कञ्चनपुर,२५ साउन
सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न सामुदायिक वन तथा सार्वजनिक स्थानमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ।
दिवसको अवसरमा डिभिजन वन कार्यालय कञ्चनपुर, चुरे संरक्षण सञ्जाललगायत विभिन्न संघसंस्थाको सहकार्यमा जिल्लाका विभिन्न स्थानमा वृक्षारोपण गरिएको हो। यसैक्रममा बेदकोट सामुदायिक वन तथा भीमदत्त नगरपालिका–११ को ६ लेन सडक किनारमा समेत वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले सामुदायिक वन उपभोक्ताहरूको अथक परिश्रम, असल नियत र संरक्षणप्रतिको प्रतिबद्धताका कारण नेपालले ठूलो वन क्षेत्र जोगाउन सफल भएको बताउनुभयो।
उहाँले वनले मानव जीवनका लागि आवश्यक अक्सिजन उत्पादन गर्नुका साथै वातावरण हराभरा बनाउन, जलचक्र कायम राख्न, भूक्षय तथा प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो। वन संरक्षणका लागि सरकारसँगै समुदाय र आम नागरिकको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मी राज जोशीले ६ लेन सडक खण्डलाई हराभरा र सुन्दर बनाउँदै पर्यटकको आवागमन बढाउने उद्देश्यले सामुदायिक वन स्थापना दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
कञ्चनपुरको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको ६ लेन सडक क्षेत्रलाई थप आकर्षक, हराभरा र वातावरणमैत्री बनाउन वृक्षारोपणले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
वृक्षारोपण कार्यक्रममा सामुदायिक वन संरक्षणसँगै युवा सहभागिता, हरित अर्थतन्त्र र दिगो वन व्यवस्थापनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो।
सरोकारवालाहरूले वृक्षारोपण गरेर मात्र वन संरक्षण नहुने भन्दै रोपिएका बिरुवाको नियमित संरक्षण, स्याहार तथा हुर्काउने जिम्मेवारीसमेत समुदायले लिनुपर्ने बताएका छन्। वन क्षेत्रको विस्तारसँगै यसको दिगो व्यवस्थापन र संरक्षणमा स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उनीहरूको भनाइ थियो।
सामुदायिक वन दिवसले वन संरक्षणमा सामुदायिक वन उपभोक्ताहरूले पुर्याउँदै आएको योगदानको स्मरण गराउँदै आगामी दिनमा वन संरक्षण, वृक्षारोपण र वातावरण संरक्षणका अभियानलाई थप प्रभावकारी बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।


