महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज

कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने ऐतिहासिक झोलुङ्गे पुलको एउटा पिलर महाकाली नदीको तीव्र बहावले ढलेपछि पुलबाट हुने आवतजावत पूर्णरूपमा बन्द गरिएको छ ।

बुधबार बिहान दोधारा–चाँदनीतर्फको भागमा रहेको तेस्रो टावरको पिलर महाकाली नदीको बहावले ढालेपछि पुलमा आवतजावत रोकिएको हो । पिलरमा क्षति पुगेपछि पुलको संरचनामा थप जोखिम हुन सक्ने भन्दै सुरक्षाका दृष्टिले आवतजावत बन्द गरिएको हो ।

वि।सं। २०६१ सालमा निर्माण सम्पन्न भएको करिब १ हजार ४५२ दशमलव ९६ मिटर लामो यो झोलुङ्गे पुल एशियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा चिनिन्छ । पुल निर्माण भएपछि दोधारा–चाँदनीका स्थानीयलाई कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आवतजावत गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको थियो ।

पुलमा क्षति पुगेपछि स्थानीयलाई पुनः लामो दूरी घुमेर आवतजावत गर्नुपर्ने अवस्था सिर्जना भएको छ । स्थानीयले पुललाई तत्काल मर्मत गरी सुरक्षित रूपमा सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन् ।

स्थानीय गगनबहादुर सिंहले पुल दोधारा–चाँदनीका लागि दैनिक आवतजावतको महत्वपूर्ण माध्यम भएकाले छिटो मर्मत गर्नुपर्ने बताउनुभयो ।

दोधारा–चाँदनी नगरपालिकाका नगरप्रमुख किशोरकुमार लिम्बूले झोलुङ्गे पुल ऐतिहासिक सम्पदाका रूपमा समेत रहेको भन्दै पुलमा क्षति पुगेर आवतजावत बन्द हुँदा स्थानीयको दैनिक जीवनसँगै क्षेत्रको आर्थिक गतिविधिमा समेत प्रभाव पर्ने बताउनुभयो ।

पुलमा क्षति पुगेको जानकारी पाएलगत्तै कुनै दुर्घटना हुन नदिन आवतजावत पूर्णरूपमा बन्द गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले बताउनुभयो । उहाँका अनुसार यातायात पूर्वाधार निर्देशनालयको प्राविधिक टोलीसँग समन्वय भइसकेको छ । प्राविधिक टोलीले स्थलगत निरीक्षण गरी दिने प्रतिवेदनका आधारमा थप प्रक्रिया अघि बढाइनेछ ।

यसैबीच, पुलमा क्षति पुगेको जानकारी पाएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसहित प्रदेश सरकारका मन्त्रीहरूको टोलीले समेत क्षतिग्रस्त झोलुङ्गे पुलको स्थलगत निरीक्षण गरेको छ । टोलीले पुलको क्षतिको अवस्था, महाकाली नदीको बहाव तथा तत्काल गर्नुपर्ने मर्मतसम्भारका विषयमा जानकारी लिएको छ ।

पुलबाट आवतजावत प्रभावित भए पनि केही दूरीमा चारलेनको पक्की पुल निर्माण भइसकेकाले विगतमा जस्तो भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता भने छैन । तर ऐतिहासिक, पर्यटकीय तथा स्थानीय आवतजावतको महत्वपूर्ण माध्यमका रूपमा रहेको झोलुङ्गे पुललाई समयमै प्राविधिक अध्ययन गरी मर्मत वा पुनर्निर्माण गरेर सञ्चालनमा ल्याउनुपर्ने स्थानीयको माग छ ।

ताजा खबर

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?