कञ्चनपुर -रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि कञ्चनपुरका २४ जना सम्पर्कविहीन भएको पाइएको छ। उनीहरूका परिवारजनले खोजी तथा उद्धारका लागि प्रहरी प्रशासनसँग आग्रह गरेका छन्।
सम्पर्कविहीन हुनेमा भीमदत्त नगरपालिका–१० का ३२ वर्षीय प्रेमप्रसाद जोशी पनि छन्। उनी रसुवास्थित अपर त्रिशूली हाइड्रो इलेक्ट्रिक प्रोजेक्टमा कार्यरत रहेको र बाढीपछि परिवारसँग सम्पर्क हुन नसकेको बताइएको छ। जोशीको अवस्था यकिन हुन नसकेपछि परिवारले तत्काल खोजी गरिदिन अनुरोध गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार रसुवाको बाढी प्रभावित क्षेत्रमा रहेका आफ्ना आफन्तबारे जानकारी लिन कञ्चनपुरका विभिन्न स्थानबाट परिवारजनले प्रहरीमा सम्पर्क गरेका छन्। प्राप्त विवरणलाई संकलन गरी आवश्यक खोजीका लागि प्रहरी प्रधान कार्यालयमा पठाउने काम भइरहेको उनले बताए।
प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा भीमदत्त नगरपालिकाका ८, बेलौरीका ३, कृष्णपुरका ५, शुक्लाफाँटाका ७, लालझाडीका १ र बेदकोटका २ जना छन् ।
प्रहरीका अनुसार उनीहरूमध्ये अधिकांश जलविद्युत् आयोजनामा कार्यरत मजदुर रहेका छन्। यस्तै, नेपाली सेनाका दुई जना, नेपाल प्रहरीका एक जना तथा भन्सार र वन कार्यालयमा कार्यरत कर्मचारीसमेत सम्पर्कविहीनको सूचीमा रहेका छन्।
कञ्चनपुर प्रहरीले सम्पर्कविहीन नागरिकको विवरण सार्वजनिक गरेपछि डडेल्धुराका एक र बैतडीका दुई जनाका आफन्तले समेत प्रहरीसँग सम्पर्क गरेका छन्। बाढी प्रभावित क्षेत्रमा रहेका सुदूरपश्चिमका नागरिकको अवस्था बुझ्न तथा सम्भावित उद्धारका लागि स्थानीय प्रशासनले समेत समन्वय र पहल अघि बढाएको जनाएको छ।


