सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सर्वप्रथम त यही २०८३ साल भाद्र – १९ गते सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा हुनगइरहेको गाैरापर्वकाे उपलक्ष्यमा सम्पूर्ण महानुभावहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।  सुदूरपश्चिमको मौलिक धार्मिक, सांस्कृतिक तथा सामाजिक जीवनसँग अभिन्न रूपमा गाँसिएको गाैरापर्व सुदूरपश्चिमकाे एक विशेष महान चाड हो । विशेषतः सुदूरपश्चिमका पहाडी जिल्लाहरू दार्चुला, बैतडी, डडेल्धुरालगायत कुमाऊँ क्षेत्रमा परापूर्वकालदेखि श्रद्धा, आस्था, विश्वास र उल्लासका साथ मनाउँदै आएको यो पर्व यहाँको समृद्ध लोकसंस्कृतिको जीवन्त पहिचानसमेत हो । गौरापर्वले धार्मिक आस्था मात्र बोकेको छैन, यसले पारिवारिक सुख-शान्ति, दाम्पत्य जीवनको मङ्गलकामना, आपसी सद्भाव, सामाजिक एकता र सांस्कृतिक निरन्तरताको सन्देशसमेत प्रवाहित गर्दै आएको छ ।

गौरा पर्वको धार्मिक तथा पौराणिक आधार

गौरापर्वकी अधिष्ठात्री पूजित देवी गौरी अर्थात् पार्वती र उनका आराध्यदेव महादेव शिव हुन् । गौरीले महादेव शिवलाई पति प्राप्त गर्ने अभिलाषासहित कठोर तपस्या र पूजा-आराधना गरेको पौराणिक प्रसङ्गसँग गौरा पर्वको धार्मिक परम्परा जोडिएको पाइन्छ । स्कन्द पुराणको मानसखण्डमा वर्णित कथानुसार हिमालयकी पुत्री गौरीले महादेव शिवलाई पतिका रूपमा प्राप्त गर्ने सङ्कल्पसहित निर्जन हिमालयको कन्दरामा बालुवाको शिवलिङ्ग निर्माण गरी दीर्घकालसम्म कठोर तपस्या तथा पूजा-आराधना गरेकी थिइन् । उनको त्याग, तपस्या र अटल श्रद्धाबाट प्रसन्न भई महादेवले उनलाई पतिका रूपमा स्वीकार गरेको धार्मिक तथा पौराणिक विश्वास रहेकाेछ । यसै धार्मिक तथा पौराणिक आख्यानलाई आधार मानी हिमालयकी पुत्री गौरीको स्मरण र सम्मानस्वरूप सुदूरपश्चिमका महिलाहरूले गौरीलाई गोःरा, गौरा वा गमराको प्रतीकस्वरूप स्थापना गरी शिव-पार्वतीको पूजा-आराधना, व्रत तथा उपवास गर्ने परम्परा पुस्तौँदेखि निरन्तरता दिदै आएका छन् ।

बिरुडाबाट प्रारम्भ हुने गौरा पर्वका विभिन्न क्षेत्रीय परम्परा र विधि भए पनि बिरुडा यस पर्वको प्रमुख सांस्कृतिक प्रतीकका रूपमा रहेको छ । गहुँ, केराउ, गहत, मास र गुराँस मिसाएर तामा वा पित्तलका भाँडामा भिजाइने पाँच प्रकारका अन्न तथा गेडागुडीको मिश्रणलाई बिरुडा भनिन्छ ।

गौरा पर्वको प्रारम्भसँगै व्रतालु महिलाहरूले श्रद्धापूर्वक बिरुडा भिजाउने गर्दछन् । त्यसपछि शुभ मुहूर्तमा सामूहिक रूपमा पानीका मुहान, धारा तथा पँधेरामा गई बिरुडा धोइपखाली गर्ने परम्परा छ । यस अवसरमा महिलाहरू सामूहिक रूपमा सहभागी हुने भएकाले धार्मिक अनुष्ठानसँगै सामाजिक एकता र आत्मीयताको भावना पनि अभिव्यक्त हुन्छ ।

गौराघर वा भणारी घरमा हुने शिव-गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता तथा प्रसादका रूपमा प्रयोग गरिन्छ । यसरी सामान्य अन्न-गेडागुडीसमेत धार्मिक आस्था, संस्कार र सांस्कृतिक प्रतीकमा रूपान्तरण हुनु गौरा पर्वको विशिष्ट विशेषता हो ।

गौराको प्रतिमा र पूजा-आराधना :

बिरुडा भिजाएको केही दिनपछि धान, साउँ, तिल, अपामार्गलगायतका पवित्र वनस्पतिका बोट तथा पातहरू प्रयोग गरी गौराको प्रतीकात्मक प्रतिमा तयार पार्ने परम्परा रहेकाे भएपनि अहिले तामा, पित्तलकाे मुर्ति बनाउने प्रचलन बढेकाे छ । महिलाहरूले सामूहिक रूपमा तयार पारेको गौराको प्रतिमालाई श्रद्धापूर्वक गौराघरमा भित्र्याई विधिपूर्वक पूजा-आराधना गरिन्छ । समयसँगै यस परम्परामा केही परिवर्तन पनि आएको देखिन्छ । कतिपय स्थानमा आजभोलि तामा, पित्तल वा चाँदीबाट निर्मित गौराको प्रतिमा प्रयोग गर्ने चलन बढेको छ । विभिन्न प्रकारका फलफूलले सजाइएको डालोमा गौराको प्रतिमा राखी रातो–पहेंलो घुम्टो ओढाएर शिरमा धारण गर्ने, खेलाउने तथा सामूहिक रूपमा नाचगान गर्ने परम्पराले गौरा पर्वलाई अझ उल्लासमय बनाएको छ । विशेषगरी गाैरापर्वमा दुबधागाेकाे विशेष महत्त्व रहेकाे पाइन्छ ।

दुबधागोको विशेष महत्त्व :

गौरापर्वमा दुबधागोको विशेष धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको छ । सप्तमीका दिन गौरादेवीलाई नजिकको मठ-मन्दिरमा भित्र्याई विधिपूर्वक पूजा-अर्चना गरिन्छ र श्रद्धालु महिलाहरूले दुबधागो चढाउने गर्दछन् । अष्टमीका दिन विधिपूर्वक अभिषेक गरिएको दुबधागो महिलाहरूले घाँटीमा धारण गर्ने परम्परा छ । सुदूरपश्चिमेली समाजमा महिलाहरूले धारण गर्ने दुबधागोलाई विशेष पवित्रता र मंगलको प्रतीकका रूपमा लिइन्छ। जसरी पुरुषका लागि जनैको धार्मिक महत्त्व छ, त्यसरी नै महिलाका लागि दुबधागोको विशिष्ट धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको मानिन्छ । गौरा र सुदूरपश्चिमको लोकसंस्कृति गौरा पर्व पूजा, व्रत र धार्मिक अनुष्ठानमा मात्र सीमित छैन । यो सुदूरपश्चिमको लोकभाषा, लोकसाहित्य, लोकसङ्गीत र सामूहिक जीवनशैलीको उत्सव पनि हो । गौरालाई गौराघरमा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई देउडा, ठाडो खेल, डुस्को, दोहोरी, धमारी लगायतका मौलिक लोकनृत्य तथा सांस्कृतिक खेलमा सहभागी हुन्छन् । यस्ता कार्यक्रमले मनोरञ्जन प्रदान गर्नुका साथै पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको लोकज्ञान, लोकभाषा, संस्कार र सांस्कृतिक परम्परालाई जीवन्त राख्न महत्त्वपूर्ण पुर्‍याएका छन् । दिनभरि नाचगान तथा देउडा खेल खेलेर सन्ध्याकालीन समयमा गाैराकाे डालाेमा राखिएका फलफूलहरूलाई राेचक तरिकाले फड्काउने प्रचलन रहेकाे छ ।

देउडाका घुम्तीमा केवल गीत र नृत्य मात्र हुँदैनन्; त्यहाँ समाजका सुख–दुःख, प्रेम-सम्बन्ध, व्यङ्ग्य-विनोद, सामाजिक यथार्थ, इतिहास र जीवनदर्शनसमेत अभिव्यक्त हुने गर्दछ । त्यसैले गौरा पर्व सुदूरपश्चिमको जीवित लोकसाहित्यको एउटा महत्त्वपूर्ण मञ्च पनि हो । सामाजिक सद्भाव र सांस्कृतिक एकताको गाैरापर्व धार्मिक आस्थाको पर्व मात्र नभई सामाजिक एकता र सद्भावको अनुपम अवसर पनि हो । टाढाटाढाबाट आफन्तजन तथा इष्टमित्रहरू घर फर्कने, भेटघाट गर्ने, सुख-दुःख साटासाट गर्ने र आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने भएकाले यस पर्वले पारिवारिक तथा सामाजिक सम्बन्धमा नयाँ आत्मीयता थप्ने गर्दछ । व्रत, पूजा, प्रसाद, देउडा र सामूहिक उत्सवका माध्यमबाट गौरा पर्वले “हामी एउटै समाजका सदस्य हौँ” भन्ने सामूहिक भावनालाई बलियो बनाउँछ । धार्मिक विश्वासअनुसार गौरा पर्वमा श्रद्धापूर्वक व्रत बसी शिव-गौरीको पूजा-आराधना गर्नाले सुख, शान्ति र समृद्धि प्राप्त हुने तथा इष्टदेव र कुलदेवता प्रसन्न हुने जनविश्वास रहिआएको छ ।

गौराको मौलिकता संरक्षण गरौँ

समय परिवर्तनशील छ । आधुनिकता र प्रविधिको तीव्र विकाससँगै हाम्रा कतिपय मौलिक संस्कार र परम्पराहरू पनि क्रमशः परिवर्तन भइरहेका छन् । परिवर्तन स्वाभाविक भए पनि गौरा पर्वको मूल धार्मिक भावना, मौलिक विधि, लोकभाषा, देउडा, परम्परागत पहिरन, बिरुडा, दुबधागो तथा सामूहिक संस्कृतिको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो ।

गौरा हाम्रो धार्मिक आस्था मात्र होइन, यो सुदूरपश्चिमको इतिहास, पहिचान, लोकस्मृति र सांस्कृतिक आत्माको प्रतीक हो । त्यसैले नयाँ पुस्तालाई गौराको धार्मिक तथा सांस्कृतिक महत्त्व बुझाउँदै यसको मौलिकता पुस्तान्तरण गर्नु आजको आवश्यकता हो । अन्ततः, गौरा पर्व सुदूरपश्चिमेली महिलाहरूको आस्था, तपस्या, शक्ति र सांस्कृतिक चेतनाको उज्यालो प्रतीक हो । शिव-गौरीको पवित्र सम्बन्ध, महिलाको श्रद्धा र सामूहिक सहभागिताबाट जीवन्त बनेको यो पर्वले सुदूरपश्चिमको समाजलाई सदैव प्रेम, सद्भाव, एकता र सांस्कृतिक गौरवको सूत्रमा बाँधिरहोस् । जय गौरा ! जय शिव-गौरी !

मान सिंह धामी (औल्लेकी)

उपप्राध्यापक

सुुदूरपश्चिम विश्वविद्यालय 

कैलाली बहुमुखी क्याम्पस, धनगढी

स्थायी ठेगाना :-

माालिकार्जुन गाउँपालिका हुनैनाथ – ४ गाेठ्युडी (काेटबुङ्गा)

दार्चुला

ताजा खबर

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?