कञ्चनपुर – सुदूरपश्चिमको अग्रणी शैक्षिक संस्था जनज्योति बहुमुखी क्याम्पसले कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ।
शुक्रबार सम्मान कार्यक्रमको आयोजना गर्दै कक्षा १२ को परीक्षामा कञ्चनपुर जिल्ला प्रथम असिम गिरी र दोस्रो भएका अङ्कित भट्ट सहित कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको क्याम्पसले जनाएको छ। जनज्योति बहुमुखी क्याम्पसका प्रमुख प्रकाश दत्त जोशीले सम्मान कार्यक्रममा १२ को परीक्षामा जिल्लाभर उत्कृष्ट नतिजा ल्याउने दर्जनौं विद्यार्थीहरूलाई सम्मान गरिएको बताएका छन्। साथै उनले क्याम्पसमा प्रविधियुक्त व्यवस्थापनका साथ कक्षाहरू सञ्चालन भइरहेको बताउँदै क्याम्पसले समाजमा चाहिने दक्ष जनशक्ति उत्पादनमा जोड दिइरहेको बताएका छन्। जिल्ला प्रथम गिरी र दोस्रो भएका भट्ट जनज्योति क्याम्पस भर्ना भएका छन्।
कार्यक्रममा सम्मानित विद्यार्थीहरूले सम्मानको लागि जनज्योति बहुमुखी क्याम्पसप्रति आभार व्यक्त गर्दै यसले थप हौसला प्रदान भएको बताएका छन्। जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्र राज जोशीले सञ्चालन गरेको उक्त कार्यक्रममा क्याम्पसमा पढाई हुने सङ्कायको बारेमा विभागीय प्रमुखहरूले प्रस्तुतिकरण समेत गरेका थिए।
कार्यक्रममा जनज्योति एजुकेसन फाउण्डेसनका अध्यक्ष माधव प्रसाद जोशीको अध्यक्षता रहेको थियो भने प्राध्यापक डा. अक्कल देव मिश्रको प्रमुख आतिथ्य रहेको थियो। जनज्योति बहुमुखी क्याम्पसमा स्नातक तहमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका बीबीए, बीसीए, बीएड, बीए, बीएसडब्लुए सङ्कायको पठनपाठन हुने गरेको छ। कक्षा ११ र १२ मा व्यवस्थापन, कानुन र शिक्षा सङ्कायको पढाई हुने गरेको छ।