महेन्द्रनगर । बिहीवार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी(सीडीओ) नुरहरी खतिवडा गृह मन्त्रालय तानिएका छन् । सिडीओ खतिवडा कञ्चनपुर आएको ७ महिनामै सरुवा भएको हो ।
‘आकस्मिक’ रुपले सीडीओ खतिवडा कञ्चनपुरबाट सरुवा भएपछि यहाँका स्थानीयहरुले प्रश्न उठाएका छन् । एक प्रशासनिक प्रमुख सरुवा हुँदा कञ्चनपुरको इतिहासमा पहिलो पटक प्रश्न उठेको हो ।
स्थानीयहरु खतिवडाको सरुवाको स्पष्ट कारण माग गरिरहेका छन् । सात महिनाको बसाईंमा सीडीओ खतिवडाले कहिल्यै नबिर्सिने छाप कञ्चनपुरबासीमाझ छोडे । उनले आफ्नो सात महिने कार्यकालमा एक निडर राष्ट्रसेवकको रुपमा आफूलाई प्राप्त अधिकारलाई प्रयोग गर्दै उल्लेख्य कार्य गरेको नागरिक समाजका अगुवा प्रभुनिधि पन्त बताउँछन् ।
‘उहाँले कोरोना नियन्त्रण, सीमा तथा तस्करी नियन्त्रणमा उल्लेख्य काम गर्नुभयो । कानूनमा टेकेर खरो रुपमा यहाँका जनताको सेवामा लाग्नु भएको थियो ।’ उनले भने, ‘हामीलाई एउटा कुशल प्रशासकको अभाव खड्किरहने छ ।’ सीडीओ खतिवडाको सरुवाको प्रमुख कारण ‘गौरीफन्टा नाका’बाट हुने अवैद्य कारोबार रोक्न उनले चालेको कदमलाई मानिएको छ ।
कञ्चनपुरको पूनर्वास नगरपालिकामा पर्ने गौरीफन्टा नाका सदरमुकामदेखि टाढा भएका कारण प्रशासनले व्यवस्थापन गर्न र सुरक्षा दिन सकेको थिएन । नाका खुलेदेखि नै यसको व्यवस्थापन तथा सुरक्षा जिल्ला प्रशासन कार्यालय कैलालीले गर्दै आएको थियो ।
खतिवडा प्रजिअका रुपमा कञ्चनपुर आएपछि कैलालीले नाकाको व्यवस्थापन गर्न नसक्ने भन्दै त्यहाँ कार्यरत सुरक्षाकर्मी फिर्ता बोलायो । त्यसपछि गत सातादेखि कञ्चनपुर प्रशासनले नै गौरीफन्टा नाकाको व्यवस्थापन गर्दै आएको थियो । कैलालीको क्षेत्राधिकारभित्र नपर्ने र कञ्चनपुरबाट टाढा रहेकाले सो क्षेत्रमा विकृति, विसंगति साथै तस्करी मौलायो ।
भारतबाट अवैध नाका भएर भित्रिने सामग्री गौरीफन्टा नाकाबाट सहजै बजारमा पुग्न थाल्यो । भारतबाट सामान तस्करी गर्ने केन्द्र बनिरहेको गौरीफन्टा नाकाको कञ्चनपुर प्रशासनले व्यवस्थापन सम्हालेपछि सुरक्षा व्यवस्था कडा पारियो । सीडीओ खतिवडाले नाकालाई व्यवस्थित बनाउँदै अवैध क्रियाकलाप र तस्करी रोक्न योजना बुनिरहेका थिए ।
तस्करलाई यो सह्य हुने कुरा भएन । नाकाको व्यवस्थापनमा कञ्चनपुर प्रशासन जुटेदेखि नै उनको सरुवाका लागि तस्करहरु शक्ति केन्द्र धाइरहेका थिए ।
तस्करले नेताहरुलाई गुहारेर उनीहरुकै दबावमा सीडीओको सरुवा भएको स्रोत बताउँछन् । कञ्चनपुरको बेलौरीसम्म कैलाली भन्सारको क्षेत्र हो । कैलाली भन्सारको सानो शाखा गौरीफन्टामा राख्ने विषयमा उनले छलफल गरेका थिए ।
नाकामा एक्सरे मसिन पनि राखिने र सो नाकाबाट आउने मानिस र ठूला साना, गाडीहरु चेकजाँच गर्ने व्यवस्था मिलाउनेतर्फ पनि प्रशासनले ध्यान दिएको थियो ।
यद्यपी राजनितिक चलखेलका कारण उनलाई गृहमन्त्रालय तानिएको गृहमन्त्रालयका एक अधिकारीले बताए ।
५५ वर्षदेखी नागरिकता विहिनलाई नागरिकता वितरण
सिडिओ खतिवडाले कञ्चनपुर छाडेर जादाँ जादै झन्डै ५५ वर्ष देखी नागरिकता विहिन ५ जना वृद्धवृद्धालाई नागरिकता वितरण गरेका छन् ।
शुक्रबार कञ्चनपुरको वेदकोट नगरपालिका–८ स्थित श्री बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रका ५ वृद्धवृद्धालाई सिडिओ खतिवडाले नागरिकता वितरण गरेका हुन् ।
७३ वर्षिया कलावती भण्डारी,७२ वर्षिय धन बहादुर खड्का, ७५ वर्षिय गोरख बहादुर खड्का,७२ वर्षिया पाल्मा धामी र ७४ वर्षिया लक्ष्मी धामीलाई कञ्चनपुर छाडेर जादाँ जादै सिडीओ खतिवडाले नागरिकता वितरण गरेका जिल्ला प्रशासन कार्यालय कञ्चनपुरकी प्रशासकिय अधिकृत कल्पना भट्टले बताइन् ।
उनले भनिन् ‘उहाँहरुको अगाडी पछाडीको सन्तान कोही हुनु हुन्न त्यसैले सिडीओ सरले उहाँहरुलाई नागरिकता वितरण गर्नु भएको हो ।’ नागरिकता विहिन ती वृद्धवृद्धाले नागरिकता पाएपछि उनिहरुको अनुहारमा खुशी छाएको छ । ७५ वर्षको उमेर नागरिकता पाएका गोरख बहादुर खड्काले खुशी हुदै भने ‘मर्ने बेला नेपाली नागरिक भएर मर्न पाइने भयो,खुशी लागेको छ ।’
‘इजा बुवाले गरिदिनु पर्ने काम सिडीओ सरले गरिदिनु भयो ।’ ७३ वर्षमा नागरिकता पाएकी कलावती भण्डारीले भनिन् ‘हाम्रा इजा वुवा भनेका सिडिओ सर नै हुन् ।’