कैलारीमा सङ्क्रमितलाई गाउँ–गाउँ पुगेर औषधि प्रदान

हसुलिया, ८ गते । कैलालीस्थित कैलारी गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्रका सङ्क्रमितलाई आवश्यक औषधि गाउँ–गाउँमा पुगेर प्रदान गरिरहेको छ ।
सङ्क्रमण बढेपछि गाउँपालिकाले गाउँ–गाउँमा स्वास्थ्यकर्मी खटाएर सङ्क्रमितलाई लक्षण अनुसार विभिन्न औषधि निःशुल्क रुपमा प्रदान गर्दै आएको हो ।
पहिलो लहरको कोरोनाको बेला धेरै हद्सम्म सुरक्षित मानिएको सो गाउँपालिका दोस्रो लहरको कोरोनाको चपेटामा परेको छ । पछिल्लो समय गाउँपालिकाका विभिन्न गाउँमा थुप्रै सङ्क्रमित पुष्टि भइरहेका गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताए । ‘हिजोमात्रै विभिन्न वडामा गरेर ८४ जनामा सङ्क्रमण पुष्टि भएको छ’, उनले भने । ‘सबैभन्दा बढी वडा नम्बर ३ मा सङ्क्रमित फेला परेका छन् ।’
सो गाउँपालिकाका विभिन्न गाउँमा बिरामी परेका धेरै मान्छेहरुले अझै पनि कोरोना परीक्षण गराएका छैनन् । उनीहरु टाइफाइडको नाममा स्थानीय मेडिकलमा उपचार गराइरहेका जनाइएको छ । पछिल्लो समय सो गाउँपालिकामा रहेका कतिपय मेडिकल सञ्चालकहरु नै सङ्क्रमित रहेका पाइएका छन् । पोजेटिभ भएको अवस्थामा पनि मेडिकल सञ्चालकहरुले मेडिकल खोल्ने गरेको पाइएपछि प्रहरीले केही मेडिकललाई सिल गरेको अध्यक्ष चौधरीले जानकारी दिए ।
पछिल्लो समय बढी संक्रमित पुष्टि भएको वडा नम्बर ३ मा होम आइसोलेसनमा बसेका सङ्क्रमितहरुको स्वास्थ्य बखर बुझ्न र औषधि वितरणका लागि गाउँपालिकाले स्वास्थ्यकर्मी खटाइएको जनाइएको छ । यसैगरी, अन्य गाउँमा पनि औषधिसहित स्वास्थ्यकर्मी परिचालन गर्ने अध्यक्ष चौधरीले जानकारी दिए ।
केही हप्ता अगाडि सो गाउँपालिकाको वडा नम्बर ७ स्थित केही गाउँमा बढी सङ्क्रमित फेला परेका थिए । औषधिसहित स्वास्थ्यकर्मी परिचालन गरेपछि अहिले अवस्था धेरै हद्सम्म सुधार भएको जनाइएको छ । सङ्क्रमण पुष्टि भएका र कोरोनाका लक्षण देखिए पनि जाँच नगराइएका बिरामीलाई औषधिसहित आवश्यक परामर्श दिइएको थियो । धेरै सङ्क्रमित निको भइसकेका छन् ।
‘गाउँपालिकाले औषधि दिन थालेपछि बिरामीहरु स्थानीय मेडिकलमा जाने र जथाभावी एन्टिबायोटिक औषधि लिएर खानेक्रम धेरै हद्सम्म घटेको छ’, अध्यक्ष चौधरीले भने । ‘अब मेडिकलमा हामीले कडाइ गरेका छौं । पीपीई लगाएर र आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेरमात्रै बिरामी हेर्न मेडिकल सञ्चालकहरुलाई भनेका छौं ।’
बिरामी भएका व्यक्तिहरु कोरोना परीक्षण गराउनुभन्दा पनि मेडिकलमा बढी जाने गरेका जनाइको छ । स्थानीय मेडिकल सञ्चालकहरुले पनि टाइफाइड वा अन्य समस्या भएको भन्दै उपचार गर्ने गरेका छन् । बिरामी परेका व्यक्तिहरु मेडिकलमा बढी जाने गरेको पाइएपछि कोरोना परीक्षणका लागि पठाउनका लागि मेडिकल सञ्चालकहरुलाई सम्झाइ बुझाइ गर्ने कार्य पनि भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले जानकारी दिए ।
‘पहिले कोरोना परीक्षण गरेरमात्रै अन्य उपचार गर्नु पर्छ भनेर हामीले सम्झाउने गरेका छौं’, उनले भने । गाउँपालिकाको कार्यालयले एन्टिजेन विधिबाट गाउँपालिकामै परीक्षण गर्नुका साथै पीसीआर परीक्षणका लागि हप्तामा दुई दिन स्वाब संकलन गर्दै आएको छ । संक्रमण पुष्टि भएका बिरामीहरुलाई उनीहरुका घरमै पुगेर लक्षण अनुसार सिटामोल, एजिथ्रो, खोकीको सिरप, भिटानमिनहरु दिदैं आएको सापकोटाले बताए ।

‘वडाहरुमा सम्बन्धित वडाकै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी खटाएर संक्रमितको अवस्था बुझ्ने, औषधि वितरण गर्ने कार्य गर्दै आएका छौं’, उनले भने । यसैगरी, गाउँपालिकाले बैजपुरस्थित कोरोना अस्थायी अस्पतालमा सङ्क्रमितको उपचार पनि गर्दै आएको छ । केहि दिनभित्रै अक्सिजन सिलिण्डर आउने र अक्सिजन आवश्यक परेका बिरामीलाई कोरोना अस्थायी अस्पतालमै उपचार गर्न सकिने सापकोटाको भनाइ थियो । ‘हामीले उपचार गर्न सक्ने बिरामीलाई आइसोलेसनमै राख्छौं’, उनले भने । ‘गम्भीर बिरामीलाई अरु अस्पतालमा रिफर गरिरहेका छौं ।’
कैलारी गाउँपालिकामा हाल १७१ जना सक्रिय सङ्क्रमित रहेका छन् । सो गाउँपालिकाका हालसम्म छ जना सङ्क्रमितको मृत्यु भएको जनाइएको छ ।

ताजा खबर

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ ३० वैशाख  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?