शुक्लाफाँटाका भूमिहीनमाथि राज्यको नजर पुगेन, बस्ने ओत नपाउँदा १५ वर्षदेखि पुलमुनिको बास

देवेन्द्र खड्का
महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित पूर्व–पश्चिम राजमार्गमा पर्ने बनरा पुलको दायाँ–बायाँतर्फ १५/१६ वटा साना छाप्रा भएको एउटा बस्ती छ । जुन वि.सं.२०६२ सालमा स्थापना गरिएको सिगास शिविरको हो । उक्त छाप्रामा मान्छे भने भेटिएनन् । तर, नजिकैको पुलमुनि भने झन्डै २० परिवार बसिरहेका भेटिए । उनीहरू त्यहाँ कष्टकर जीवन बिताइरहेका छन् ।

उनीहरू भूमिविहीन (सुकुम्बासी) हुन् । त्यहाँ ६० वर्षीय दलबहादुर बोहरा पनि बस्नुभएको छ । बझाङको बित्थडचिर गाउँपालिकाबाट २०५६ सालमा तराई छिर्नुभएका बोहोरा आफ्ना परिवारसहित १५ वर्षदेखि त्यहाँ बस्दै आउनुभएको छ । सरकारले बनाइदिएको घर वर्षा र घामसमेत छेक्ने नभएपछि उहाँ नजिकैको पुलमुनि बस्दै आउनुभएको हो । ‘सरकारले बनाइदिएका यी छाप्राका छानामा, भित्तामा प्वाल परेर बस्न नसकिने अवस्थाका छन् ।’ बोहराले भन्नुभयो, ‘त्यसैले यो पुलमा ओत लिन बाध्य छांै ।’ सुरक्षित आवास नहुँदा जिउ जोगाउन झन्डै १५ वर्षदेखि यो पुलको साहारा लिनुपरेको बोहराको दुःखेसो छ । उहाँका अनुसार रोजगारीको समेत समस्या भएकाले परिवार पाल्नै धौधौ परेको छ । त्यस्तै ५० वर्षीय रामबहादुर सुनार पनि सोही पुलमुनि भेटिनुभयो । सुनार उक्त शिविर खुल्नुभन्दा पहिले दार्चुलाको गल्फैमा साधारण टहरामा बस्नुहुथ्यो ।

बनरामा भूमिहीन शिविर खुलेको थाहा पाएपछि उहाँ पनि परिवारसहित त्यहाँ पुग्नुभयो । ‘शिविर खुलेपछि केही व्यवस्था हुन्छ कि भनेर यहाँ आएको थिएँ, तर यहाँ त झन् १५ वर्षदेखि पुलमुनि बस्नुपरेको छ ।’ सुनारले भन्नुभयो, ‘ओत लाग्नेसमेत एउटा राम्रो घर नभएकाले परिवार छोडेर रोजगारीका लागि टाढा जान पनि डर लाग्छ ।’ सरकाले आफूहरूलाई नहेर्दा पुलमुनि बस्नुपरेको ५१ वर्षीया मरुदेवी ताम्राकारले गुनासो गर्नुभयो । ‘खरको सामान्य टहरो बनाएर बसेका छौँ, ठूलो हावाहुरी, पानी आए बनरा पुलको साहारा लिन्छौँ’ मरुदेवीले भन्नुभयो । ‘जंगली जनावरको पनि उस्तै त्रास छ, बेलाबेलामा हात्ती आएर टहरा भत्काई दिन्छन् ।’ उहाँ अगाडि थप्नुहुन्छ, ‘सरकारले हामीलाई नहेर्दा यो पुलमुनि बस्न बाध्य भएका छांै, गरिबको लागि त कोही पनि हुँदो रहेनछ ।’ बोहरा, सुनार, ताम्राकारजस्तै यहाँ १९ परिवार बस्दै आएका छन् ।

बस्दै आएको ठाउँमा नदीले कटान गर्न थालेपछि अर्को कुन ठाउँमा गएर बस्ने भूमिहीन परिवारलाई पिरलो छ । हिउँदको चिसोमा ओढ्ने विच्छ्याउने कपडाको अभावमा झोपडीभित्र आगो बालेर जीउ जोगाउनुपरेको उनीहरूको भनाइ छ ।

सरकारले आफ्ना समस्या नहेरेको उनीहरू बताउँछन् । निर्वाचनका बेलामा भोट माग्न आएर समस्या समाधान गर्छौं भन्ने आश्वासन दिए पनि चुनाव जितेसँगै उनीहरूसँग गरेका बाचा नेताहरूले भुलेका छन् । जसले गर्दा १५ वर्षदेखि पीडितको दैनिकी एकैखालको छ ।

अन्य क्षेत्रमा विपद् व्यवस्थापनको तयारीमा जुट्ने संघसंस्थाको आँखा पनि यहाँ पुग्न सकेको छैन । राज्यले जग्गाधनी प्रमाणपत्र नभएको भन्दै आफूहरूलाई वर्षौदेखि विभेद गरिरहेको उनीहरूको दुःखेसो छ । दिनभरि ज्याला मजदुरी गरेर साँझ बिहानको छाक टार्न मुस्किल पर्ने उनीहरूको अवस्था निकै दयनीय र कष्टकर छ । यसै देशको नागरिक भए पनि विरानो भएर बस्नुपरेको भूमिहीन परिवारको गुनासो छ । सरकारले ‘अब कोही पनि घरवारविहीन हुनुपर्दैन’ भन्ने भनाइ बारम्बार दोहो(याइरहे पनि उनीहरूको पीडा सुनिदिने कोही छैन ।

सुरक्षित अस्थायी आवासको माग

सिगास शिविर भूमिहीन स्थानीयले सुरक्षित अस्थायी आवासको माग गरेका छन् । सरकारवाला निकायसँग उनीहरूले खुला आकाशमुनि निकै सास्ती खेप्नुपरेको भन्दै अस्थायी सुरक्षित आवासको माग गरेका हुन् । दलबहादुर बोहराले नदी किनारामा असुरक्षित बसोवास गरिरहेको बताउँदै आफूहरूलाई अस्थायी रूपमा भए पनि सुरक्षित बासको प्रबन्ध मिलाइदिन सरोकारवाला निकायलाई आग्रह गर्नुभयो । ‘अहिलेसम्म बनरा पुलमुनि बसिरहेका छौं, निकै बिचल्लीमा परेका छौँ, अस्थायी भए पनि सुरक्षित आवास सबै भूमिहीनको माग हो’ उहाँले भन्नुभयो । ‘लामो समयदेखि प्राकृतिक विपत्तिको मार खेपेका छौं’ सुनारले भन्नुभयो, ‘हामी पनि नेपाली नागरिक हौँ, आफ्नो जमिन छैन, सरकारले सुरक्षित वासको व्यवस्था गरिदिए आभारी हुन्थ्यौँ’ ।

वर्षामा नदीको त्रास

भूमिहीन सिगास शिविर बनरा नदी किनारमै पर्छ । नदीले बस्तीको पूर्वतिरबाट कटान गर्दै आएको छ । छेउमै रहेको बनरा नदीको त्रास खेप्नुपरेको स्थानीय बताउँछन् । स्थानीय मानबहादुर सुनारले बनरा नदी चुरेमा वर्षापछि आउने भएकाले स्थानीयमा त्रास रहेको बताउनुभयो । उत्तरी क्षेत्र चुरे भएर बग्ने खहरे भेलमा भएकाले जतिबेला पनि बाढी आउने सम्भावना रहन्छ । ‘यहाँ पानी नपरे पनि चुरेमा पानी परेको छ, छैन थाहा हुँदैन, एक्कासी नदीमा बाढी आउँछ, साना केटाकेटी नदी छेउमै खेलिरहेका हुन्छन्’ सुनारले भन्नुभयो, ‘त्यसैले नदीको पनि उत्तिकै डर छ ।’ त्यस्तै ८० वर्षीय कल्चु साउदले पनि भूमिहीन बस्तीमा थुप्रै समस्या रहेको बताउनुभयो । उहाँले जंगली जनावरदेखि हावाहुरी र बनरा नदी किनारामा पुलमुनि त्रासपूर्ण जीवन बिताइरहेको पीडा सुनाउनुभयो । शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिल बहादुरले ऐरले नगरका भूमिहीनका समस्याबारे आफूहरू सचेत रहेको बताउनुभयो । उहाँले वास्तविक भूमिहीनको व्यवस्थापनका लागि पहल भइरहेको जानकारी दिनुभयो । ‘नगरपालिकाले भूमिहीन नागरिकलाई निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था गरेको छ ।’ नगरप्रमुख ऐरले भन्नुभयो, ‘साथै जनता आवास कार्यक्रमअन्र्तगत परिचय पत्र पाएका भूमिहीनको व्यवस्थापन गरिने छ ।’

ताजा खबर

निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ वर्ष पूरा, अनुसन्धान नतिजा शून्य

कञ्चनपुर - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार...

पर्यावरण संरक्षणका लागी भम्केनी धाममा वृक्षारोपण

कञ्चनपुर - पर्यावरण संरक्षणका लागी कञ्चनपुरको भम्केनी धाम तथा नागार्जुन...

वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा खोकाछाप्रा पीडितकाे माग

कञ्चनपुर-वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा...

जोगबुढा नदीको विचको भाग सफाई गरिदिन सुन्दरनगरका स्थानीयहरुकाे माग

कञ्चनपुर-दोधारा चादनी नगरपालिका वडा नम्वर ८ सुन्दरनगरका स्थानीयहरुले लामो...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?