अझै ४० प्रतिशत सिममा खुल्दैन इन्टरनेट

असोज ३१, काठमाडौं । नेपालमा इन्टरनेटको सेवामा ७४ प्रतिशत हिस्सा मोबाइल ‘डाटा’कै छ । तर अझै बजारमा सक्रिय रहेका ४० प्रतिशत सिमकार्डमा इन्टरनेट सेवा खुलेको छैन ।

नेपालमा तीन मोबाइल कम्पनी, नेपाल टेलिकम, एनसेल आजिएटा र स्मार्ट टेलिकमले ‘मोबाइल डाटा’ मार्फत् इन्टरनेट सेवा दिन्छन् । नेपाल दूरसञ्चार प्राधिकरणको प्रतिवेदन अनुसार २ करोड २८ लाख ४८ हजार मोबाइलमा इन्टरनेट खोलिन्छ । जबकि देशभर ३ करोड ८४ लाख ५१ हजार मोबाइल प्रयोगकर्ता (सिम) सक्रिय छन् । अर्थात् करिब १ करोड ५६ लाख ३ हजार सिममा इन्टरनेट सेवा ‘एक्टिभ’ छैन ।

प्राधिकरणका अनुसार जनसंख्याको अनुपातमा ७६.०३ प्रतिशत जनता मोबाइलमा इन्टरनेट चलाउँछन् ।

एकै व्यक्तिसँग धेरै सिम हुने, ग्रामीण क्षेत्रमा राम्रो इन्टरनेट नचल्ने र सामान्य साक्षर रहेका व्यक्तिले मोबाइल डाटा प्रयोग नगर्ने लगायतका कारण अझै ठूलो संख्यामा सिममा ‘मोबाइल डाटा’ एक्टिभ नभएको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

नेपालमा सबभन्दा धेरै थ्रिजी सेवा प्रयोगकर्ता छन् । एक करोड २८ लाख मोबाइल प्रयोगकर्ताले थ्रिजी सेवा लिएका छन् । थ्रिजीमा एक करोड १० लाखले नेपाल टेलिकमको सेवा प्रयोग गरिरहेका छन् भने एनसेलबाट २४ लाख ६२ हजार प्रयोगकर्ता दर्ता छन् ।

यसैगरी फोरजीका ९९ लाख ५४ हजार प्रयोगकर्ता छन् । त्यसमा झण्डै ५० लाख ४२ हजार प्रयोगकर्ता नेपाल टेलिकमको मात्रै छन् । एनसेलसँग जम्मा ७४ लाख ४४ हजार मात्रै फोरजीका प्रयोगकर्ता छन् । स्मार्ट टेलिकमसँग पनि एक लाख ६६ हजार फोरजी प्रयोगकर्ता छन् । मोबाइल ब्रोडब्यान्डमा ई–भिडियो प्रयोग गर्नेहरु एक लाख ३६ हजार छन् ।

जनसंख्याभन्दा धेरै प्रयोगकर्ता !

२०७८ असारबाट नेपालमा इन्टरनेटका ग्राहकको संख्या देशको जनसंख्याभन्दा माथि उक्लिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा इन्टरनेट ‘सस्क्राइबर’ को संख्या तीन करोड १० लाख ८३ हजार पुगेको छ । यो संख्या नेपालको कुल जनसंख्याभन्दा करिब ३ प्रतिशत बढी हो ।

एकै व्यक्तिले दोहोरो/तेहेरो रुपमा फरक–फरक सेवा प्रदायकबाट सेवा लिइरहेको तथ्यांकका कारण खासमा कति प्रतिशत जनता इन्टरनेटको पहुँचमा छन् भन्ने यकिन भने छैन ।

सबै कम्पनीका ग्राहकको संख्या फरक–फरक किसिमले जोड्दा ग्राहक संख्या जनसंख्याभन्दा धेरै देखिएको प्राधिकरणका निर्देशक मिनप्रसाद अर्याल बताउँछन् । तर, वास्तवमै कति जनता इन्टरनेटको पहुँचमा छन् भन्ने यकिन भने नभएको उनको भनाइ छ ।

‘कतिपय एकै व्यक्तिले मोबाइल र फिक्स्डलाइन इन्टरनेट दोहोरो/तेहेरो रूपमा गरिरहेकाले यो तथ्यांकले वास्तविक इन्टरनेट प्रयोगकर्ताको संख्याको प्रतिनिधित्व गर्दैन,’ उनी भन्छन्, ‘तर महामारी कालमा इन्टरनेट बजार र सेवा विस्तार ब्यापक रूपमा भएको तथ्यांकले देखाउँछ ।’

२०७७ यतामात्रै इन्टरनेटमा करिब एक करोड ग्राहक थपिएका छन् । २०७७ वैशाखदेखि २०७८ असारसम्म एक वर्षका बीचमा मात्रै ९६ लाख इन्टरनेट ग्राहक थपिएको दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ । २०७७ वैशाखसम्म दुई करोड १५ लाख इन्टरनेट प्रयोगकर्ता रहेकोमा २०७८ वैशाखसम्म सो संख्या तीन करोड करोड १० लाख पुगेको हो ।

फैलिँदै फाइबर नेट

नेपालमा केबल र फाइबर इन्टरनेट सेवा दिने करिब ४४ वटा कम्पनी छन् । महामारीपछि तारसहितका फिक्स्ड लाइन सेवा दिने सबैजसो कम्पनीले ग्राहक संख्या विस्तार गरेका छन् ।

तारसहितको फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्नेको संख्या देशमा करिब ७८ लाख ८७ हजार छ । २०७७ वैशाखसम्म यस्तो प्रयोगकर्ताको संख्या ५१ लाख ८१ हजारमात्रै थियो । दूरसञ्चार प्राधिकरणका अनुसार एउटा इन्टरनेट कनेक्सनमा औसत ५ जना प्रयोगकर्ता हुने अनुमानमा यस्तो तथ्यांक राखिन्छ ।

फिक्स्ड ब्रोडब्यान्ड प्रयोगकर्ताको अनुपात संख्या कुल जनसंख्याको २५ प्रतिशत छ । २०७७ वैशाखससम्म यस्तो अनुपात १७ प्रतिशत मात्रै थियो ।

फिक्स्ड ब्रोडब्यान्डमा हाल इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरू अग्रपंक्तिमा छन् । आईएसपीहरूले ६५ लाख ३१ हजार प्रयोगकर्ता बनाइसकेका छन् । नेपाल टेलिकमको एडीएसएल सेवा प्रयोग गर्नेको संख्या ७ लाख २८ हजार छ । टेलिकमको ‘फाइबर नेट’ प्रयोगकर्ता ५ लाख ९५ हजार छन् ।

यसैगरी २ लाख ११ हजार तहाररहित फिक्स्ड इन्टरनेट प्रयोगकर्ता छन् । त्यसमा पनि वाइफाइ (रेडियो)को प्रयोगकर्ताको संख्या एक लाख २० हजार छ भने ९० हजार ५ सयले वाइम्याक्स प्रयोग गर्छन् ।

महामारीको देन

पछिल्लो समयमा मोबाइलमा इन्टरनेट जोड्नेको संख्या उच्च दरमा बढिरहेको तथ्यांकले देखाउँछ । उच्च गतिको इन्टरनेटको आवश्यकताका कारण ‘थ्रिजी’ इन्टरनेट छाडेर ‘फोरजी’मा जानेहरु धेरै छन् । मोबाइलको बजार बढेसँगै ‘मोबाइल ब्रोडब्यान्ड इन्टरनेट’ जोड्नेको संख्या बढ्दैछ ।

मोबाइल प्रयोगकर्ता बराबरकै वृद्धिदरमा फाइबर इन्टरनेटले ग्राहक पनि बढेका छन् ।  आइस्पानका अध्यक्ष सुधीर पराजुलीका अनुसार महामारीमा अनलाइन कक्षा, भर्चुअल मिटिङ र घरमै गरिने काम लगायतका कारण इन्टरनेटको ग्राहकको संख्याको वृद्धिदर सामान्य समयभन्दा फरक देखिएको हो । मोबाइल डाटा महँगो र कम प्रभावकारी भएकाले पनि पछिल्लो फिक्स्ड लाइन इन्टरनेट जरुरत परेको उनको बुझाइ छ ।

‘इन्टरनेट अत्यावश्यक सेवा भइसक्यो,’ अध्यक्ष पराजुली भन्छन्, ‘सरकारले यसको महत्व बुझेर नीति र योजना बनायो भने अझै दुर्गम ग्रामीण भेगसम्म सेवा पुर्याउन सकिन्छ ।’

पछिल्लो सयममा युट्युब, टिकटक, फेसबुक जस्ता साइटमा भिडियो सामग्री हेर्ने संस्कृति बढेकाले पनि इन्टरनेटको प्रयोगकर्ता थपिएको आइस्पानको निष्कर्ष छ । अरूबाट पासवर्ड लिएर काम चलाएकाहरूले पनि पछिल्लो समयमा आफैँ इन्टरनेट जोडिरहेका छन् ।

पछिल्लो वर्षमा गाउँसम्म पनि इन्टरनेट सेवा पुगिरहेको छ । नेपाल टेलिकम र एनसेलको गाउँसम्म मोबाइल डेटा सेवा प्रभावकारी बनाएकाले पनि इन्टरनेट प्रयोगको क्रम बढाउन मद्धत पुगेको दूरसञ्चार प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

ताजा खबर

पहिलो पटक सिद्धनाथ मन्दिरमा महाआरती हुने

कञ्चनपुरकोे महेन्द्रनगर सिद्धनाथ मन्दिर(सिद्धबाबा)मा पहिलो पटक महाआरती संचालन हुने...

मेयर ओझाद्वारा महेन्द्रनगर नमुना मावि साधारण स्कुलको अनुगमन

कञ्चनपुर, असार २२ कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुख देखिका जनप्रतिनिधीले...

महाकाली गाईडबण्ड सन्तोषजनक ः गृहमन्त्री लेखक

उपेश सिंह धामी कञ्चनपुर २२ असार । कञ्चनपुर स्थित महाकाली गाईडबण्ड,दोधाराचाँदनी...

कञ्चनपुरको होलीफेम्ली स्कुललाई उत्कृष्ट शैक्षिक संस्था सम्मान

शुनिल राना कञ्चनपुर २२ असार । सुदूरपश्चिम प्रदेश कञ्चनपुरकोे एक...

श्रद्धेय दिप दाईको प्रेरणादायी दुई शब्द “भाई अब राजनीतिमा आउनु पर्छ’’

धन सिंह धामी कञ्चनपुर २२ असार । मन्द मुस्कानको साथमा के...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?