कञ्चनपुर, मंसिर १२ ।

कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यापर्यटन प्रवर्द्धनका सम्भावना र चुनौतीबारे सरोकारवालाबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत नुरेन्द्र अर्यालको संयोजकत्व तथा राष्ट्रिय प्रकृति संरक्षण कोष, शुक्लाफाँटा संरक्षण कार्यक्रमको साझेदारीमा कार्यक्रम आयोजना गरिएको हो । निकुञ्जको पर्यापर्यटन प्रवर्द्धनका लागि ‘आहा शुक्लाफाँटा’ अभियान सञ्चालन गर्ने उद्देश्यले उद्योग वाणिज्य संघ, पर्यटन व्यवसायी, नेचर गाइड, पत्रकार तथा मध्यवर्ती क्षेत्रका प्रतिनिधिलगायत सरोकारवालाबीच विभिन्न विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत नुरेन्द्र अर्यालले वन्यजन्तु तथा प्रकृतिमा आधारित पर्यटनका दृष्टिले शुक्लाफाँटा उत्कृष्ट गन्तव्य भएको बताउनुभयो । शुक्लाफाँटामा पाइने बाह्रसिङ्गाको ठूलो झुन्ड यहाँको विशिष्ट पहिचान र प्रमुख पर्यटकीय आकर्षण भएकाले यसको प्रचारप्रसार गरी बढीभन्दा बढी पर्यटकमाझ चिनाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।
त्यस्तै, होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज महत्त्वपूर्ण भौगोलिक स्थानमा रहेको र भारतको राजधानी नयाँदिल्लीबाट समेत नजिक भएकाले यसको पर्यटकीय सम्भावना उच्च रहेको बताउनुभयो । उहाँले यस क्षेत्रलाई पर्यटनमैत्री बनाउन निकुञ्जका प्रवेशद्वारदेखि कर्मचारी, पर्यटन व्यवसायी तथा अन्य सरोकारवालाको व्यवहार र कार्यशैली पर्यटनमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको सहजीकरण गर्दै राष्ट्रिय प्रकृति संरक्षण कोष, शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मीराज जोशीले शुक्लाफाँटा देशका अन्य पर्यटकीय गन्तव्यभन्दा कम नभएको बताउनुभयो । यसलाई अन्य पर्यटकीय गन्तव्यसँग जोड्दै साझा ब्रान्डका रूपमा ‘आहा शुक्लाफाँटा’ अभियानलाई अगाडि बढाउन सबै सरोकारवाला एकजुट हुनुपर्ने उहाँको भनाइ थियो ।
अन्तरक्रियामा ‘आहा शुक्लाफाँटा’ अभियानलाई सफल बनाउन सुदूरपश्चिमका विभिन्न पर्यटकीय गन्तव्यलाई एकआपसमा जोड्ने, निकुञ्जको रजत महोत्सव मनाउने, मध्यवर्ती क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्ने, निकुञ्ज भ्रमणका लागि आचारसंहिता निर्माण गर्ने तथा नेपाल टेलिकमको टावर स्थापना गर्न पहल गर्नेलगायत विषयमा छलफल गरिएको थियो ।
शुक्लाफाँटाको पर्यटकीय सम्भावनालाई उजागर गर्दै यस क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रचारप्रसार, पूर्वाधार, सेवा प्रवाह र सरोकारवालाबीचको सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।


