

कञ्चनपुर, असार ३
कञ्चनपुरको बेदकोट नगरपालिका– ७ सुडा हजारा स्थित पोखरी कटेज प्रालि होटलका संचालक कृष्ण रानाले होटलमा सरकारी अनुदान नलिएको बताएका छन । उनले आफुले पहिल्यै देखि ललिता एग्रो फर्मबाट माछा तथा कुखुरा पालनगर्र्दै आएको त्यही फर्मबाट अहिले जिउँदो माछा बिक्रि केन्द्र र पोखरी मर्मतका लागि प्रदेश सरकारबाट अनुदानमा छनौट भएको बताए । प्रदेश सरकार रहेको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहत रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत चालु आर्थिक बर्ष ०८१÷०८२मा ५०लाखमा अनुदान छनौट भएपनि निर्माण कार्य जारी भएकाले भुक्तानी समेत नपाएको बताए । ‘मेरो निजी ५०लाख र सरकारको ५०लाख संयुक्त लगानीमा योजना संचालन गरेको छु, ‘उनले भने, ‘मैले अनुदान लगेर दुरुपयोग पनि गरेको छैन ।’ ०७२सालदेखि पोल्ट्री, माछा व्यवसायमा काम गर्दै आएको र व्यवसाय विस्तार गरेर ०७६देखि पोखरी कटेज समेत संचालनमा ल्याएको उनले बताए ।
सरकारी अनुदान लिएर पोखरी कटेजमा प्रवेसका लागि प्रति व्यक्ति ५० रुपैया संकलन भईरहेको समाजिक सञ्जालमा प्रशन उठेपछि उनले आन्तरिक सुरक्षाका लागि प्रवेसीहरुबाट फुट शुल्क रहेको र उक्त शुल्क लिएर ग्राहकको अन्य शुल्कमा मिलान गर्दै आएको दावि गरे । हालसम्म १३करोड बैकिङ्ग ऋण रहेको भन्दै उनले युवालाई स्वदेशमै उद्यम गर्न वातावरण बनाउनु्पर्नेमा जोडदिए ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका सुचना अधिकारी खडक बहादुर पाण्डेयले पोखरी कटेज होलटमा अनुदान नगएको बताए । ‘संचालक एकै व्यक्ति हुनसक्छ, तर अनुदानका लागि ललित एग्रो फर्म छनौट भएको छ, ‘उनले भने, ‘उपभोक्तालाई ताजै जिउँदो माछा बिक्रि केन्द्र संचालन र केही पोखरी मर्मतका लागि कार्यक्रम दिएका छौँ, काम भईरहेको छ, सम्झौता अनुरुप काम भएपछि मात्रै भुक्तानी हुन्छ ।’

