कञ्चनपुर, ५ मंसिर।

सुदूरपश्चिम विश्वविद्यालयमा सूचना प्रविधि र नवप्रवर्तनको क्षेत्रमा नयाँ सम्भावना खोज्ने उद्देश्यसहित राष्ट्रियस्तरको ह्याकाथन प्रतियोगिता ‘इन्नेक्स २०२६’ सुरु भएको छ। सुदूरपश्चिम विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङअन्तर्गत इन्नोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लब (आईसीईसी) को आयोजनामा शनिबारदेखि प्रतियोगिता सुरु भएको हो।
प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. किशनदत्त भट्टले गर्नुभएको हो। प्रतियोगिताका संयोजक भुपेन्द्र जोशीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा आईसीईसीकी अध्यक्ष जेलिना भट्टले स्वागत मन्तव्य राख्दै प्रतियोगिताको उद्देश्य र महत्त्वबारे जानकारी गराउनुभएको थियो।
सूचना प्रविधि, नवप्रवर्तन तथा प्राविधिक विकासका क्षेत्रमा नयाँ उपलब्धि हासिल गर्ने लक्ष्यसहित सुदूरपश्चिममै पहिलोपटक राष्ट्रियस्तरको ह्याकाथन आयोजना गरिएको आयोजकले जनाएको छ।
उद्घाटन कार्यक्रममा उपकुलपति भट्टले कृत्रिम बुद्धिमत्ता (एआई), स्वचालन तथा नयाँ प्रविधिको तीव्र विकास भइरहेको वर्तमान समयमा यस्ता प्रतियोगिता र ह्याकाथनले विद्यार्थीलाई नवीन विचार तथा आविष्कारको खोज र प्रयोग गर्न प्रेरित गर्ने बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले डिजिटल अर्थतन्त्रको विकासमा योगदान पुर्याउनुका साथै परम्परागत कक्षाकोठाको सिकाइभन्दा बाहिर गएर विद्यार्थीको सिर्जनशीलता, नवप्रवर्तन र व्यावहारिक सीप अभिवृद्धि गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो। नयाँ प्रविधिलाई समाजको हितमा उपयोग गर्न सक्ने जनशक्ति उत्पादनमा समेत यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो।
‘इन्नेक्स २०२६’ मा काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, लुम्बिनी विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका गरी १० टोली सहभागी छन्। प्रतियोगितामा स्वास्थ्य, शिक्षा, वातावरण, कृषि, साइबर सुरक्षा, फिनटेक, कृत्रिम बुद्धिमत्ता (एआई), मेसिन लर्निङ (एमएल) र ओपन इनोभेसन गरी आठ विधामा रहेका समस्या पहिचान गरी प्राविधिक समाधान विकास गरिनेछ।
प्रतियोगितामा सहभागी टोलीले ४८ घण्टाको अवधिमा आफूले छनोट गरेको समस्याको समाधान खोज्दै नवीन अवधारणालाई व्यावहारिक परियोजनाका रूपमा विकास गरी प्रस्तुत गर्नेछन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई पुरस्कृत गर्ने व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ। सहभागी टोलीले विकास गरेका परियोजनाको नवीनता, व्यावहारिक उपयोगिता तथा समस्या समाधान गर्ने क्षमताका आधारमा उत्कृष्ट टोली छनोट गरिनेछ।
ह्याकाथनले विभिन्न विश्वविद्यालयका विद्यार्थीबीच ज्ञान, सीप, अनुभव र नवीन विचार आदानप्रदान गर्ने अवसरसमेत प्रदान गर्ने अपेक्षा गरिएको छ। साथै, विद्यार्थीलाई प्रविधिमा आधारित सिर्जनशील सोच र व्यावहारिक समाधान विकास गर्न प्रोत्साहित गर्दै सुदूरपश्चिमलाई सूचना प्रविधि तथा नवप्रवर्तनको क्षेत्रमा राष्ट्रियस्तरमा चिनाउन प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले लिएको छ।


