज्यको राजस्व गुमिरहेको छ भने अर्कोतर्फ सडक सुरक्षा र कानुनी व्यवस्थापनमा समेत चुनौती थपिएको छ। यही अवस्थालाई मध्यनजर गर्दै कञ्चनपुर भन्सार कार्यालय, यातायात व्यवस्था कार्यालय तथा सुरक्षा निकायले यस्ता सवारीसाधनमाथि निगरानी र नियन्त्रणलाई थप प्रभावकारी बनाउने तयारी गरेका छन्।


