कञ्चनपुर, ६ कार्तिक
भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा गोल्ड कप इन्डो–नेपाल मैत्रीपूर्ण कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली कराते खेलाडीहरूको टोली भारत प्रस्थान गरेको छ। अक्टोबर २५ मा हुने प्रतियोगितामा जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालका खेलाडीहरूले नेपालको प्रतिनिधित्व गर्नेछन्।
प्रतियोगितामा सहभागी हुन शुक्रबार भारत जान लागेका खेलाडीलाई भीमदत्त नगरपालिकाकी उपप्रमुख निलम लेखकले नेपालको झण्डा ओढाएर शुभकामनासहित बिदाइ गर्नुभएको हो। बिदाइ कार्यक्रममा वरिष्ठ कराते प्रशिक्षक विमल कठायत, वरिष्ठ कबड्डी प्रशिक्षक तारासिंह भाटलगायत खेलाडीका अभिभावकहरूको उपस्थिति थियो।
जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालका केन्द्रीय महासचिव तथा कराते ग्रान्डमास्टर नेपाल हान्सी अभिषेक सिंहले खेलाडीहरूले राम्रो प्रशिक्षण प्राप्त गरेकाले प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार संघका खेलाडीहरूले यसअघि भारतका विभिन्न स्थानमा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदकसमेत जितिसकेका छन्।
व्यक्तिगत खर्चमा अन्तर्राष्ट्रिय प्रतियोगिता, राज्यको सहयोगप्रति असन्तुष्टि
अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै पदक जित्ने लक्ष्यसहित अघि बढेका खेलाडीहरूले भने हरेक पटक व्यक्तिगत खर्चमा प्रतियोगितामा सहभागी हुनुपर्ने बाध्यता रहेको गुनासो गरेका छन्।
महासचिव सिंहले देशका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्दै नेपाली झण्डा फहराउने र स्वर्ण पदक जित्ने खेलाडीलाई प्रदेश, स्थानीय तथा संघीय सरकारले पर्याप्त सहयोग नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। खेलाडीहरूको योगदानको उचित मूल्याङ्कन गर्दै राज्यले प्रशिक्षण, यात्रा तथा प्रतियोगितामा सहभागिताका लागि आवश्यक सहयोग गर्नुपर्ने उहाँको भनाइ छ।
प्रतियोगितामा सहभागी हुन अफिसियलसहित २६ जना भारत प्रस्थान गरेका छन्। नेपाली टोलीले यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्दै देशका लागि पदक जित्ने अपेक्षा गरिएको छ।


