सरकारी हेलचेक्र्याइँका कारण ६० वर्षदेखि तिब्बततिर नेपाली गाउँ

गोरखा । करिब चार सय वर्ष पहिला राम शाहको राम राज्यलाई हेरेर उक्ति नै चलेको थियो, ‘न्याय नपाए गोर्खा जानू ।’ त्यही गोर्खा अहिले भने ६० वर्षदेखि एउटा गाउँ पराइलाई सुम्पिएर मौन बस्दै आएको छ।

उत्तरी गोरखाको रुई गाउँ नेपालको हो। तर, सरकारी हेलचेक्र्याइँका कारण २०१७ देखि चीनको स्वशासित क्षेत्र तिब्बतको अधीनमा छ। गोरखाको रुई भोटअन्तर्गत पर्ने रुई गाउँमा हाल ७२ घर छन्। नेपाली सरकारी अधिकारीले ‘प्रलोभनमा परेर’ सीमा स्तम्भ सार्न अनुमति दिए पनि नेपालको नक्सामा यो समेटिएकै छ।

रुईभोटका बासिन्दाले जग्गाको कर तिरेको अभिलेख मालपोत कार्यालय, गोरखामा सुरक्षित छ। बिर्तासम्बन्धी नम्बरीको ढड्डा नं। १ मा रुईभोट, सामागाउँलगायतका बासिन्दाले राजस्व तिरेको उल्लेख रहेको कार्यालयका सहायक कर्मचारी ठाकुर खनाल बताउँछन्। ‘अठार सय खोलादेखि रुईभोटसम्मका बासिन्दाले तिरो तिरेको अभिलेख कार्यालयको तामेल शाखामा हेर्न सकिन्छ’, उनले भने।

गोरखाको उत्तरी भेगमा रुई र तेघा भन्ने दुईवटा गाउँ नेपालकै रहेको इतिहासकार तथा सीमासम्बन्धी जानकार रमेश ढुंगेलले बताए। ‘रुई र तेका दुईवटै गाउँ २०१७ सालसम्म नेपालकै हुन्’, उनले भने, ‘कुनै लडाइँमा हारेर गुमाएको पनि होइन। कुनै सर्त र सम्झौतामा फँसेर तिब्बततिर परेको पनि होइन। सीमा स्तम्भ राख्ने बेला हेलचेक्र्याइँले ती दुवै गाउँ नेपालले गुमायो।’

त्यो गाउँसँग जोडिएको चुमनुब्री गाउँपालिका वडा १ का अध्यक्ष वीरबहादुर लामा भन्छन्, ‘रुईगाउँ पहिले हाम्रै जिल्लाभित्र थियो। हाम्रो गाउँदेखि त्यहाँसम्मको भूभाग सबै नेपालकै थियो। त्यहाँका बासिन्दा र हामीले राजस्व नाम्रुङका ठकुरी मुखियालाई बुझाउँथ्यौँ। तर अहिले उनीहरू तिब्बती भए।’

२०१७ मा गएको नापी टोलीले साम्दो र रुईको बीचमा ३५ नम्बर पिलर राख्न तिब्बतसँग सहमति जनाएपछि नेपाली भूभाग उता पुगेको उस बेलाका प्रत्यक्षदर्शीहरू बताउँछन्। सामागाउँ, साम्दो, रुई गाउँको भाषा, धर्म, भेषभूषा, संस्कृति उही छ। परस्पर नाता सम्बन्ध र कतिपय पूजा गर्ने ठाउँसमेत एउटै रहेको वडाध्यक्ष लामाले जानकारी दिए।

तिब्बततर्फ समेटिएपछि रुईका कतिपय बासिन्दाले कडा असहमति जनाएका थिए। उनीहरू भागेर सामागाउँ नजिकै आफ्नै बारी तथा गोठ रहेको साम्दो भन्ने ठाउँमा रातारात आएका थिए। र, त्यहीं बस्ती बसालेका यहाँका बासिन्दाहरू बताउँछन्।

रुईभोटको सबैभन्दा ठूलो र प्राचीन तेका पेमा छ्योलिङ गुम्बा ९ताघबाई[गुम्बाका]महत्वपूर्ण धार्मिक ग्रन्थसमेत उनीहरूले उठाएर ल्याएका थिए। पहिला रुई गाउँमै रहेको आदित्य मल्लद्वारा जारी ताम्रपत्रसमेत उनीहरूले ल्याएको स्थानीय छेवाङ लामाले बताए।

‘तिब्बतमा परेपछि चित्त नबुझेर धेरैजसो रुई गाउँका मान्छे भागेर साम्दोमा आए। साम्दोमा आफ्नो बारी थियो, गोठ थियो’, लामाले भने, ‘रुई गाउँको तेका गुम्बामा हजार–बाह्र सय वर्ष पुराना ग्रन्थहरू थिए। ती सबै बोकेर आए र साम्दोमा नै तेका गुम्बा बनाएर पूजाआजा गर्न थाले।’ आदित्य मल्ल र पुण्य मल्लले रुईमा जारी गरेका दुई ताम्रपत्र अहिले पनि साम्दोमा सुरक्षित रहेको पाइएको छ।

चीनको सांस्कृतिक क्रान्तिपछि तेका गुम्बा र त्यहाँ रहेका बहुमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा नष्ट भएको थियो। तर, सात सय वर्ष पुराना दुई ताम्रपत्र जोगाएर यता ल्याएको रुईबाट भागेर साम्दो आएका ङुइटुप लामाले बताए। तत्कालीन राजा आदित्य मल्ल र पुण्य मल्लले तिब्बतसँग समरमा जाँदा फौजले खाना खाने बेलामा उक्त गुम्बाको व्यवस्थापन गर्न तत्कालीन बासगावा लामालाई जिम्मा दिएका थिए। त्यसबापत राज्यलाई तिर्नुपर्ने सबै कर मिनाहा गरेको ताम्रपत्रमा उल्लेख छ।

विस्थापित रुईबासीले भागेर आई बसाएको साम्दोको नयाँ बस्तीमा सोही नामको [ताघबाई] गुम्बा बनाएका छन्। ‘चिनियाँ सांस्कृतिक क्रान्तिका बेला सबै गुम्बा भत्काएपछि हामी त्यहाँ बस्न नसकेर भागेर यता आयौं’ उनले भने, ‘खान लागेको गाँस बरु छाड्यौं तर हाम्रा गुम्बाका धर्मग्रन्थ, अरु सामान, ताम्रपत्र छोडेनौं।’ मुस्किलले यहाँ ल्याएका गुम्बाका महत्वपूर्ण मूर्तिहरू पछि तस्करले चोरेर तिब्बततिरै लगेको उनले गुनासो गरे। ताम्रपत्र भने सुरक्षित राखेका छन्।

रुईका बासिन्दा साम्दोमा आएका बेला सामागाउँका बासिन्दाले तिब्बती नागरिकलाई नेपालको जल, जमिन र जंगलको हकभोग नदिने भनेर विवाद गरेका थिए। तर आफूहरू पहिले पनि नेपाली नै भएको र अहिले पनि नेपाली नै भएको भन्दै प्रतिवाद गरेपछि मुद्दा जितेको साम्दोका बासिन्दको भनाइ छ।

रुईजस्ता धेरै गाउँ र भूभाग पनि हेलचेक्र्याइँका कारण गुमेकाले बृहत् अनुसन्धान गर्नु जरुरी रहेको इतिहासविद् ढुंगेलको सुझाव छ। ‘यस्तो लापरबाही त कति ठाउँमा भएको छ भनिसाध्यै छैन। तिब्बतको तर्फबाट हेपाइ र मिचाइ भारतको भन्दा बढी छ’, उनी भन्छन्, ‘दक्षिणतर्फको सीमा चाहिँ मान्छे पुग्न सक्ने, देख्न सक्ने ठाउँमा छ र किचलो भइरहन्छ। उत्तरतर्फको सीमामा मान्छे नपुग्ने, देख्न नसक्ने ठाउँमा भएका कारण चर्चा नपाएको मात्रै हो।’

लापरबाहीकै कारण किमाथांकाका करिब ३ सय ५० घरधुरी पनि तिब्बततिर परेको, मुस्ताङमा पनि दुई दिनभरि पैदल हिँडेर नसकिने भूभाग तिब्बततिर परेको उनको दाबी छ। उनी भन्छन्, ‘कार्यदल, अध्ययन टोली बनाएर होइन, बृहत् अनुसन्धान टोली बनाएर सीमामा गुमेको जग्गाबारे अध्ययन अनुसन्धान गर्नु जरुरी छ।’[यो समाचार शिव उप्रेतीले अन्नपूर्णमा लेखेका छन् ]

[Sassy_Social_Share total_shares="ON"]

Leave A Reply

Please enter your comment!
Please enter your name here

ताजा खबर

पहिलो पटक तिलाचौरमा रामलीला महोत्सव हुँदै

कञ्चनपुर, १४ असार कञ्चनपुरको उत्तरी भेग तिलाचौरमा पहिलो पटक...

नास्लुको हिमपहिरोमा परेर घाइते भएका ९ जनाको सकुशल उद्धार

असोज १, काठमाडौं । मनास्लुको हिमपहिरोमा परेर घाइते...

पहिराका कारण नारायणगढ–मुग्लिन सडक

पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। शुक्रबार राति १२...

मार्मा गाउँपालिकामा यार्सागुम्बा संरक्षण तथा प्रशोधन केन्द्र स्थापना हुने

दार्चुलाको मार्मा गाउँपालिकामा यार्सागुम्बा संरक्षण तथा प्रशोधन केन्द्र...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?