कञ्चनपुर, २५ साउन
स्थानीय तहको संख्या तथा सीमा हेरफेर र नगरपालिकाको विद्यमान वर्गीकरण पुनरावलोकनसम्बन्धी विषयमा कञ्चनपुरमा पहिलो बैठक बसेको छ।
जिल्ला समन्वय समिति कञ्चनपुरको सभाहलमा सोमबार जिल्ला समन्वय प्रमुख दुर्गादत्त बोहराको अध्यक्षतामा बैठक आयोजना गरिएको हो। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार जिल्लाका गाउँपालिका तथा नगरपालिकाको संख्या, सीमा हेरफेर तथा नगरपालिकाको विद्यमान वर्गीकरण पुनरावलोकन गर्ने विषयमा बैठकमा छलफल गरिएको थियो।
बैठकमा कञ्चनपुरका नौवटै स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत तथा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिसहित सम्बन्धित सरोकारवालाको सहभागिता रहेको थियो।
कार्यविधिअनुसार जिल्ला समन्वय प्रमुखको संयोजकत्वमा सबै स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलगायतको टोली गठन गरी गाउँपालिका, नगरपालिका र वडाको संख्या तथा सीमासम्बन्धी विषयमा अध्ययन तथा छलफल गर्ने व्यवस्था गरिएको छ।
पहिलो बैठकबाट स्थानीय तह तथा वडाको संख्या र सीमा हेरफेर आवश्यक देखिएमा सम्बन्धित पालिकाहरूमा थप छलफल तथा बैठक आयोजना गरी स्थानीय नागरिकका समस्या, आवश्यकता र सुझाव संकलन गर्ने निर्णय गरिएको छ। त्यसपछि प्राप्त सुझाव र आवश्यकताका आधारमा थप प्रक्रिया अघि बढाइने जनाइएको छ।
विशेषगरी भौगोलिक रूपमा ठूलो क्षेत्रफल भएका कारण नागरिकलाई सेवा लिन कठिनाइ भइरहेका वडा तथा स्थानीय तहको अवस्था पहिचान गरी आवश्यकताअनुसार सीमा हेरफेर गर्न सकिने विषयमा बैठकमा छलफल भएको छ।
स्थानीय नागरिकलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराउने, भौगोलिक अवस्था तथा जनसंख्याको आवश्यकतालाई सम्बोधन गर्ने र स्थानीय तहको प्रभावकारिता बढाउने उद्देश्यले सीमा तथा संरचना पुनरावलोकनको विषय अघि बढाइएको जिल्ला समन्वय समितिले जनाएको छ।
बैठकले आगामी दिनमा सम्बन्धित गाउँपालिका तथा नगरपालिकामा समेत छलफल तथा बैठक आयोजना गरी स्थानीय नागरिकका समस्या, आवश्यकता र सुझाव संकलन गर्ने निर्णय गरेको छ।
संकलित सुझाव र स्थानीय तहको वास्तविक अवस्थाका आधारमा आवश्यक प्रक्रिया अघि बढाइने जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले बताउनुभएको छ।


