कञ्चनपुर, ३१ असोज
लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कञ्चनपुरको भीमदत्त नगरपालिका–७ मा एकदिने जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ।
विशेषगरी महिला तथा बालबालिकालाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा लागूऔषध दुरुपयोगले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभाव, यसको रोकथामका उपाय तथा नियन्त्रणका लागि सरोकारवालाले निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी गराइएको थियो।
कार्यक्रममा बोल्दै भीमदत्त नगरपालिका–७ का वडाध्यक्ष गणेशबहादुर चन्दले आफू निर्वाचित भएदेखि नै विभिन्न कार्यक्रममार्फत समाजमा जनचेतना अभिवृद्धि गर्ने प्रयास गर्दै आएको बताउनुभयो। सोही अभियानलाई निरन्तरता दिँदै लागूऔषध दुरुपयोग रोकथामसम्बन्धी कार्यक्रम आयोजना गरिएको उहाँले जानकारी दिनुभयो।
लागूऔषधको बढ्दो जोखिम न्यूनीकरण कुनै एक व्यक्ति वा निकायको प्रयासबाट मात्रै सम्भव नहुने उल्लेख गर्दै वडाध्यक्ष चन्दले यसको नियन्त्रणका लागि नागरिक, समाज र सम्बन्धित सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।
लागूऔषध दुरुपयोगले विशेषगरी युवा पुस्ताको भविष्यमा नकारात्मक असर पार्न सक्ने भएकाले यसको रोकथामका लागि परिवार, समुदाय र स्थानीय तहबाटै सचेतनामूलक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रममा भीमदत्त नगरपालिका–७ का महिला तथा बालबालिका, जनप्रतिनिधि, भीमदत्त नगरपालिकाको विपद् व्यवस्थापन शाखाका प्रमुख मनोज भट्ट, सुरक्षा निकायका प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।
लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि समुदायस्तरमै सचेतना अभिवृद्धि गर्दै यसको जोखिम न्यूनीकरणमा सामूहिक प्रयासलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।


