आफ्नै ‘मिर्गौला बिक्रीमा’ भन्दै विज्ञापन गर्ने कैलालीका यी युवक !

काठमाडौं । नयाँ बानेश्वरको आइपेक्स मलको विपरीत दिशामा एउटा भित्तो छ, जहाँ कोरोना महामारीभन्दा पहिले फिल्मका रंगीविरंगी पोस्टर टाँसिन्थे ।

चैतयता फिल्म हल बन्द भएदेखि यो भित्तोमा नयाँ पोस्टर टाँसिएको छैन, पुराना पोस्टरका च्यातिएका टुक्रामात्र छन् । बुधबार दिउँसो भने त्यहाँ अचम्मको सूचना देखियो ।

ए–फोर साइजको सेतो चम्किलो कागजमा लेखिएको छ – मिर्गौला चाएमा (चाहिएमा) सम्पर्क ९८४‘.. ।

बिहीबार यी व्यक्तिसँग भेट भयो बल्खुमा ।

मिर्गौलाको विज्ञापन गर्ने यी व्यक्ति रहेछन्– कैलालीको धनगढी उपमहानगरपालिका धुरचन्ना घर भएका ३३ वर्षका जगवीरे गुरु धामी ।

होचो–होचो कदका, घुम्रिएको कपालको टुप्पो रातो बनाएका यी युवकको अनुहारमा कुनै चिन्ताका रेखा देखिँदैनन् ।

हामीले सोध्यौं – मिर्गौलाको विज्ञापन गरिएका पोस्टरहरु कहाँ–कहाँ टाँस्नुभयो ?

बालकुमारीदेखि कलंकीसम्म, टेकुदेखि बानेश्वरसम्म । सबैतिर गरी उनले ३०÷३५ ठाउँमा यस्ता सूचना टाँसेका रहेछन् । अझ उनले खुलाए ‘भक्तपुरतिर पनि टाँस्ने प्लान हो सर, पुगेन ।’

उनले सूचना लेख्न र टाँस्नका लागि किनेको मार्कर, गम र ग्लुस्टिक ज्याकेटको खल्तीबाट झिकेर देखाए । ग्लुस्टिकतिर औंल्याएर भने, ‘यो पनि गम नै हो, त्यसले (अर्को झोल गम) ले टाँसिएन र यो किनेको ।’

 

‘मिर्गौला चाहिएमा’ भन्ने सूचना टाँसेपछि उनलाई केही फोन पनि आए । तीमध्ये एक जनाचाहिँ मिर्गौला कारोबारसँगै सम्बन्धित मान्छे हो कि जस्तो लाग्छ उनलाई ।

‘हिजो बिहान एउटा भेट्न आएको थियो, के हो, कस्तो हो, बुझ्न सकिनँ । मेरो बारेमा सोध्यो । हामी पछि फोन गर्छौं भन्यो, अहिलेसम्म फोन गरेको छैन’ उनले भने ।

नेपालमा मानव अंग बिक्री वितरण गैरकानुनी हो । मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ ले अंग खरिद बिक्री गर्नुलाई दण्डनीय मानेको छ । तर, मान्छेले आफ्नो अंग बेच्न किन विज्ञापन गर्छ ?

ऐनको दफा १४ (क) मा अंग दान दिन सक्ने अवस्था दुईवटामात्रै छ ।

क– बिरामीको नातेदार हुनुपर्छ । ख– दुई वा दुई भन्दा बढी परिवारका कुनै सदस्यलाई अंग प्रत्यारोपण गर्नुपर्ने अवस्थामा त्यस्तो परिवारका आफ्नो नजिकको नातेदारको अंग नमिली प्रत्यारोपण हुन नसक्ने अवस्था भएमा र प्रत्यारोपण गर्न खोजिएको अंग अर्को परिवारको सदस्यसँग मिल्ने भएमा आपसी सहमतिको आधारमा लिखित रुपमा एक अर्का परिवारको सदस्यले मात्र दान गर्न पाउँछ ।

ऐन विपरीत अंग झिक्ने र त्यसमा संलग्न व्यक्तिलाई ५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।

धामीले आफू आर्थिक समस्यामा फसेको र अरु कुनै विकल्प नभएकाले जानीबुझी मिर्गौला बेच्न खोजेको बताए । मिर्गौला बेच्नेबारे उनले केही साथीहरुसँग पनि सल्लाह गरेका रहेछन् । ‘उनीहरुले पनि हामीलाई समेत जेल हाल्न खोजेको भन्दै गाली गरे’ उनी भन्छन् ‘कुनै विकल्प आएन, फसे पनि यसै मर्नु छ, उसै मर्नु छ ।’

काठमाडौंमा कहिले मासु पसल, किराना पसल कहिले खाजा पसल सञ्चालन गरेका उनी व्यापार राम्रो नभएको र २०÷२५ लाख रुपैयाँ ऋण लागेको भन्दै मिर्गौला ग्राहकको खोजीमा लागेको दाबी गर्छन् ।

ऋण लिएर ब्यापार सुरु गरेको तर, कुनै व्यापारले आम्दानी नदिएको उनको भनाइ छ ।

पहिले कीर्तिपुरको पाँगामा मासु र किराना पसल चलाएको, त्यो पसल नचलेपछि फेरि ऋण खोजेर एयरपोर्टमा खाजा पसल राखेको, त्यो पनि नचलेपछि फेरि ऋण खोजेर बालकुमारीमा खाजा पसल राखेको, त्यो नचलेको र त्यसकै पैसाले घरभाडा तिरेपछि आफू रित्तो भएको उनले जिकिर गरे ।

काठमाडौं आएपछि आफू धादिङ, महादेवबेंसीकी तामाङ थरकी केटीसँग सम्बन्धमा परेको र उसले सबै पैसा सिध्याइदिएको र अहिले सम्पर्कविहीन रहेको पनि उनले जिकिर गरे । ‘चाररपाँच महिनादेखि ऊ सम्पर्कमा छैन’ धामीले भने ।

 

धामीले कैलालीमा आफ्नो घर वरपरका साहु र उतैबाट काठमाडौं आई बसेकाहरुसँग ४० प्रतिशतसम्म ऋण लिएको सुनाए ।

मिर्गौला बेचेर सबै ऋण तिरन्छ भन्ने ठानेको त ? भन्ने प्रश्नमा धामी भन्छन्, ‘यति आउँछ, उति आउँछ, मलाई केही थाहै छैन ।’

उनी अघि भन्छन्, ‘२०र२५ लाख आउँछ भन्ने पनि थिएन मलाई । बाहिर–बाहिर सुन्थेँ, राम्रो मान्छे पाए धेरै आउँछ भन्थे । कसैले हामीजस्तै मान्छे भए ४÷५ लाख रुपैयाँ पनि हुँदैन । २÷३ लाख रुपैयाँ मात्र आउँछ पनि भने ।’

अहिले कयौं मानिस आफ्नो दुःख देखाएर युट्युबमा अन्तर्वाता दिएका भरमा भाइरल भएर धेरै आर्थिक सहयोग हात पारिरहेका छन् । यस्तो सूचना टाँसेर भाइरल बन्न खोजेको हो कि भन्दा उनी भन्छन् ‘त्यो मैले सोचेको छैन, मैले त्यस्तो गर्न खोजेको पनि होइन ।’

अनि अवैधानिक काम गर्न किन खोजेको त ?

‘मेरो समस्याको अरु समाधान के हो त ? घर भएको २ कठ्ठा सरकारी (ऐलानी) जमिन बेचौं भने पनि ५० हजार भन्दा आउँदैन ।’

उनका घरमा आमाबाबु र छोराछोरी छन् । दाजुभाइ अलग–अलग छन् । काठमाडौंमा आएर धेरै ऋण लगाएपछि घरमा आफूलाई नराम्रो मान्ने गरेको उनले सुनाए । ‘मलाई त घर पनि नआइज भनेका छन्’ धामी भन्छन्, ‘आफ्नो ऋण आफैं तिर् भन्छन् ।’

नेपालमा कोरोना महामारी सुरु भएपछि धेरैले काम र रोजगारी गुमाए । कतिपयको व्यवसाय चौपट भएर सडकमा आएका छन् । हामीले ठानेका थियौं, धामी यस्तै समस्यामा परेका व्यक्ति होलान् । तर, होइन रहेछ । तपाईं त आफ्नै कारणले समस्यामा फस्नुभएको रहेछ । उनले भने ‘के गर्ने, त्यस्तै त्यस्तै भयो । साथीले राम्रो साथ दिएन ।’

मिर्गौला बिक्री भएन भने के गर्ने त ? उनलाई सोध्दा उनी बिक्री हुनेमै आशावादी देखिए । ‘होला नि, किन नहुने ? मैले त सकिन्छ भने बेच्ने नै भनेको हो’ उनी भन्छन् ।

यस्तो गैरकानुनी काम गरेको भनेर प्रहरीले पक्राउ ग¥यो भने के गर्ने ? ‘समायो भने ठीक छ । के छ र, यसै मर्नु, उसै मर्नु’ धामी भन्छन् ।

प्रहरीको फोन

उनले सूचना टाँसेकै केही घण्टामा महानगरीय प्रहरी परिसर टेकुबाट प्रहरीले फोन पनि गरेको रहेछ । ‘टेकुबाट हो, पुलिस बोलेको भन्दै थिए,’ धामीले भने, ‘तपाईले किन टाँसेको सबै निकाल्नुस् भन्दै हुनुहुन्थ्यो । म यस्तो–यस्तो भएर गरेको हो, निकाल्न सक्दैन भनेकै हो ।’

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले त्यस्तो सूचना टाँसेको जानकारी आएपछि सम्पर्क गरेर उप्काउन आग्रह गरेको बताए । इन्सपेक्टर सुधीरराज शाहीलाई सूचनाबारे बुझ्न पठाएको ज्ञवालीले बताए ।

‘हामीले बुझ्दा आर्थिक समस्यामा परेर त्यसो गरेको भन्ने बुझ्यौं, त्यो सूचना तुरुन्तै च्यात्न लगायौं’ ज्ञवालीले भने ‘अझै पनि त्यसो गरेमा मानव बेचविखन ब्युरोसँग समन्वय गरेर कानुनी कारवाही अगाडि बढाउछौं । तत्काललाई भने सचेत गराएका छौं ।’

अहिले धामी कलंकीमा बस्छन् । हामीसँग उनले ३ दिनदेखि खाना नखाएको भनेका थिए । ‘एकजना पत्रकार दाइले ३र४ सय रुपैयाँ दिएपछि हिजो खाएँ’ उनले भने ।

केही काम गरे भो नि त भनेर सोध्दा उनी भन्छन्, ‘लकडाउन पनि थियो । साहुले फोन ग¥या ग¥यै छन् । ज्यामी काम गरे ५र६ सय रुपैयाँ आउँछ । त्यसले कोठाभाडा र आफूलाई खान ठिक्क हुन्छ । त्यत्रो ऋण कसरी तिर्ने ?’ अनलाइन खबरबाट साभार 

 

ताजा खबर

मेयर ओझाद्वारा महेन्द्रनगर नमुना मावि साधारण स्कुलको अनुगमन

कञ्चनपुर, असार २२ कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुख देखिका जनप्रतिनिधीले...

महाकाली गाईडबण्ड सन्तोषजनक ः गृहमन्त्री लेखक

उपेश सिंह धामी कञ्चनपुर २२ असार । कञ्चनपुर स्थित महाकाली गाईडबण्ड,दोधाराचाँदनी...

कञ्चनपुरको होलीफेम्ली स्कुललाई उत्कृष्ट शैक्षिक संस्था सम्मान

शुनिल राना कञ्चनपुर २२ असार । सुदूरपश्चिम प्रदेश कञ्चनपुरकोे एक...

श्रद्धेय दिप दाईको प्रेरणादायी दुई शब्द “भाई अब राजनीतिमा आउनु पर्छ’’

धन सिंह धामी कञ्चनपुर २२ असार । मन्द मुस्कानको साथमा के...

शनिवार वृहत सरसफाई कार्यक्रमलाई निरन्तरता दिदै पावर अफ युथ समुह

कञ्चनपुरमा रहेको पावर अफ युथले वृहत सरसफाई कार्यक्रमलाई निरन्तरता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?