पर्यटकका अनौंठा आनीबानी स् इजरायलीले होटलमा कोठा पाउँदैनन्, खर्चै गर्दैनन् एशियन नेपाल घुम्न आउने पर्यटकमध्ये कुन देशकाले बढी खर्च गर्छन् ?

अर्काको देश घुम्न आएका पर्यटकहरु पनि अरुसँग रिसाउँछन् र ? भर्खरै–भर्खरै न्याथममा पथप्रदर्शकको तालिम सुरु गर्दा राजेन्द्र बहादुर राईलाई अचम्म लाग्ने ग¥थ्र्यो । आफ्नै देशमा आएर कसैले नराम्रो व्यवहार ग¥यो भने सहेरै बस्नुपर्ने ? यो प्रश्न न्याथममा पढाउने गुरुहरुसँग सोध्नै पनि लागेका थिए । तर, फेरि सोधेनन् । यो पेशा यस्तै होला भन्ने सम्झिएर आफैंले आफ्नै चित्त बुझाए । तर, राइले कुनैबेला गुरुलेभन्दा अचम्म लागेको कुरा नै अरुलाई सिकाउने गरेका छन् । ‘आफैंले पर्यटकहरुको अनेक अनेक व्यवहारबाट म अभ्यस्त हुन थालेको छु’ उनी भन्छन् ‘यो क्षेत्रमा त विश्वभरीका मानिसको व्यवहार बुझ्न नसके कामै रहेनछ ।’

अर्का पथप्रदर्शक सुमित सिलवालले सानातिना कुरामा पनि रिसाइरहने पर्यटकलाई बुझ्न नसक्दा सुरुका दिनहरुमा ठूलै समस्या भोगेका थिए । भर्खरै यो पेशामा लागेका उनलाई पहिलो यात्रामा नै अमेरिकी पर्यटकहरुले सिधै असन्तुष्टि पोखेका थिए । उनी भन्छन् ‘त्यतिबेला त यही गुनासो ट्राभल एजेन्सीसम्म पु¥याइदिन्छन् कि ? भन्ने ठूलै चिन्ता लागेको थियो ।’ तर, जति चित्त नबुझेका कुराहरु उनीसँग नै भनेपनि ट्राभल एजेन्सीलाई नभनेपछि सिलवाललाई लाग्यो ‘अमेरिकीहरु त साँच्चिकै मनका सोझा र सफा चित्त भएका हुने रहेछन् ।’

पर्यटक घुमाउने काम पनि सोचेजस्तो सजिलो भने छैन । विश्वभरबाट आउने पर्यटकको मन बुझेर त्यसै अनुसारको व्यवहार गर्नुपर्छ । उनीहरु रिसाएपनि आफू कहिलै रिसाउन पाईँदैन । भनेको कुरा सबै स्पष्टसँग बुझाइदिनुपर्छ । परेको समस्या आफंैंले समाधान गरिदिनुपर्छ । त्यसैले पथप्रदर्शकहरुलाई अघोषित राजदूत भनिने गर्छ । आफ्नो देशमा कस्ता कस्ता महत्वपूर्ण धरोहरहरु छन् भन्ने कुरा तिनै पथप्रदर्शकहरुबाट नै विश्वले थाहा पाउने गरेको छ । तर, कुनैदेशका पर्यटकहरुले भने सहनै नसक्ने व्यवहार पनि गर्ने गर्छन् ।

राई सम्झन्छन् ‘इजरायली पर्यटकलाई घुमाउन प्रायः पथप्रदर्शकहरु इन्कार गर्ने गर्छन् । सानातिना विषयमा पनि असन्तुष्ट हुने र झगडा नै गर्न आउने उनीहरु खर्च पनि खासै गर्दैनन् । त्यसैले इजरायलका पर्यटकहरुलाई होटल व्यवसायीहरुले समेत सजिलै कोठा दिने गरेका छैनन् ।’

त्यसपछि भारतीय नागरिक र नेदरल्याण्डबाट आएका पर्यटकहरु कम खर्च गर्ने सूचीमा पर्छन् । यद्यपि गैरआवाशीय भारतीयहरुको भने स्वभाव योभन्दा अलिक फरक हुनेगर्छ । नेदरल्याण्डका पर्यटकहरुमा पनि सबैको स्वभाव भने एउटै नहुने अर्का पथप्रदर्शक दिपेशराज शर्माको बुझाई छ । उनका अनुसार कुनैपनि देशबाट आएका पर्यटकहरुलाई देशको आधारमा उनीहरुको व्यवहारको परिकल्पना गर्न त सकिन्छ । तर, केही अपवाद पनि हुने गर्छन् ।

शर्मा सम्झन्छन् ‘नेपाल घुम्न आएका एक पर्यटकको टोलीलाई पोखराको लेकसाइडमा घुमाउदै गर्दा एक जनाको जुत्ता च्यातियो । तत्कालै भ्रमण दलका सदस्यहरुलाई जहाँको त्यहीँ राखेर म आफैं नयाँ जुत्ता किनिदिनको लागि हिडेँ । पथप्रदर्शकको काम यस्तै बेलामा केही झण्झटिलो पनि हुने गर्छ । सुपरमार्केट पुगेका ती पर्यटकले पसलमा भएका आधाभन्दा धेरै चप्पलहरु एकएक गरेर हेरे । तर, त्यहाँबाट एउटा पनि नकिनी उनी फर्किए । बाहिर निस्किए लगत्तै जुत्ता सिलाउने ठाउँमा पु¥याइदिन उनैले आग्रह गरे । मैले जुत्ता सिलाउने ठाउँमा पु¥याइदिएँ । उनले झण्डै एक इन्च जति सिलाएको ८०० रुपैयाँ तिर्नुप¥यो । उनी त्यसमा नै खुशी थिए । किनभने आफ्नो पुरानो जुत्ता नै उनले लगाउन पाएका थिए । सोही भ्रमण दलकी अर्की एक सदस्यले सोही ठाउँमा एउटा जुत्ताको सोल फेरेको २००० रुपैयाँ माग गरिएकोमा खुशी भएर ३ हजार रुपैयाँ दिएर फर्किएकी थिइन् । यसले एउटै देशका दुई पर्यटकहरुको स्वभावमा भिन्नता आएको मान्न सकिन्छ ।’

शर्मा भन्छन् ‘पर्यटकको व्यवहार्र पथप्रदर्शकको व्यवहारमा पनि भर पर्ने गर्छ । धेरै पर्यटकहरु भक्तपुर दरबार क्षेत्रमा जाँदा १५ सय रुपैयाँ तिर्न महंगो भएको गुनासो गर्छन् । तर, मसँग आजसम्म कसैले पनि यस्तो गुनासो गरेका छैनन् । किनभने म त्यो पैसालाई प्रवेश शुल्क नभनी दरबार क्षेत्रलाई गरिएको योगदानको रुपमा व्याख्या गर्छु । त्यसले उनीहरु पनि आफ्नो योगदान सम्झिएर सगर्व प्रवेश शुल्क तिर्ने गर्छन् ।’

नेपाल भ्रमण वर्ष २०२० आउन अब डेढ महिना मात्र बाँकी छ । चालू आर्थिक वर्षमा १५ लाख पर्यटक भित्र्याउने प्रक्षेपण गरेको सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना बोकेको छ । भ्रमण वर्षको मिति नजिकिँदै गर्दा यसको चटारो पनि बढिरहेको छ । तर, सरकारले अंकको पछि लागेर पर्यटकको गुणस्तर भने बिर्सिएको अनुभूति हुन्छ ।

भ्रमणवर्षमा सरकारले सबैभन्दा धेरै भारतीय पर्यटक आउने अपेक्षा राखेको छ । कूल २० लाख मध्ये ४ लाख पर्यटकहरु भारतबाट आउने सरकारको प्रक्षेपण हो । तर, भारतीय पर्यटकहरु नेपालमा सबैभन्दा खर्च नगर्ने सूचीमा पर्छन् । पथप्रदर्शकहरु भन्छन् ‘भारतीय पर्यटकहरु सामान किन्नको लागि भनेर एक दिनभरीको समय माग गर्छन् । तर, उनीहरु सबै पसलका सामान हेरिसकेपछि चित्त बुझेन भनेर फर्किने स्वभावका हुन्छन् ।’

त्यस्तै, चिनियाँ पर्यटकहरु आफ्नै देशका व्यापारीहरुकोमा बाहेक त्यसबाहिर केही पनि खर्च गर्दैनन् । केही समयअघिसम्म त उनीहरु वीच्याट र अलिपे मार्फत् सिधै चीनमा भुक्तानी गर्ने गर्थे । अहिले राष्ट्र बैंकले यसमा कडाई गरेको छ । तर, खर्चको हिसाबले चिनियाँहरु पनि कमै खर्च गर्नेको सूचीमा पर्छन् । तर, भ्रमण वर्षभरीमा ३ लाख ३५ हजार पर्यटक भित्र्याउने सरकारी लक्ष्य छ ।

त्यस्तै, थाइल्याण्डबाट ७८ हजार, मलेसियाबाट ४१ हजार, रसियाबाट १७ हजारभन्दा धेरै पर्यटकहरु आउने सरकारी प्रक्षेपण छ । तर, यी देशका अधिकांश पर्यटकहरु खर्च गर्नमा कञ्जुस्याईं गर्ने स्वभावका हुन्छन् । यस्ता पर्यटकहरु नेपालमा आएर अत्यावश्यक ठाउँमा बाहेक खर्च नै गर्दैनन् ।

नेपाल आउनेमध्ये धेरै खर्च गर्नेहरु न्युजिल्याण्ड अष्ट्रेलिया जस्ता देशका पर्यटकहरु हुन् । जसमध्ये न्युजिल्याण्डबाट ६ हजार हाराहारीमा मात्रै पर्यटक आउने सरकारी लक्ष्य छ भने अष्ट्रेलियाबाट ५८ हजार पर्यटक आउने प्रक्षेपण छ । यसबाहेक अमेरिका बेलायत जस्ता देशका पर्यटकहरुले धेरै खर्च गर्ने गर्छन् ।

घट्दै खर्च गर्ने संस्कृति

पछिल्लो तथ्यांकलाई विश्लेषण गर्ने हो भने पर्यटकहरुको खर्च गर्ने संस्कृति घट्दै गएको छ । सन् २००९ मा प्रतिव्यक्ति दैनिक ४५.७ अमेरिकी डलर खर्च गर्ने पर्यटकहरुले २०१८ मा औषत् ४४ अमेरिकी डलर मात्रै खर्च गर्ने गरेका छन् । जबकी २०१७ मा ५४ डलर प्रतिव्यक्ति खर्च गर्ने गरेका थिए । २००९ मा औषत्मा ११ दिन नेपाल बस्ने गरेका पर्यटकहरु २०१६ मा १३ दिन बसेका थिए । अहिले १२ दिनमात्रै औषत्मा पर्यटकहरु नेपाल बस्ने गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयमा पर्यटन विषय अध्यापनरत पशुपति न्यौपाने सरकारले संख्याको आधारमा नभएर पर्यटकले कति खर्च गर्छन् ? भन्ने विषयमा धेरै ध्यान दिनुपर्ने सुझाव दिन्छन् । पर्यटकहरुलाई यहाँ बोलाएपछि जतिसक्दो धेरै खर्च गराउनको लागि सबैभन्दा पहिले मार्केट सेग्मेन्ट गर्नुपर्ने उनको बुझाई छ । यसको लागि कुन ठाउँ कस्ता पर्यटकहरुका लागि उपयुक्त हुन्छ ? त्यो पहिचान गरेर त्यसैको आधारमा आवश्यक सुविधा पु¥याउनु पर्ने उनको बुझाई छ । पर्यटन क्षेत्रमा सरकारले नीति नियम बनाउने भएपनि कार्यान्वयन निजी क्षेत्रले नै गर्ने भएकोले सरकार र निजी क्षेत्रबीच सहकार्यको खाँचो रहेको उनले बताए ।

पर्यटन विभागका सूचना अधिकारी मणि लामिछानेले पर्यटकहरुलाई खुशी बनाएर मात्रै धेरै दिन नेपाल राख्ने र धेरै खर्च गराउन सक्ने भएकोले पर्यटन बोर्डले अघोषित राजदूतको रुपमा रहेका पथप्रदर्शकहरुलाई तालिम दिने र क्षमता अभिबृद्धिका विभिन्न कार्य गर्ने गरेको बताए । पर्यटकको सुविधा र प्रचार प्रसारमा बोर्डको प्रत्यक्ष भूमिका कम भएपनि नेपालको बारेमा राम्रो र नराम्रो छवि विकास गराउन सक्ने क्षमता राख्ने गाइडहरुलाई सकारात्मक रुपमा प्रस्तुत गराउनको लागि यस्ता तालिमहरु दिने गरिएको जानकारी दिए ।

कुन् देशका पर्यटकहरु कस्ता हुन्छन् ?

पर्यटक कुन देशका नागरिक हुन् ? त्यसको आधारमा हामी उनीहरुको स्वभावबारे जानकारी लिन सक्छौं । पथप्रदर्शकहरुको अनुभवलाई आधार मान्दा नेपालमा सबैभन्दा धेरै खर्च गर्नेमा अमेरिकी पर्यटकहरु पर्छन् । त्यस्तै, सबैभन्दा कम खर्च गर्ने इजरायली पर्यटकहरु हुन् । यसमा पनि अपवाद चाहिँ हुनेगर्छ । यद्यपि इजरायली पर्यटकहरुमा अतिरिक्त खर्च गर्ने र मिलनसार स्वभावका पर्यटकहरु पाउनै मुस्किल हुने ‘टुर गाइड’हरु अनुभव सुनाउँछन् ।

युरोपियन र एशियाली मुलुकका पर्यटकहरुबीच खर्च गर्ने, अरुसँग व्यवहार गर्ने र फोटो खिच्ने सवालमा पनि ठूलो भिन्नता हुने गर्छ । खर्च गर्ने सवालमा एशियाली मुलुकका मानिसहरु खासै खर्च गर्दैनन् । युरोपेलीहरु व्यापक मात्रामा खर्चगर्छन् । एशियालीहरु आफू नबसी खासै फोटो नै खिच्दैनन् । युरोपेलीहरु कहिलै पनि आफ्नो फोटो खिच्दैनन् । उनीहरुले राम्रो सिन देखिएका सम्झनाको लागि फोटो खिच्ने गर्छन् । जहाँ पुगेपनि आफू अघि गएर फोटो खिच्ने स्वभाव बढी एशियालीहरुकै हुन्छ ।

खर्चको हिसाबले हेर्दा अमेरिकी पर्यटकहरुमा दुई वर्ग पाइन्छ । एउटा सेवा निबृत्त कर्मचारीहरु बुढेशकालमा घुम्न आएका हुन्छन् । उनीहरु अत्यधिक खर्चालु हुन्छन् । त्यसको तुलनामा युवाहरु कम खर्च गर्छन् । युवाहरु धेरै घुमन्ते स्वभावका हुन्छन् । कम खर्च बोकेर घुम्न आएकाहरु त्यति खर्च सकिएपछि फर्किने गर्छन् ।

अमेरिकी र युरोपेलीहरुमा एउटा कुरामा समानता छ । यी दुबै ठाउँका पर्यटकहरु बियर पाएपछि सबै कुरा भुल्छन् । तर, यिनीहरुमा एउटा भिन्नता पनि छ । अमेरिकीहरु चित्त नबुझेका कुराहरु तत्कालै पथप्रदर्शकलाई भन्छन् र सच्याउन आग्रह गर्छन् । पछि ट्राभल एजेन्सीलाई गुनासो गर्दैनन् । तर, युरोपियनहरु यात्राभरी केही पनि भन्दैनन् र पछि भारी पुग्नेगरी गुनासो बोकाएर फर्किन्छन् । युरोपियनहरुलाई धेरै शिष्ट व्यवहार गर्नुपर्ने हुन्छ ।

यस बाहेक जापानी, चिनियाँ र थाइल्याण्डका पर्यटकहरु धेरै फोटो खिच्ने, कम खर्च गर्ने र कम ज्ञान आर्जन गर्न खोज्ने स्वभावका हुन्छन् । उनीहरु विशेषगरी फोटो खिच्नमा नै आनन्द मान्छन् । रसियनहरु पनि निकै कम खर्च गर्छन् । उनीहरु विशेषगरी शिकारका सौखिन हुन्छन् । शिकार खेल्न पाएमा परेको खर्च गर्ने उनीहरुको स्वभाव हुन्छ । त्यस्तै, कोरियनहरु त्यतिधेरै कन्जुस्याईं गर्दैनन् । तर, अमेरिकी र युरोपेली जस्तो फजुल खर्च पनि गर्दैनन् । उनीहरु ग्रुपमा हिँड्न मन पराउँछन् जसले स्वभाविक रुपमा कम खर्च हुन्छ । यस बाहेक न्युजिल्याण्ड, अष्ट्रेलिया आदि देशका पर्यटकहरु धेरै खर्च गर्ने सूचीमा पर्छन् ।

त्यस्तै, जर्मनहरु अध्ययनको हिसाबले गहन ज्ञानको खोजी गर्ने स्वभावका हुन्छन् । कुनैपनि साइटमा जानुपूर्व त्यसको विषयमा विस्तृत जानकारी लिएर जानु नै जर्मनहरुको गुण हो । उनीहरु प्राकृतिक सौन्दर्यमा हराउने स्वभावका हुँदैनन् । विशेषगरी धार्मिक पर्यटनमा जर्मनहरुको विशेष रुचि हुन्छ । कुनैपनि मन्दिरमा पुग्दा त्यसको इतिहास, किंवदन्ती, त्यसको वैज्ञानिक कारण आदिको बारेमा विस्तृतमा खोजी गर्ने भएकोले सघन ज्ञान नभएका पथप्रदर्शकहरु जर्मनलाई घुमाउन हिच्किचाउने गर्छन् । खर्चको हिसाबले जर्मनहरु पनि त्यति कञ्जुस छैन । अनलाईन

0 Reviews

Write a Review

Lipulek

Read Previous

फेसबुकले हटायो ३ करोड ३ लाख हानिकारक सामग्री

Read Next

३ वर्षदेखी दलित विद्यार्थि छात्रावासको निर्माण कार्य स्थगितः सरकारी निकाय मौन

Leave a Reply

Your email address will not be published. Required fields are marked *