कञ्चनपुर, १४ भदौ ।
समुदायमा रहेका समस्या पहिचान तथा समाधानका लागि महिला सशक्तीकरण केन्द्र र सरोकारवालाबीच पैरवी बैठक कञ्चनपुरमा आयोजना गरिएको छ।
कोइकाको आर्थिक सहयोग, अक्सफामको प्राविधिक सहयोग तथा निड्स नेपालद्वारा सञ्चालित ‘महिला सशक्तीकरण’ अर्थात् ‘इम्पावरिङ हर’ कार्यक्रमअन्तर्गत भीमदत्त नगरपालिकाका वडा नम्बर ५ र ११ मा गठित महिला सशक्तीकरण केन्द्रका सदस्य तथा सम्बन्धित वडाका जनप्रतिनिधिहरूको सहभागितामा बैठक आयोजना गरिएको हो।
बैठकमा समुदायमा रहेका समस्या पहिचान गरी स्थानीय तहसँगको समन्वय र सहकार्यबाट समाधान गर्ने तथा नगरपालिकाबाट विनियोजित विकास योजनाबाट महिला सशक्तीकरण केन्द्रमा आबद्ध महिलाहरूले कसरी लाभ लिन सक्छन् भन्ने विषयमा छलफल गरिएको थियो।
बैठकमा बोल्दै निड्स नेपालकी उपाध्यक्ष तारा थापा धामीले समुदायको विकासका लागि महिलाहरू आफैँ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो। महिलाहरू सक्रिय र नेतृत्वदायी भूमिकामा आए जनप्रतिनिधि, सरकारी निकाय तथा विभिन्न संघसंस्थाबाट सहयोग प्राप्त गर्न सहज हुने र समुदायका समस्या समाधानमा समेत प्रभावकारी भूमिका निर्वाह गर्न सकिने उहाँले बताउनुभयो।
उहाँले समुदायका महिलाहरूले आफ्ना समस्या पहिचान गरी सम्बन्धित निकायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्न सके स्थानीय तहबाट आवश्यक सहयोग र समन्वय जुटाउन सहज हुने बताउनुभयो।
त्यस्तै, इम्पावरिङ हर कार्यक्रमका संयोजक नवीन भट्टले महिला सशक्तीकरण केन्द्रहरूको पहलमा नगरपालिकाले विनियोजन गरेका विकास योजनाबाट कसरी लाभ लिन सकिन्छ भन्ने विषयमा पैरवी बैठकले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।
उहाँका अनुसार आगामी दिनमा समुदायको आवश्यकता र समस्याका आधारमा थप विकास निर्माणका योजना अगाडि बढाउनसमेत यस्ता कार्यक्रमले सहयोग पुर्याउनेछ। गत वर्ष पनि वकालत तथा पैरवी कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै भट्टले यस वर्ष नगरपालिकाको कार्यक्रम तथा नीतिमा महिला सशक्तीकरण केन्द्रका योजनाहरू समेत समावेश भएको बताउनुभयो।
महिला सशक्तीकरण केन्द्रका योजनाहरू स्थानीय तहको नीति तथा कार्यक्रममा समावेश हुनुले समुदायमा रहेका समस्या समाधानका लागि महिलाहरूको क्षमता तथा नेतृत्व विकासमा सकारात्मक योगदान पुगेको उहाँको भनाइ छ।
महिलाको नेतृत्व क्षमता विकास गर्दै उनीहरूलाई समुदायका समस्या समाधानका लागि अग्रसर बनाउने उद्देश्यले सञ्चालित ‘इम्पावरिङ हर’ कार्यक्रमअन्तर्गत हाल २० वटा महिला सशक्तीकरण केन्द्र गठन भएका छन्। ती केन्द्रमा आबद्ध पाँच सय महिला कार्यक्रमबाट प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् भने कार्यक्रमले एक लाख पाँच हजार जनासम्म अप्रत्यक्ष पहुँच पुर्याउने लक्ष्य लिएको छ।
कार्यक्रमले महिलाहरूलाई आफ्नो समुदायका समस्या पहिचान, सम्बन्धित निकायसँग समन्वय तथा पैरवी गर्न सक्षम बनाउँदै स्थानीय विकास प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता बढाउने उद्देश्य लिएको छ।


