कञ्चनपुर, १० साउन
भीमदत्त नगरपालिका–८ मा स्थानीय समुदायको सक्रिय सहभागितामा सडक सरसफाइ अभियान सञ्चालन गरिएको छ। आईतवार प्रहरी चौकी जिमुवा, जागरुक महिला दिदीबहिनी समूह तथा स्थानीय बासिन्दाको संयुक्त पहलमा टनकपुर लिंक रोडदेखि त्रिभुवन मा वि सम्म जाने सडकको दुवैतर्फ रहेका झाडी, बुट्यान तथा आवागमनमा अवरोध पुर्याइरहेका हाँगाबिँगाको सरसफाइ गरिएको हो।
अभियानको उद्देश्य सडकलाई सफा, सुरक्षित र व्यवस्थित बनाउनुका साथै समुदायमा सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्नु रहेको सहभागीहरूले बताएका छन्। साथै भीमदत्त नगरपालिका–८ भित्र रहेका विभिन्न संघसंस्था, सामाजिक समूह तथा स्थानीयवासीलाई सार्वजनिक स्थलको संरक्षण र सरसफाइमा सक्रिय सहभागिता जनाउन प्रेरित गर्ने लक्ष्य पनि अभियानले लिएको छ।
अभियानमा सहभागी स्थानीयवासी, प्रहरी, जागरुक महिला दिदीबहिनी समूह तथा सहयोग गर्ने सम्पूर्ण हातप्रति आयोजकहरूले हार्दिक धन्यवाद व्यक्त गरेका छन्। यस्ता सामाजिक अभियान एकदिने कार्यक्रममै सीमित नभई निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिँदै प्रत्येक नागरिकले आफ्नै घर अगाडिको सडक तथा सडकको दायाँ–बायाँको क्षेत्र नियमित रूपमा सफा राख्ने बानी बसाल्नुपर्ने उनीहरूको भनाइ छ।
सफा सडक, हरियाली वातावरण र सुरक्षित समुदाय निर्माणका लागि प्रत्येक नागरिकको सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै सरसफाइलाई सामाजिक दायित्व र नागरिक कर्तव्यका रूपमा आत्मसात गर्न सबैमा आग्रह गरिएको छ।


