भदौ २४ काठमाडौँ । उमेर पुगेपछि युवतीहरु आफू जन्मेको घर, आमा, बुबा, दाजु, भाइ अथवा नाता–कुटुम्ब सबै छोडेर जीवनसाथीसँग बस्नको लागि विवाह गर्दछन् । छोरीको बिहे गरी पठाइसकेपछि पनि आमा–बुबालाई आफ्नो सन्तान छोरीको माया लागेर आउँछ । यही सम्झनामा छोरीलाई जन्मेको घर बोलाउने दिन तीज पर्व मानिआएको हो । तीज पर्व ३ दिनसम्म मनाइन्छ ।
छोरीहरुको विवाह गरी पठाइसकेपछि आमा–बुबालाई छोरीको सम्झना आउँछ । त्यसैले तीजको व्रत बस्नुभन्दा एक दिनअगाडि माइती (जन्मस्थल) मा बोलाएर आमाको हातबाट बनाएको मीठा परिकारहरु खुवाउने, दुःख–सुखका कुरा गरी घर–परिवारको साथै सुस्वास्थ्यका पनि जानकारी लिने–दिने गरिन्छ । छोरी पनि बा–आमा, दाजु–भाइले बोलाएको हुनाले खुशीले राम्रो लुगा–गहना लगाएर माइत जान्छन् । यसरी माइत गएर मीठो खाना खाने, सुख–दुःखका बारेमा जानकारी दिने दिनलाई दरखाने पर्व भनिन्छ । यो भाद्र शुक्ल पक्ष द्वितियाको दिनमा पर्छ ।
बिहे भएर गएकी छोरीको जानकारी लिने र सासू–ससुरा भएको घरमा के–कस्तो छ, ज्वाइँको सुस्वास्थ्य, कामको बारेमा बुझ्ने अथवा जानकारी लिने भएकोले यो दिन अथवा पर्वलाई छोरी–चेलीको पर्व अथवा दिवस भने पनि हुन्छ । यस्तो पर्व मनाउने संसारमा कुनै पनि देश छैन, नेपालबाहेक । विवाह भइसकेका छोरी–चेलीलाई सम्मान गर्ने दिन वा दिवसले हाम्रो देशको नाम अगाडि आउँछ । हामी कहाँबाट शुरु भएको हुनाले यसबारेमा अरु सबै देशलाई जानकारी दिनुपर्दछ । हामी सबैले विचार गर्नुपर्दछ । यस दिनमा महिला कर्मचारीहरुलाई सरकारी बिदा पनि दिनुपर्दछ । यो दरखाने पर्व वा दिवस अन्तर्राष्ट्रिय स्तरमा समेत पुर्याउनुपर्दछ, अन्तर्राष्ट्रिय बिदा दिलाउनको लागि पनि कोशिश गर्नुपर्दछ ।
माइत जान नसकेकी महिलाले आफ्नै आँगनमा साथीहरु, छिमेकीहरु बोलाई जमघट गरेर सुस्वास्थ्यको आदान–प्रदान गर्छन् । गीत गाई, नृत्य गरी, मीठा परिकार खाई नारीहरुले स्वतन्त्ररुपमा यो दरखाने दिन मनाउँछन् । दर खाने कार्य राति १२ बजेभित्र सम्पन्न गर्नुपर्दछ । किनभने १२ बजेपछि अर्को दिन शुरु हुन्छ । यो दर खाने पर्व भनेको नारीहरुको अधिकार पनि हो । यो पर्व मनाउन नारी स्वतन्त्ररुपमा जानुपर्दछ । यो पर्वलाई राष्ट्रिय पर्वको रुपमा लिनुपर्दछ ।
भाद्र शुक्ल पक्ष तृतियाका दिन हरितालिका तीजको व्रत बस्नाले आफूले चिताएको अथवा इच्छा गरेका माग पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । यस्तै राजनीतिमा अनशन बसियो भने अनशन बस्नेले जुन माग गरेको हो त्यो सरकारले हेरेर पूरा गरी दिन्छ । त्यस्तै धार्मिक विश्वासमा आफ्नो माग पूरा गर्नको लागि महिलाहरु महादेवको व्रत बस्छन् । समाजमा प्रायः पुरुषहरु व्रत बस्दैनन् । पुरुषहरु आफ्नो माग पूरा गर्नको लागि श्रीमतीलाई व्रत बस्न लगाउँछन् । यो व्रत बस्ने परम्परालाई सत्ययुगदेखि अहिलेसम्म पनि विश्वास गरेर आइरहेको छ । धर्मकर्म र व्रत बसियो भने आज्ञाकारी सन्तान पाइन्छ भन्ने जनविश्वास छ ।
संसारमा नारी इच्छाविना केही हुँदैन । नारीले जे इच्छा राखेर व्रत बस्छन्, त्यो पूरा भएर नै छोड्छ । सत्ययुगमा भएका घटनाहरुलाई लिएर अहिलेसम्म मानिआएको छ । हामीले पनि देखेका छौं । हिन्दू धार्मिक ग्रन्थअनुसार तीज पर्वबाट पाठ सिकौं । नारी र पुरुषको मन नमिलीकन अथवा आपसमा सहमत नभईकन विवाह हुँदैन । दुवैले विवाहको प्रस्तावलाई स्वकृति दिनुपर्दछ । पुरुषको इच्छा भएर मात्र नारी इच्छा भएन भने विवाह हुन सक्दैन । उदाहरणको रुपमा सत्ययुगमा विष्णुले पार्वतीसँग विवाह गर्न इच्छा गरे र नारदलाई लमी बनाएर विवाहको प्रस्ताव लैजान हिमालय पर्वत राजासमक्ष पुर्याउन विष्णुले भन्नुभयो । यस्तो कुरा सुनेर नारद हिमालय पर्वत राजासमक्ष गएर विष्णु र पार्वतीको विवाहको प्रस्ताव राख्नुभयो । यस्तो विवाहको प्रस्ताव सुनेर राजा खुशी भई स्वीकृति दिनुभयो ।
यसपछि राजा–रानीले छोरी पार्वतीलाई यो कुरा सुनाउनुभयो । तर पार्वतीले यो प्रस्तावलाई स्वीकार गर्नुभएन । किनकि उहाँको इच्छा भगवान् शिवसँग विवाह गर्ने थियो । त्यसैले पार्वतीले आफ्ना सबै संगिनीहरुसँग शिवसँग मात्र विवाह गर्ने आफ्नो इच्छा प्रकट गर्नुभयो । संगिनीहरुले पार्वतीलाई शिवसंग विवाह गर्न सहयोग गर्ने बचन दिए र उनलाई घरबाट भगाएर जंगलमा रहेको गुफाभित्र लुकाएर राखे । सबै साथीहरुले पार्वतीको हेरचाह गरे तर पार्वतीका आमा–बालाई थाहा दिएनन् । पार्वतीले शिवजी श्रीमान्को रुपमा पाऊँ भनी बालुवाको शिवलिंग आफ्नै हातबाट तयार गर्नुभयो । उक्त शिवलिंगलाई हस्तकलाको रुपमा पनि लिन सकिन्छ । शिवलिंग बनाई महादेवको दिनदिनै पूजा–अर्चना गरेर सेवा र भक्ति गर्न लाग्नुभयो ।
विशेष गरी भाद्रको शुक्ल पक्ष तृतियाको दिन शिवजी पति पाउन पार्वतीले कठोर व्रत बस्नुभयो । शिवजीको पनि प्रथम श्रीमती सतीदेवीको मृत्यु भएपछि कोसँग बिवाह गरौं भन्ने विचार आइरहेको थियो । त्यस बेलामा पार्वतीले उनलाई मन पराएको देखेर शिवजीले व्रत बसेकी पार्वतीको इच्छा पूरा गरिदिनुभयो । शिवजीले पार्वतीलाई दर्शन दिएर इच्छा पूरा हुने वरदान दिनुभयो । यही दिनलाई नै हरितालिका तीज भन्दछन् । यस्तो कठोर व्रत बसेर पूजा गरेको हुनाले पार्वतीले इच्छाएको वर पाउन सफल हुनुभएको थियो ।
यो दिनमा पार्वतीले व्रत बसेजस्तै नारीहरुले व्रत बसेमा इच्छाएको कामकुरा पूरा हुनेछ भन्ने जनविश्वास पहिलेदेखि अहिलेसम्म रहेको पाइन्छ । आफूले चाहेको श्रीमान् पाउन, श्रीमानको आयु लामो होस् भनेर, श्रीमान्को सुख, समृद्धि र स्वास्थ्यलाभको कामना गर्दै हरितालिका तीजको व्रत बसेको दिनलाई नै तीजको पर्व भनिन्छ ।
पार्वतीलाई लुकाइराखेको धेरै भएपछि हिमालय पर्वत राजा र रानीले उनको विवाह उनले इच्छाएको वर शिवजीसँग नै गरिदिने बचन दिए । आमा–बाबुको बचन सुनेर पार्वती खुशी भइन् र वैशाख शुक्ल पक्ष अक्षय तृतियाका दिन शिव–पार्वतीको विवाह सम्पन्न भयो । यसको अर्थ यो भयो कि सत्ययुगमा आफूले चिताएको अथवा चाहेको जस्तो फल पाउन तपस्या, अराधना, पूजापाठ र व्रत बसियो भने पूरा हुने रहेछ । अहिलेसम्म पनि यही कुरालाई इंगित गरी तीजको व्रत बस्ने गरिँदै आएको छ । यस दिनमा विवाहित नारीहरु बिहानै नदी, तलाउ वा धारामा गएर स्नान गरी, शुद्ध भई, नयाँ रातो लुगा पहिरी, सृङ्गार गरी, गरगहना लगाई, शिवजीको मन्दिरमा गई श्रद्धाभक्तिका साथ पार्वतीले गरेजस्तै पूजा–अर्चना गर्दछन् । अविवाहित नारीहरुले समेत आफूले चिताएको जस्तै पति पाउन अथवा शिवजीजस्तै पति पाउन यो व्रत बस्ने गर्दछन् । व्रतमा आफूले इच्छाएको कामना पूरा होस् भनेर शिवजीसँग प्रार्थना गर्दछन् ।
देवताहरुमा शिवजी सबैभन्दा छिटो खुशी हुने र वरदान दिने देवताको रुपमा चिनिन्छन् । उनले आफूलाई मार्न आउने भष्मासुर राक्षसलाई पनि वरदान दिएका थिए । चाँडै प्रसन्न भई वरदान दिने देवताको रुपमा चिनिने शिव भगवान्ले व्रत गरेका महिलाहरुको इच्छा–कामनाहरु पूरा गर्दछन् भन्ने जनविश्वास रहेको छ । त्यसैले विवाहित महिलाले पतिको आयु दीर्घ होस्, परिवारमा सबै निरोगी होऊन्, सुख, शान्ति एवं समृद्धि होस् भन्ने कामना गर्दै व्रत बस्ने गर्दछन् । त्यस्तै अविवाहित महिलाले शिवजीजस्तो राम्रो गुण भएको, शिक्षित, आफूलाई माया गर्ने वर पाऊँ र आफूले इच्छाएको पूरा होस् भनेर यो व्रत बस्ने गरेको देखिन्छ ।
तीजको भोलिपल्ट गणेश चौथीको दिन व्रत बसेका महिलाले बिहान स्नान गरी, शिव–पार्वतीको पूजा–अर्चना गरी, अगस्तीलाई अर्घ दिई, गोदान–पूर्णपात्र गरेर व्रत समाप्त गर्दछन् । व्रतको समाप्तिपछि सबै परिवारसँग बसेर खानपान गर्दै खुशीयाली मनाउँछन् । यस पर्वले महिलाको स्वतन्त्रता देखाएको छ भने परिवारमा हर्षोल्लास बढाएको छ । यो संस्कृति हाम्रो पहिचान हो, गौरव हो ।