महेन्द्रनगर १७ फागुन ।
फ्लोरिडा इन्टरनेसनल माध्यमिक विद्यालयले आफ्नो २४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी उपस्थित रहनुभएको थियो भने कार्यक्रमको सभापतित्व दुरी देवी लुहारले गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जोशीले शिक्षा नै समृद्धि र विकासको प्रमुख आधारशिला रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “विद्यालयहरू केवल ज्ञान प्रदान गर्ने थलो मात्र होइनन्, यी सृजनशीलता, नेतृत्व क्षमता र जिम्मेवार नागरिक निर्माण गर्ने केन्द्रसमेत हुन्। विद्यार्थीहरूलाई नैतिकता र व्यवहारिक सीपसहितको शिक्षा दिन सके भविष्य उज्ज्वल हुनेछ ।”
कार्यक्रमका क्रममा विद्यालयका पूर्व प्रधानाध्यापक गङ्गा जोशीलाई विशेष सम्मान प्रदान गरिएको थियो। साथै, विद्यालयमा असल अभिभावकको योगदानको कदर गर्दै २२ जना अभिभावकलाई सम्मान गरिएको थियो।
फ्लोरिडा इन्टरनेसनल माध्यमिक विद्यालयमा हाल ८७४ जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा प्लस टू तहमा म्यानेजमेन्ट तथा कम्प्युटर कमर्स विषयहरू पढाइ हुने व्यवस्था छ। कार्यक्रमका क्रममा विद्यालयका प्रधानाध्यापक जयराज ओझाले विद्यालयको प्रगतिबारे जानकारी गराउँदै आगामी दिनमा शिक्षाको गुणस्तर अभिवृद्धिका लागि थप योजना रहेको बताउनुभयो। उहाँले विद्यार्थीहरूको सिर्जनात्मक क्षमतालाई बढावा दिन विद्यालयले निरन्तर सुधारात्मक उपायहरू अपनाइरहेको जानकारी दिनुभयो।
कार्यक्रममा कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले पनि आफ्नो भनाई राख्दै शिक्षाको भूमिका समाज सुधार र शान्ति स्थापनामा अत्यन्तै महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “शिक्षाले व्यक्तिलाई अनुशासित, जिम्मेवार र समाजप्रति समर्पित बनाउँछ। यस विद्यालयले प्रदान गरेको गुणस्तरीय शिक्षाले विद्यार्थीहरूलाई उज्ज्वल भविष्य निर्माण गर्न मद्दत गर्नेछ ।”
भीमदत्त नगरपालिकाकी नगर उपप्रमुख नीलम लेखक (जोशी) ले कार्यक्रममा बोल्दै शिक्षाको अभिवृद्धि र विद्यार्थीहरूका लागि स्थानीय सरकारको भूमिकाबारे प्रकाश पार्नुभयो। उहाँले भन्नुभयो, “स्थानीय सरकारको प्राथमिकता शिक्षाको गुणस्तर वृद्धि गर्नु हो। विद्यालय र अभिभावकबीचको सहकार्यले मात्रै विद्यार्थीको उज्ज्वल भविष्य निर्माण गर्न सकिन्छ। भीमदत्त नगरपालिका शिक्षाका लागि निरन्तर लागिपर्नेछ।” उहाँले विद्यालयले समुदाय र विद्यार्थीहरूको आवश्यकताअनुसार थप सुधारात्मक कदम चाल्ने विश्वास व्यक्त गर्नुभयो।
जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले शिक्षाले समाजको रूपान्तरण गर्ने महत्वपूर्ण भूमिका खेल्ने बताउँदै विद्यालयको निरन्तर प्रगतिप्रति खुशी व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “शिक्षा क्षेत्रको सुधारमा सबै पक्षको सक्रिय भूमिका आवश्यक छ। अभिभावक, शिक्षक, विद्यार्थी र समुदायको सहकार्यबाट मात्रै उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्न सकिन्छ ।”
कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएका थिए, जसमा विद्यार्थीहरूले नृत्य, गायन, नाटक तथा विभिन्न कलात्मक प्रस्तुतिहरू देखाएका थिए। यसले विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने अवसर प्रदान गरेको थियो। साथै, विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रमको सञ्चालन मञ्जु पनेरु र शिक्षक अभिषेक जोशीले गर्नुभएको थियो। अन्य उल्लेखनीय अतिथिहरूमा वरिष्ठ पत्रकार चित्राङ्ग थापा, सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत नेपाली भाषा साहित्य तथा संस्कृति विभागका निर्देशक डा. हरिश्चन्द्र भट्ट, मानविकी एवम् समाजशास्त्र विभाग प्रमुख पुष्पराज जोशी, भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशी, सामाजिक विकास कार्यालयका प्रमुख गोपालदत्त जोशी, एनएनएसडब्लुएका कार्यकारी निर्देशक अशोकविक्रम जैरु तथा सिद्धनाथ विज्ञान क्याम्पसका प्रमुख डा. गजराम दमाईं लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा शिक्षा प्रेमी, शिक्षक, शिक्षक सङ्गठनका प्रतिनिधि, विद्यार्थी सङ्गठनका प्रतिनिधि तथा सम्पूर्ण नागरिक समाजका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालय प्रशासनले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याउने सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गरेको छ ।