सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :
सर्वप्रथम त यही २०८३ साल भाद्र – १९ गते सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा हुनगइरहेको गाैरापर्वकाे उपलक्ष्यमा सम्पूर्ण महानुभावहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । सुदूरपश्चिमको मौलिक धार्मिक, सांस्कृतिक तथा सामाजिक जीवनसँग अभिन्न रूपमा गाँसिएको गाैरापर्व सुदूरपश्चिमकाे एक विशेष महान चाड हो । विशेषतः सुदूरपश्चिमका पहाडी जिल्लाहरू दार्चुला, बैतडी, डडेल्धुरालगायत कुमाऊँ क्षेत्रमा परापूर्वकालदेखि श्रद्धा, आस्था, विश्वास र उल्लासका साथ मनाउँदै आएको यो पर्व यहाँको समृद्ध लोकसंस्कृतिको जीवन्त पहिचानसमेत हो । गौरापर्वले धार्मिक आस्था मात्र बोकेको छैन, यसले पारिवारिक सुख-शान्ति, दाम्पत्य जीवनको मङ्गलकामना, आपसी सद्भाव, सामाजिक एकता र सांस्कृतिक निरन्तरताको सन्देशसमेत प्रवाहित गर्दै आएको छ ।
गौरा पर्वको धार्मिक तथा पौराणिक आधार
गौरापर्वकी अधिष्ठात्री पूजित देवी गौरी अर्थात् पार्वती र उनका आराध्यदेव महादेव शिव हुन् । गौरीले महादेव शिवलाई पति प्राप्त गर्ने अभिलाषासहित कठोर तपस्या र पूजा-आराधना गरेको पौराणिक प्रसङ्गसँग गौरा पर्वको धार्मिक परम्परा जोडिएको पाइन्छ । स्कन्द पुराणको मानसखण्डमा वर्णित कथानुसार हिमालयकी पुत्री गौरीले महादेव शिवलाई पतिका रूपमा प्राप्त गर्ने सङ्कल्पसहित निर्जन हिमालयको कन्दरामा बालुवाको शिवलिङ्ग निर्माण गरी दीर्घकालसम्म कठोर तपस्या तथा पूजा-आराधना गरेकी थिइन् । उनको त्याग, तपस्या र अटल श्रद्धाबाट प्रसन्न भई महादेवले उनलाई पतिका रूपमा स्वीकार गरेको धार्मिक तथा पौराणिक विश्वास रहेकाेछ । यसै धार्मिक तथा पौराणिक आख्यानलाई आधार मानी हिमालयकी पुत्री गौरीको स्मरण र सम्मानस्वरूप सुदूरपश्चिमका महिलाहरूले गौरीलाई गोःरा, गौरा वा गमराको प्रतीकस्वरूप स्थापना गरी शिव-पार्वतीको पूजा-आराधना, व्रत तथा उपवास गर्ने परम्परा पुस्तौँदेखि निरन्तरता दिदै आएका छन् ।
बिरुडाबाट प्रारम्भ हुने गौरा पर्वका विभिन्न क्षेत्रीय परम्परा र विधि भए पनि बिरुडा यस पर्वको प्रमुख सांस्कृतिक प्रतीकका रूपमा रहेको छ । गहुँ, केराउ, गहत, मास र गुराँस मिसाएर तामा वा पित्तलका भाँडामा भिजाइने पाँच प्रकारका अन्न तथा गेडागुडीको मिश्रणलाई बिरुडा भनिन्छ ।
गौरा पर्वको प्रारम्भसँगै व्रतालु महिलाहरूले श्रद्धापूर्वक बिरुडा भिजाउने गर्दछन् । त्यसपछि शुभ मुहूर्तमा सामूहिक रूपमा पानीका मुहान, धारा तथा पँधेरामा गई बिरुडा धोइपखाली गर्ने परम्परा छ । यस अवसरमा महिलाहरू सामूहिक रूपमा सहभागी हुने भएकाले धार्मिक अनुष्ठानसँगै सामाजिक एकता र आत्मीयताको भावना पनि अभिव्यक्त हुन्छ ।
गौराघर वा भणारी घरमा हुने शिव-गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता तथा प्रसादका रूपमा प्रयोग गरिन्छ । यसरी सामान्य अन्न-गेडागुडीसमेत धार्मिक आस्था, संस्कार र सांस्कृतिक प्रतीकमा रूपान्तरण हुनु गौरा पर्वको विशिष्ट विशेषता हो ।
गौराको प्रतिमा र पूजा-आराधना :
बिरुडा भिजाएको केही दिनपछि धान, साउँ, तिल, अपामार्गलगायतका पवित्र वनस्पतिका बोट तथा पातहरू प्रयोग गरी गौराको प्रतीकात्मक प्रतिमा तयार पार्ने परम्परा रहेकाे भएपनि अहिले तामा, पित्तलकाे मुर्ति बनाउने प्रचलन बढेकाे छ । महिलाहरूले सामूहिक रूपमा तयार पारेको गौराको प्रतिमालाई श्रद्धापूर्वक गौराघरमा भित्र्याई विधिपूर्वक पूजा-आराधना गरिन्छ । समयसँगै यस परम्परामा केही परिवर्तन पनि आएको देखिन्छ । कतिपय स्थानमा आजभोलि तामा, पित्तल वा चाँदीबाट निर्मित गौराको प्रतिमा प्रयोग गर्ने चलन बढेको छ । विभिन्न प्रकारका फलफूलले सजाइएको डालोमा गौराको प्रतिमा राखी रातो–पहेंलो घुम्टो ओढाएर शिरमा धारण गर्ने, खेलाउने तथा सामूहिक रूपमा नाचगान गर्ने परम्पराले गौरा पर्वलाई अझ उल्लासमय बनाएको छ । विशेषगरी गाैरापर्वमा दुबधागाेकाे विशेष महत्त्व रहेकाे पाइन्छ ।
दुबधागोको विशेष महत्त्व :
गौरापर्वमा दुबधागोको विशेष धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको छ । सप्तमीका दिन गौरादेवीलाई नजिकको मठ-मन्दिरमा भित्र्याई विधिपूर्वक पूजा-अर्चना गरिन्छ र श्रद्धालु महिलाहरूले दुबधागो चढाउने गर्दछन् । अष्टमीका दिन विधिपूर्वक अभिषेक गरिएको दुबधागो महिलाहरूले घाँटीमा धारण गर्ने परम्परा छ । सुदूरपश्चिमेली समाजमा महिलाहरूले धारण गर्ने दुबधागोलाई विशेष पवित्रता र मंगलको प्रतीकका रूपमा लिइन्छ। जसरी पुरुषका लागि जनैको धार्मिक महत्त्व छ, त्यसरी नै महिलाका लागि दुबधागोको विशिष्ट धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको मानिन्छ । गौरा र सुदूरपश्चिमको लोकसंस्कृति गौरा पर्व पूजा, व्रत र धार्मिक अनुष्ठानमा मात्र सीमित छैन । यो सुदूरपश्चिमको लोकभाषा, लोकसाहित्य, लोकसङ्गीत र सामूहिक जीवनशैलीको उत्सव पनि हो । गौरालाई गौराघरमा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई देउडा, ठाडो खेल, डुस्को, दोहोरी, धमारी लगायतका मौलिक लोकनृत्य तथा सांस्कृतिक खेलमा सहभागी हुन्छन् । यस्ता कार्यक्रमले मनोरञ्जन प्रदान गर्नुका साथै पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको लोकज्ञान, लोकभाषा, संस्कार र सांस्कृतिक परम्परालाई जीवन्त राख्न महत्त्वपूर्ण पुर्याएका छन् । दिनभरि नाचगान तथा देउडा खेल खेलेर सन्ध्याकालीन समयमा गाैराकाे डालाेमा राखिएका फलफूलहरूलाई राेचक तरिकाले फड्काउने प्रचलन रहेकाे छ ।
देउडाका घुम्तीमा केवल गीत र नृत्य मात्र हुँदैनन्; त्यहाँ समाजका सुख–दुःख, प्रेम-सम्बन्ध, व्यङ्ग्य-विनोद, सामाजिक यथार्थ, इतिहास र जीवनदर्शनसमेत अभिव्यक्त हुने गर्दछ । त्यसैले गौरा पर्व सुदूरपश्चिमको जीवित लोकसाहित्यको एउटा महत्त्वपूर्ण मञ्च पनि हो । सामाजिक सद्भाव र सांस्कृतिक एकताको गाैरापर्व धार्मिक आस्थाको पर्व मात्र नभई सामाजिक एकता र सद्भावको अनुपम अवसर पनि हो । टाढाटाढाबाट आफन्तजन तथा इष्टमित्रहरू घर फर्कने, भेटघाट गर्ने, सुख-दुःख साटासाट गर्ने र आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने भएकाले यस पर्वले पारिवारिक तथा सामाजिक सम्बन्धमा नयाँ आत्मीयता थप्ने गर्दछ । व्रत, पूजा, प्रसाद, देउडा र सामूहिक उत्सवका माध्यमबाट गौरा पर्वले “हामी एउटै समाजका सदस्य हौँ” भन्ने सामूहिक भावनालाई बलियो बनाउँछ । धार्मिक विश्वासअनुसार गौरा पर्वमा श्रद्धापूर्वक व्रत बसी शिव-गौरीको पूजा-आराधना गर्नाले सुख, शान्ति र समृद्धि प्राप्त हुने तथा इष्टदेव र कुलदेवता प्रसन्न हुने जनविश्वास रहिआएको छ ।
गौराको मौलिकता संरक्षण गरौँ
समय परिवर्तनशील छ । आधुनिकता र प्रविधिको तीव्र विकाससँगै हाम्रा कतिपय मौलिक संस्कार र परम्पराहरू पनि क्रमशः परिवर्तन भइरहेका छन् । परिवर्तन स्वाभाविक भए पनि गौरा पर्वको मूल धार्मिक भावना, मौलिक विधि, लोकभाषा, देउडा, परम्परागत पहिरन, बिरुडा, दुबधागो तथा सामूहिक संस्कृतिको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो ।
गौरा हाम्रो धार्मिक आस्था मात्र होइन, यो सुदूरपश्चिमको इतिहास, पहिचान, लोकस्मृति र सांस्कृतिक आत्माको प्रतीक हो । त्यसैले नयाँ पुस्तालाई गौराको धार्मिक तथा सांस्कृतिक महत्त्व बुझाउँदै यसको मौलिकता पुस्तान्तरण गर्नु आजको आवश्यकता हो । अन्ततः, गौरा पर्व सुदूरपश्चिमेली महिलाहरूको आस्था, तपस्या, शक्ति र सांस्कृतिक चेतनाको उज्यालो प्रतीक हो । शिव-गौरीको पवित्र सम्बन्ध, महिलाको श्रद्धा र सामूहिक सहभागिताबाट जीवन्त बनेको यो पर्वले सुदूरपश्चिमको समाजलाई सदैव प्रेम, सद्भाव, एकता र सांस्कृतिक गौरवको सूत्रमा बाँधिरहोस् । जय गौरा ! जय शिव-गौरी !
मान सिंह धामी (औल्लेकी)
उपप्राध्यापक
सुुदूरपश्चिम विश्वविद्यालय
कैलाली बहुमुखी क्याम्पस, धनगढी
स्थायी ठेगाना :-
माालिकार्जुन गाउँपालिका हुनैनाथ – ४ गाेठ्युडी (काेटबुङ्गा)
दार्चुला


