हाम्रो पुनर्वास, राम्रो पुनर्वास’ नारासहित पुनर्वासमा दोस्रो बृहत् सांस्कृतिक महोत्सव आयोजना हुँदै

किशोर तामाङ

पुनर्वास ६ माघ २०८२

“हाम्रो पुनर्वास, राम्रो पुनर्वास” भन्ने मूल नारासहित पुनर्वास उद्योग वाणिज्य संघको आयोजनामा पुनर्वास नगरपालिका–आईबीआरडी बजार नजिकै रहेको ६५ बिगाहा क्षेत्रमा बृहत् सांस्कृतिक महोत्सव सञ्चालन हुने भएको छ। आयोजकले पत्रकार सम्मेलनमार्फत महोत्सवको मिति, उद्देश्य तथा तयारीका विषयमा विस्तृत जानकारी दिएको हो।

संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार रायमाझीले पुनर्वासको पर्यटन प्रवर्द्धन, सांस्कृतिक तथा धार्मिक पहिचानको संरक्षण, साथै स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताए। उनका अनुसार महोत्सवले पुनर्वासलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा चिनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।

महोत्सव स्थल पुनर्वास नगरपालिका अन्तर्गत आईबीआरडी बजार नजिकै रहेको ६५ बिगाहा क्षेत्रलाई चयन गरिएको छ। सहज यातायात, खुला स्थान र सुरक्षाका दृष्टिले उपयुक्त भएकाले सो क्षेत्र महोत्सवका लागि छनोट गरिएको आयोजकले जनाएको छ। महोत्सव अवधिभर यहाँ सांस्कृतिक कार्यक्रम, व्यापारिक स्टल, स्थानीय उत्पादनको प्रदर्शनी तथा मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन हुनेछन्।

महोत्सवमा पुनर्वास क्षेत्रका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूको प्रवर्द्धन गरिनेछ। पुनर्वास–९ स्थित प्याराताल, पुनर्वास–४ को कोटिहोम, पुनर्वास–८ स्थित श्रीनिवास दिव्यधाम, पुनर्वास–१ को थारू सङ्ग्रहालयलगायत विभिन्न मठ–मन्दिर, चर्च, गुम्बा तथा जातीय संस्कृति झल्काउने भेषभूषा, नाचगान र परम्परागत कला प्रस्तुत गरिनेछ।

आयोजकका अनुसार महोत्सव सञ्चालनका लागि करिब ४० देखि ४५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। महोत्सवको मुख्य आम्दानी स्रोत टिकट बिक्री, स्टल भाडा तथा व्यावसायिक विज्ञापन रहनेछ। साथै, महोत्सवको सफल सञ्चालनका लागि पुनर्वास नगरपालिकाले समेत आर्थिक तथा व्यवस्थापकीय सहयोग गर्ने जानकारी दिइएको छ। महोत्सवमा १२० देखि १५० वटासम्म विभिन्न किसिमका स्टलहरूको व्यवस्था गरिनेछ।

संघका निवर्तमान अध्यक्ष कृष्णबहादुर तामाङले पुनर्वासमा यसअघि पनि महोत्सव आयोजना भइसकेको स्मरण गराउँदै विगतका अनुभव र अन्य शहरमा महोत्सव सञ्चालन गरिरहेका अनुभवी व्यक्ति तथा संघ–संस्थासँग समन्वय गरी कार्यक्रमलाई सभ्य, सुरक्षित र भव्य बनाइने बताए। उनले स्थानीय कृषक तथा उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थानीय उत्पादनका लागि निःशुल्क तथा सहुलियत दरमा स्टल उपलब्ध गराइने जानकारी दिए।

वरिष्ठ उपाध्यक्ष भरतबहादुर बिष्टले पुनर्वास उद्योग वाणिज्य संघले विगतदेखि नै पुनर्वासको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरे। पछिल्लो समय संघको भूमिकामा कमी आएको महसुस भए पनि महोत्सवमार्फत पुनर्वासको पहिचान, आर्थिक गतिविधि र सामाजिक एकतालाई मजबुत बनाउने प्रयास गरिएको उनले बताए। साथै, यस महोत्सवले पुनर्वासलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म परिचित गराउने विश्वास व्यक्त गरे।

करिब ११ दिनसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय कलाकारका साथै चर्चित राष्ट्रिय कलाकारहरूको विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। लामो समयपछि पुनर्वासमा आयोजना हुन लागेको बृहत् सांस्कृतिक महोत्सवले स्थानीय बासिन्दा, व्यवसायी तथा युवाहरूमा उत्साह थपिएको छ। आयोजकले महोत्सवलाई सफल बनाउन सम्पूर्ण सरोकारवालाको सक्रिय सहभागिता र सहयोगको अपेक्षा गरेको छ।

ताजा खबर

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?