महेन्द्रनगरमा ‘फोफो’ अवधारणासहित एनसेलको नयाँ ग्राहक सेवा केन्द्र सञ्चालन
कञ्चनपुर ७ साउन
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले कञ्चनपुरको महेन्द्रनगरमा ‘फोफो (FoFo – Locally Owned, Powered by Ncell)’ अवधारणामा आधारित नयाँ ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। स्थानीय व्यवसायीलाई स्वामित्व र सञ्चालनको अवसर प्रदान गर्दै कम्पनीले आफ्नो ग्राहक सेवालाई अझ सहज, आधुनिक र प्रभावकारी बनाउने उद्देश्यका साथ सेवा केन्द्र सञ्चालनमा ल्याएको जनाएको छ।
यसअघि सुदूरपश्चिम प्रदेशको धनगढीबाट सुरु गरिएको ‘फोफो’ अवधारणालाई अब महेन्द्रनगरमा पनि विस्तार गरिएको हो। बिहीबार आयोजित एक कार्यक्रमका बीच एनसेलका कस्टमर सर्भिस अपरेसन डाइरेक्टर ज्योति दाहाल र भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले संयुक्त रूपमा सेवा केन्द्रको औपचारिक शुभारम्भ गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै कस्टमर सर्भिस अपरेसन डाइरेक्टर ज्योति दाहालले ‘फोफो’ सेवा केन्द्रमार्फत ग्राहकलाई अझ सहज, विश्वसनीय र गुणस्तरीय सेवा प्रदान गरिने बताइन्। स्थानीय व्यवसायीसँग सहकार्य गर्दै सञ्चालनमा ल्याइएको यस अवधारणाले स्थानीय उद्यमशीलतालाई प्रोत्साहन गर्नुका साथै ग्राहकलाई आधुनिक सेवा अनुभव उपलब्ध गराउने उनको भनाइ थियो।
उनले महेन्द्रनगरस्थित नयाँ सेवा केन्द्रबाट एनसेलका सम्पूर्ण ग्राहक सेवाहरू एकै स्थानबाट प्राप्त गर्न सकिने जानकारी दिइन्। सेवा केन्द्रबाट सिम कार्ड परिवर्तन, ई–सिम (eSIM) सक्रियकरण, केवाईसी (KYC) अद्यावधिक, बिल भुक्तानी, नयाँ सिम खरिद, मोबाइल फोन तथा विभिन्न एक्सेसरिज खरिद लगायतका सेवाहरू उपलब्ध हुनेछन्।
एनसेलका अनुसार ‘फोफो’ अवधारणाले स्थानीय व्यवसायीलाई प्रत्यक्ष रूपमा सेवा सञ्चालनमा सहभागी गराउँदै रोजगारी र व्यवसायिक अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ। कम्पनीले आगामी दिनमा देशका अन्य शहरहरूमा पनि यस्ता सेवा केन्द्र विस्तार गर्ने योजना रहेको जनाएको छ।
आन्दोलनपछि पुनः सेवा सञ्चालन
महेन्द्रनगरस्थित एनसेलको ग्राहक सेवा केन्द्र लामो समयदेखि सञ्चालनमा रहे पनि गत भदौमा भएको ‘जेन्जी आन्दोलन’का क्रममा तोडफोड तथा आगजनी भएपछि सेवा केन्द्र बन्द भएको थियो। त्यसयता ग्राहकले प्रत्यक्ष सेवा लिन कठिनाइ भोग्दै आएका थिए।
अब नयाँ स्वरूप र ‘फोफो’ अवधारणासहित सेवा केन्द्र पुनः सञ्चालनमा आएपछि कञ्चनपुरसहित आसपासका जिल्लाका ग्राहकलाई दूरसञ्चारसम्बन्धी सेवा लिन सहज हुने विश्वास गरिएको छ। कम्पनीले सेवा केन्द्रमार्फत छिटो, सुरक्षित र ग्राहकमैत्री सेवा प्रदान गर्दै स्थानीय स्तरमै गुणस्तरीय ग्राहक सेवा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।


