ज्यूँदै कुखुरा खाल्डोमा गाड्दै किसान

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटेनाका बिक्रम नाथका तीन वटा कुखुरा फर्म छन् । ती तीन वटै फर्म कुखुराले भरिभराउ छन् ।

कुखुरा तथा अण्डा उत्पादक संघ कञ्चनपुरका अध्यक्षसमेत रहेका नाथको कुखुरा फर्ममा रहेका कुखुरा बेच्नका लागि तयार अवस्थामा छन् । अथवा चल्लाहरु ४५ दिन पार गर्दै मासुका लागि बिक्री गर्न लायक भएका छन् । तर उनले कुखुरा बिक्री गर्न पाएका छैनन् । कारण हो, लकडाउन ।

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि देश लकडाउन हुँदा नाथले मात्रै होइन, यहाँका कुनै पनि कुखुरा व्यवसायीले आफ्नो फर्ममा तयार भएका कुखुरा बिक्री गर्न पाएका छैनन् ।

लकडाउनका कारण उद्योग, कलकारखाना, यातायात, बजार लगायत क्षेत्र ठप्प छ । लकडाउनका कारण सुदूरपश्चिम प्रदेशका कुखुरा पालक किसानले दैनिक करोडको घाटा व्यहोर्नु परेको गुनासो गरेका छन् । सुदूरपश्चिमको कञ्चनपुर र कैलालीमा व्यवसायिक कुखुरा पालन गर्ने गरिएको छ ।

बजार नखुल्दा तथा कुखुराका लागि आवश्यक दाना तथा औषधी अभाव हुँदा कुखुरा पालक किसानहरुले ज्युँदै कुखुरा खाल्डोमा गाड्नु परेको छ । कुखुराका लागि दाना ढुवानी तथा बजार बन्द हुँदा किसान मारमा परेको कुखुरा तथा अण्डा उत्पादन संघ कञ्चनपुरका अध्यक्ष नाथले बताए ।

‘लकडाउनले गर्दा कुखुरा पालक किसान धेरै मारमा परेका छौँ, सामाजिक दूरी कायम गरेर मासु बिक्रीका लागि स्थानीय प्रशासनसित समन्वय गरेपनि सुनुवाई भएन’ अध्यक्ष नाथले भने, ‘दाना नपाउँदा नै कुखुरालाई नष्ट गर्नुपर्ने अवस्था आयो ।’ अन्य जिल्लाहरुबाट कुखुराको माग भए पनि त्यहाँसम्म ढुवानीका लागि प्रशासनले सहजिकरण नगर्दा किसान झनै मारमा परेको उनको गुनासो छ ।

कञ्चनपुर र कैलालीमा उत्पादन हुने कुखुरा सुदूरपश्चिमको पहाडी जिल्लाका साथै सुर्खेत, नेपालगञ्जसम्म जाने गरेको थियो । तर अहिले भने लकडाउनले गर्दा दानाको अभाव तथा बजार नखुल्दा कुखुरा खाल्डोमा गाड्नु पर्ने अवस्था सृजना भएको छ । ‘विभिन्न ठाउँबाट कुखुराको माग भएको छ, तर ढुवानीका लागि सहज छैन ।

प्रशासनले सहजिकरण गरिदिए हामी राति पनि पठाउने थियौँ’ अध्यक्ष नाथले भने, ‘खाल्डोमा गाँड्नु पर्ने अवस्था आएको छ, केही त विकल्प निकाल्नु पर्छ ।’

७ लाख कुखुरा फर्ममा थन्किए
कञ्चनपुर र कैलालीमा हाल सात लाख भन्दा बढी ब्रोइलर कुखुरा मासुका लागि तयार भएका छन् । कञ्चनपुरमा चार लाख र कैलालीमा तीन लाख ब्रोइलर कुखुरा मासुका लागि तयार भएको जनाइएको छ ।

तर बजार नखुल्दा ती कुखुरा फर्ममै थन्किएका छन् । कञ्चनपुरमा चार सय २८ फर्म छन् भने कैलालीमा दुई हजार एक सय कुखुरा फर्म रहेका छन् । कञ्चनपुरमा सबैभन्दा बढी भीमदत्त नगरपालिका–९ मा छन् । जहाँ एउटै वडामा ७८ कुखुरा फर्म छन् ।

कतै सस्तोमा बेचिँदै, कतै खाल्डोमा गाडिँदै
लकडाउनका कारण मासुका लागि तयार कुखुरा बिक्री नहुँदा किसानहरुले आफ्नो उत्पादन खाल्डोमा गाड्नु पर्ने बाध्यता सृजना भएको छ ।

केही ग्रामीण क्षेत्रमा भने एउटा सिंगो कुखुरा एक सय रुपैयाँमै किसानले बेच्दै आएका छन् । ‘केही ले त एक सय रुपियाँका दरले बेचे, अझै फर्ममा धेरै कुखुरा तयार छन् ।’ महाकाली नगरपालिकाका कुखुरा पालक किसान हरी सुनारले भने, ‘अब तिनीहरुलाई दाना खुवाएर के गर्नु, खाल्डोमा गाड्ने स्थिती आएको छ ।’ लकडाउनको अवधिमा कञ्चनपुर र कैलालीमा हजारौँ कुखुरा खाल्डोमा गाडिएका छन् ।

कैलालीमा मात्रै करिब दश हजार ज्युँदो कुखुरा खाल्डोमा गाडिएको कुखुरा तथा अण्डा उत्पादन संघ कैलालीका अध्यक्ष भुवन पाण्डेले बताए । यस्तै कञ्चनपुरमा पनि २० हजार बढी संख्यामा कुखुरा खाल्डोमा गाडिएका छन् । मासुका लागि तयार कुखुरा बिक्री गर्न नपाएपछि कुखुरा बचाउनकै लागि मात्र दाना किन दिनु भनेर किसानहरु खाल्डोमा गाड्न थालेका हुन् ।

दैनिक करोडौँ घाटा
यहाँ कुखुरा पालक किसान, अण्डा उत्पादन तथा ह्याचरी सञ्चालकले दैनिक करोडौँको नोक्सानी व्यहोर्नु पर्नेको जनाएका छन् ।

कुखुरा पालक किसान, अण्डा उत्पादन तथा ह्याचरी सञ्चालकले दैनिक ६०÷७० लाखको नोक्सानी व्यहोर्नु परेको कुखुरा तथा अण्डा उत्पादन संघ कैलालीका अध्यक्ष पाण्डेले बताए ।

चल्लादेखि सो चल्ला मासुका लागि तयार हुँदासम्म एउटा कुखुरामा चार सय देखि पाँच सय रुपैयाँसम्म लागत लाग्ने गरेको छ । कैलालीमा हाल दुई लाख भन्दा बढी कुखुरा मासुका लागि तयार छन् ।

लकडाउन बढे संगै कुखुरा बिक्री नहुँदा किसानको लागत डुब्ने खतरा बढेको छ । यता कञ्चनपुरमा पनि मासुका लागि तयार चार लाख कुखुरा बिक्री हुन नपाउँदा कुखुरा पालक किसानले करिब २२ लाख नोक्सानी व्यहोर्नु परेको कुखुरा तथा अण्डा उत्पादक संघ कञ्चनपुरका अध्यक्ष नाथले बताए ।

‘मुचुल्का राखेर गाड्नुहोस्’
कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै अहिले नै मासु पसल खोल्न सकिने अवस्था नरहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए ।

कुखुरा खाल्डोमा गाडिरहेकोका किसानहरुलाई स्थानीय तहको समन्वयमा मुचुल्का राखेर सो कार्य गर्न प्रमुख जिल्ला अधिकारी खतिवडाले आग्रह गरेका छन् । ‘कोरोनाको उच्च जोखिममा छौँ, घुम्ती पसल त बन्द गरिएको छ, अहिले मासु पसल खोल्ने तथा अन्यत्र ढुवानीका लागि केही गर्न सकिँदैन’ प्रमुख जिल्ला अधिकारी खतिवडाले भने ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?