कञ्चनपुर, १ साउन
कञ्चनपुर जिल्ला अदालतले गत आर्थिक वर्ष २०८२/८३ मा मुद्दा फर्छ्यौट र राजस्व संकलन दुवै क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ। अदालतले एक वर्षको अवधिमा जरिवाना बापत ५ करोड १३ लाख ५१ हजार ९०७ रुपैयाँ राजस्व संकलन गरेको छ।
अदालतका अनुसार विगत वर्षहरूदेखि विभिन्न प्रकृतिका मुद्दाबाट उठ्न बाँकी रहेको ३० करोड १४ लाख ७ हजार ३१२ रुपैयाँमध्ये उक्त रकम असुल गरिएको हो। अझै २५ करोड १ लाख ४५ हजार ४०५ रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको अदालतले जनाएको छ। कैद कार्यान्वयनतर्फ पनि अदालतले ३४.३३ प्रतिशत प्रगति हासिल गरेको छ।
देशभर सबैभन्दा बढी मुद्दा फैसला गर्ने न्यायाधीशका रूपमा परिचित राजेन्द्रसिंह भण्डारीले सीमित स्रोत–साधनका बाबजुद उपलब्ध जनशक्ति र स्रोतको अधिकतम उपयोग गर्दै लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गर्न सफल भएको बताए।
कञ्चनपुर जिल्ला अदालतका तहसिलदार नारायणदत्त ओझाका अनुसार फैसला भई जरिवाना तोकिएका व्यक्तिबाट नियमित रूपमा रकम असुली गर्ने कार्यलाई प्रभावकारी बनाइएकाले राजस्व संकलनमा उल्लेखनीय वृद्धि भएको हो।
अदालतका श्रेस्तेदार जनकप्रसाद शर्माले आर्थिक वर्ष २०८२र८३ मा अघिल्लो वर्षबाट जिम्मेवारी सरेका ६८८ र नयाँ दर्ता भएका १,५२० गरी कुल २,२०८ मुद्दा रहेकामा १,५२४ मुद्दा फैसला गरिएको जानकारी दिए। अदालतले १,४११ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेको भए पनि लक्ष्यभन्दा ११३ मुद्दा बढी फर्छ्यौट गर्न सफल भएको उनले बताए।
हाल अदालतमा ६८४ मुद्दा फैसला हुन बाँकी छन्। तीमध्ये १८ महिनाभित्रका ६६१ र १८ महिना नाघेका २३ मुद्दा रहेका छन्। दुई वर्षभन्दा पुराना कुनै पनि मुद्दा बाँकी नरहेको अदालतले जनाएको छ, जुन अदालतको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
गत आर्थिक वर्षमा न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासबाट १,१०१, न्यायाधीश सूर्यप्रसाद भण्डारीको इजलासबाट ४०७ र न्यायाधीश आत्मदेव जोशीको इजलासबाट १६ मुद्दा फैसला भएका थिए।
यद्यपि अदालतले भौतिक पूर्वाधारको अभावलाई अझै प्रमुख चुनौतीका रूपमा औंल्याएको छ। न्यायाधीश राजेन्द्रसिंह भण्डारीले कञ्चनपुरमा मुद्दाको चाप निरन्तर बढ्दै गएकाले कम्तीमा तीनवटा इजलास सञ्चालन गर्न सकिने आधुनिक अदालत भवन, पर्याप्त कर्मचारी र सेवाग्राहीमैत्री पूर्वाधार निर्माण आवश्यक रहेको बताए।
मुद्दा फर्छ्यौटमा लक्ष्यभन्दा बढी सफलता, पुराना मुद्दा शून्यमा झार्ने उपलब्धि र पाँच करोडभन्दा बढी राजस्व संकलनसँगै कञ्चनपुर जिल्ला अदालतले गत आर्थिक वर्षमा देशकै उत्कृष्ट अदालतमध्ये आफ्नो स्थान बलियो बनाएको छ।


