भदौ २७ महेन्द्रनगर । नेपाली कांग्रेस भीमदत्त नगरपालिका नगर कार्य समितिको सभापतिमा युवा नेता आशिष खत्रीले उम्मेदवारी घोषणा गरेका छन् ।
आइतवार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै युवा नेता आशिष खत्रीले आफ्नो प्यानल सहित उम्मेदवारी घोषणा गरेका हुन ।
नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत कञ्चनपुरमा वडा अधिवेशन सम्पन्न भइसकेको छ । भदौँ २७ गते निर्धारित नगर–गाउँ कार्य समितिको अधिवेशन सरेको थियो । अहिले असोज ९ गते कांग्रेसले नगर–गाउँ अधिवेशन गर्ने नयाँ मिति तोकेको छ ।
महाधिवेशन नजिकिदै गर्दा केन्द्रदेखि गाउँ–गाउँसम्मको चहलपहल बाक्लिएको छ । कांग्रेस नेताहरुले महाधिवेशनमा नेतृत्वमा आउन तथा पदाधिकारी बन्न आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन् ।
कञ्चनपुरको सबैभन्दा ठूलो नगरपालिका भीमदत्त नगरपालिकाको नगर कार्यसमितिका लागि युवा नेता आशिष खत्रीको नेतृत्वको प्यानल घोषणा गरिएको छ ।
उनको प्यानलबाट उपसभापतिमा राजेन्द्र चन्द र सुशिल साउँदलाई खडा गरिएको छ । यस्तै सचिवमा गगन सिंह धामी र पुष्करनाथ जोशीलाई अगाडि सारिएको छ । खत्रीकै प्यानलबाट सहसचिवमा दीपकराज विष्ट र हिरादेवी दमाईलाई उम्मेदवार बनाइएको छ ।
कांग्रेसलाई गुट, उपगुट रहित बनाएर बलियो र सुदृढ बनाउन नगर सभापतिमा उम्मेदवारी दिएको नेता खत्रीले बताए । ‘गुट, उपगुट रहित कांग्रेस हुनु पर्छ भन्ने हाम्रो मूलमन्त्र हो ।’ उनले भने, ‘हामीले सबै लिङग, जातजाति, भेगभुषाका मानिसलाई समेटेर समावेशी टीम खडा गरेका छौँ ।’
पार्टीमा रहेका अग्रजहरुको साथमा युवापुस्तालाई आफूसँग डो-याएर अनुभवलाई उपयोग गर्दै कांग्रेस पार्टीलाई बलियो बनाउने योजना रहेको उनको भनाई छ ।
सहमतिबाट नेतृत्व छान्न पनि आफूहरु तयार रहेको उनले उद्घोष गरेका थिए ।
जिल्लाकै सबैभन्दा ठूलो नगरपालिका भएकाले भीनपा कांग्रेसको नेतृत्व कस्ले पाउला भनेर निकै चासोका साथ हेरिएको छ ।
भीमदत्त नगरपालिकाको नगर सभापतिको अर्का प्रत्याशी युवा नेता अच्युत कलौनी पनि हुन ।
सभापतिका दाबेदार खत्री र कलौनी दुवै जना विद्यार्थी राजनीतिबाट कांग्रेसको सक्रिय राजनीतिमा होमिएका थिए ।
खत्री वि.सं. २०५१ सालमा सिद्धनाथ विज्ञान क्याम्पसको नेपाल विद्यार्थी संघको ईकाई सभापति पनि बसेका थिए । त्यहीँबाट उनले सक्रिय राजनीति सुरु गरेका हुन ।
वि.सं. २०६२/०६३ को आन्दोलनमा उनी सक्रिय रुपमा लागेका थिए । त्यहीँ क्रममा केही दिन उनी कारगार पनि बसेका थिए । नेविसंघको विद्यार्थी राजनीतिबाट पाइला टेकेका खत्री अहिले पनि कांग्रेसको राजनीतिमा सक्रिय छन् ।
सभापतिका अर्का दाबेदार कलौनीले वि.स. २०५७ सालमा नेविसंघबाट सक्रिय राजनीति थालेका थिए । उनी कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको सह–महामन्त्री जिम्मेवारी समेत सम्हालिसकेका छन् ।