निर्मला हत्या प्रकरणः कारबाहीमा परेका प्रहरी काममा फर्किए, अनुसन्धान अन्यौलमै

काठमाडौं । कञ्चनपुरमा भएको निर्मला पन्त बलात्कार र हत्या अपराधको अनुसन्धानलाई लिएर कारबाहीमा परेका प्रहरीहरु जागिरमा पुनर्बहाली हुन थालेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट अनुसन्धानका लागि अपराधस्थलमा पुगेका प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसी, प्रहरी नायब निरीक्षक (सई) रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद असोज अन्तिम साता नै जागिरमा फर्किइसकेका छन् ।

बर्खास्तीमा परेका अन्य दुई अधिकृतलाई पनि जागिरमा फर्काउने निर्णय सरकारले गरेको छ । तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई पुनर्बहाली गर्ने निर्णय बुधबारको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय गृह मन्त्रालय आएपछि विष्ट र भट्ट सेवामा फर्किने केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवर बताउँछन् ।

प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले ३० असोजमा गरेको कुराकानीमा निर्मला प्रकरण चाँडै निष्कर्षमा पुर्‍याइने बताएका थिए । उनले सीआईबीको एउटा टोलीलाई अझै कञ्चनपुरमा राखेका छन् । यद्यपि, अनुसन्धानले गति लिन भने सकेको छैन ।

दिलिपसिंहविरुद्ध छैन नयाँ प्रमाण

११ साउन २०७५ मा भएको निर्मला पन्तको बलात्कार र हत्याबारे अनुसन्धानका लागि दर्जनभन्दा बढी टोली फेरिइसकेका छन् । सीआईबीले पनि समय समयमा फरक टोली कञ्चनपुर पठाउने गरेको छ । हाल कञ्चनपुरमा डीएसपी पञ्चकुमार बाँखुसहितको टोली त्यहाँ छ ।

तर, अनुसन्धान ज्यूँका त्यूँ छ । सीआईबीका निर्देशक सहकुलबहादुर थापा अनुसन्धान जारी राखेपनि हालसम्म उपलब्धी हासिल नभएको बताउँछन् ।

अनुसन्धानका लागि खटिएर फर्किएका अधिकांश अधिकृतहरुको राय एउटै छ । सबैले प्रकरणका अभियुक्त दिलिपसिंह विष्ट नै भएको निष्कर्ष निकालेका छन् । हरेक अनुसन्धान अधिकृतको छानविनको घेरामा विष्ट नै परेका छन् ।

कञ्चनपुरबाट फर्किएका एक प्रहरी नायब उपरीक्षक (डीएसपी)का अनुसार यो विषयमा आईजीपी क्षेत्री र गृह मन्त्री रामबहादुर थापादेखि प्रधानमन्त्री केपी ओलीसम्म सहमत छन् ।

यसअघि सर्वेन्द्र खनालले महानिरीक्षकबाट अवकाश पाउने बेला विष्टलाई पक्राउ गरेर मुद्दा चलाउने कोसिस गरेका थिए । निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले पनि विष्टविरुद्ध जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा किटानी जाहेरी दिएकी थिइन् । तर, त्यसवेला सरकारी वकिलको कार्यालय, कञ्चनपुरले साथ नदिएको खनाल निकटस्थहरु बताउँछन् ।

जिल्ला अदालत, कञ्चनपुरमा तत्कालीन अनुसन्धान अधिकृतहरुविरुद्ध प्रमाण नष्ट गरेको मुद्दा विचाराधीन अवस्थामा रहेकाले विष्टलाई समात्न प्रहरीलाई अफ्ठ्यारो थियो । अदालतले प्रहरी अधिकृतहरुलाई सफाइ दिएपछि विष्टमाथि पुनः अनुसन्धान सुरु भएको थियो ।

एक अधिकृत थप नयाँ प्रमाण नभेटिँदा अनुसन्धान अड्किएको बताउँछन् । उनका अनुसार विष्टविरुद्ध प्रहरीले भेट्टाएका सबै प्रमाण अदालतमा प्रस्तुत भइसकेको छ । ती प्रमाणको आधारमा अदालतले उनलाई छाड्न आदेश दिएकोले पुनः पक्राउ गर्दा नयाँ प्रमाण लिएर जानुपर्ने बाध्यता रहेको प्रहरी अधिकृतहरु बताउँछन् ।

‘नयाँ प्रमाण भनेको कपडाको टुक्रा हुनसक्छ कि भन्ने थियो तर, त्यो बाटो पनि बन्द भइसकेको छ’, उनी भन्छन् । यसअघि निर्मला पन्तको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग विष्टको डीएनए मेल खाएको थिएन ।

तर, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वप्रमुख एवं फरेन्सिक विज्ञ डा। जीवन रिजालको नेतृत्वमा डीएनए पुनरावलोकनका लागि गठित समितिले डीएनए परीक्षण विधिमाथि नै प्रश्न उठाउँदै त्यसमा मात्र भर नपर्न भनिसकेको छ ।

तत्कालीन समयमा महिला प्रहरीले निर्मलाको शवमा रहेको कपडा पखाले प्रमाण नष्ट गरेको आरोप लागेको थियो । यो विषय प्रहरीका तत्कालीन एआईजी धिरु बस्न्यात नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा पनि उल्लेख गरिएको थियो ।

तर, सर्वेन्द्र खनालले अवकाशमा जाने वेला बस्न्यात नेतृत्वको समितिको प्रतिवेदन पनि खारेज गरिदिएका छन् । त्यसपछि अनुसन्धान नयाँ शिराबाट थाल्न बाटो खुलेको थियो ।

डीएनएलाई दोष !

अहिले अनुसन्धान अधिकृतहरु निर्मला हत्या प्रकरण नसुल्झनुमा डीएनए परिक्षण कारण रहेको बताउन थालेका छन् । डीएनए संकलन र परीक्षण प्रक्रिया त्रुटिपूर्ण हुँदा अनुसन्धानले बाटो विराएको उनीहरुको भनाइ छ ।

प्रहरी महानिरीक्षकको सचिवालयका एक अधिकृत डीएनएको पाटोलाई विज्ञ समितिले पन्छाइदिएपछि अनुसन्धान विष्टमै केन्द्रित बनेको उनको बताउँछन् । –अनलाइनखबर

ताजा खबर

जैविक मल उत्पादन गर्न गोशाला निर्माण तथा गड्यौला पालनको तयारी

कञ्चनपुर-भीमदत्त नगरपालिका वडा नम्वर १९ मा रहेको त्रिवेणि टोल...

लागु औषध सहित दुई जना पक्राउ

नेपालगञ्ज - लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरले...

मुलुकको आवश्यकता र चाहनाले नयाँ राजनीतिक समीकरण : उपमहासचिव ज्ञवाली

बाजुरा -नेकपा (एमाले) का उपमहासचिव तथा केन्द्रीय स्कुल विभाग...

जापान कराते डो कोशीकाई सितोरियो संघ नेपाल द्धारा खेलाडिहरुलाई सम्मान

जापान कराते डो कोशीकाई सितोरियो संघ नेपालले विभिन्न स्थानमा...

सुदूरपश्चिम विश्वविद्यालयको मुख्य सन्दर्भ सामाग्री बन्यो पूर्व मुख्यमन्त्री रावलको पुस्तक

कञ्चनपुर- सुदुरपशि्चम विश्वविद्यालयको मानविकी तथा सामाजिकशास्त्र संकायले पूर्व मुख्यमन्त्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?