काठमाडौंमा ट्राफिक प्रहरीको हत्या ६ जना पक्राउ

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ९ मनमैजु बासुकीनाग टोलमा बनाउँदा बनाउँदै काम रोकेको एउटा घर छ। यो घरमा मानिसहरू आउजाउ गरिरहन्छन्। शुक्रबार अपराह्न करिब साढे ५ बजेतिर एक किशोर यो घरमा पुगे।

झ्याल, ढोका नहालेको र गारो नलगाएको यो घरको भुइँ तलामै उनले मानिसको खुट्टा देखे, शरीर म्याट्रेसले ढाकेको र छेवैमा कपडा जलाएको देखियो। ती किशोरले अरू मानिसलाई यो घटना सुनाए। त्यसपछि १०० मा डायल गरेर प्रहरीलाई घटनाबारे जानकारी दिइयो।

जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयको टोली केहीबेरमा घटनास्थल पुगे। म्याट्रेसले ढाकिएको अवस्थामा शव फेला पर्‍यो। शरीरका विभिन्न ठाउँमा निलडाम र चोट देखियो।

घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढायो। केहीबेरमा शव ट्राफिक प्रहरी जवान ३२ वर्षीय युवराज घिमिरेको भन्ने पहिचान भयो।उनी ट्राफिक प्रहरी कार्यालय दरबारमार्गमा कार्यरत थिए।

खोटाङको मजुवागढी वडा नम्बर १ घर भएका घिमिरे काठमाडौंको टोखा नगरपालिका वडा नम्बर १० गोंगबु गणेशथान बस्दै आएका थिए। बिहीबार बेलुकी ८ बजेसम्म ड्युटी गरेका घिमिरे शुक्रबार भने काममा आएका थिएनन्।

प्रहरीले ड्युटी सकेर घरतर्फ जाँदै गरेका घिमिरेको सिसिटिभी फुटेजबाट खोजी थाल्यो। प्राविधिक पक्षको विश्लेषण र ह्युमन इन्टिलिजेन्सको प्रयोग गरी अनुसन्धान थालेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेले बताए।

साथै प्रहरीले शव फेला परेको घर आसपास बस्ने कामदारहरूमाथि सोधपुछ गरिरहेको थियो। चोरी, लुटपाट, कुटपिट वा अन्य कुनै अपराधमा संलग्न रहेका मानिसलाई शंकाको घेराभित्र राखेर अनुसन्धान थाल्यो।

तर अनुसन्धानलाई सहयोगी बन्यो सिसीटिभी फुटेज। फुटेजमा प्रहरी जवान घिमिरे बिहीबार बेलुकी साढे ८ बजेतिर तार्केश्वर नगरपालिका वडा नम्बर ११ मा रहेको एक खाजा घरमा पसेको देखियो।

ड्युटी सकेर घर जाँदै गरेका उनी खाजा खान ‘हरियो पर्दा’ राखेको खाजा पसल छिरेका थिए। प्रहरीले त्यस पसलमा विभिन्न व्यक्तिहरूको सोधपुछ पनि गरेको छ। जसबाट अनुसन्धानमा जोड मिलेको अनुसन्धानमा संलग्न प्रहरीले बताए।

अनुसन्धानका क्रममा शनिबारसम्म प्रहरीले सम्भावित व्यक्तिहरूको पहिचान गरिसकेको थियो। शनिबार दिउँसो प्रहरीले विभिन्न ठाउँमा चेकिङ पनि गर्‍यो। सुरूमा प्रहरीले १३ वर्षीय नाबालकलाई पक्राउ गर्यो। उनी उदयपुर घर भई बालाजु, मनमैजु लगायत स्थानका सडकपेटीमा बस्थे।

त्यस्तै अष्टनारायण हल पछाडिबाट र २२ धारास्थित जंगलमा बसिरहेका ६ जनालाई प्रहरीले समात्यो। उनीहरूलाई समात्न खोज्दा भागेपछि प्रहरीले एक राउण्ड हवाइ फायर समेत गरेको थियो। अन्तिममा प्रहरीले यस घटनामा संलग्न भनिएका मुख्य व्यक्तिलाई पक्राउ गरेको थियो।

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर १ का आइते भन्ने सचिन परियार यस घटनाका मुख्य अभियुक्त रहेको प्रहरीले जनाएको छ।

साथै नुवाकोट दुप्चेश्वर गाउँपालिका घर भएका १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नम्बर ३ की २१ वर्षीया विपना, बसन्ती भनिने बसुन्धरा कार्की, आँधीखोलाकै ५६ वर्षीया नुनमाया कार्की, नुवाकोटको तानी गाउँपालिका वडा नम्बर ४ ओखरे घर भएकी २१ वर्षीय बुद्ध लामा तामाङ र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा नम्बर १ घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।

उनीहरूलाई पक्राउ गरी आइतबार काठमाडौं प्रहरी परिसरले सार्वजनिक गरेको छ।

एसएसपी बसन्त रजौरेका अनुसार उनीहरू बेवारिसे अवस्थामा छाडिएका निर्माणाधीन घर, सडक लगायत विभिन्न ठाउँमा बस्ने गर्थे। ‘उनीहरू यहीँ बस्ने भनेर ठेगान थिएन। सातै जना सधैँजसो सँगै बस्ने एउटै समूहका हुन्। जहाँ गए पनि उनीहरू सँगसँगै हुँदा रहेछन्,’ एसएसपी रजौरेले भने।

उनकाअनुसार सचिन र अञ्जलीसँगै बस्थे। सचिन र युवराज पूर्वपरिचित हुन्। तर उनीहरूबीच के-कसरी चिनजान भएको भन्ने खुलेको छैन। त्यसदिन ट्राफिक प्रहरी युवराज खाजा खाइरहँदा सचिन र अञ्जली होटलमा पुगेका थिए।

‘उनीहरूले सँगै बसेर खाजा खाए। रक्सी खाएको भन्ने कुरा पनि आएका छन्, तर यकिन छैन,’ एसएसपी रजौरेले भने, ‘तर त्यही बेला ट्राफिक प्रहरी जवान घिमिरेले अञ्जलीमाथि आँखा झिम्क्याएको भनेर भनेका छन्, जिस्क्याएको कुरा सचिनलाई मन परेनछ।’

सचिनले त्यहीँ (खाजा खाएको होटलमा) रिस नपोखे पनि आफ्ना साथीहरू भएका ठाउँसम्म पुर्‍याउने सोचे। खाजा खाइसकेपछि जवान घिमिरेलाई आफूहरू बसेको ठाउँसम्म पुर्‍याइदिन सचिनले आग्रह गरेको देखिएको प्रहरीको भनाइ छ।

जवान घिमिरेसँग मोटरसाइकल थियो। घिमिरेले अञ्‍जली र सचिन दुबैलाई मोटरसाइकलमा राखेर मनमैजु (घटना भएको घरको सडकसम्म) पुर्‍याएका थिए। यो घर खाजा खाएको होटलबाट करिब चार किमीको दूरीमा छ।

मोटरसाइकलबाट उत्रनेबित्तिकै सचिनले अञ्जलीलाई ‘मलाई सञ्चो भएन’ भन्ने कुरा गरेका थिए। सडकदेखि घरसम्म सचिनलाई बोकेर लैजानुपर्ने भयो, अञ्जलीले जवान घिमिरेसँग सहयोग मागेकी थिइन्।

सडकमाथि रहेको त्यो घरमा सचिनका साथीहरू कुरेर बसेका थिए। बिरामी भएँ भनेका सचिनले त्यो घरको आँगनमा पुग्नेबित्तिकै जवान घिमिरेको हेल्मेट खोसेर टाउकोमा प्रहार गरे। कुरेर बसेका सचिनका साथीहरू विपना, नुनमाया, अमृत, बुद्धले ट्राफिक प्रहरी घिमिरेमाथि जाइलागेका थिए।

उनीहरूले नक्कल, रड, इँटाले घिमिरेमाथि प्रहार गरे। ट्राफिक जवान घिमिरेले लगाएको पोशाक, बेल्ट र ढुंगाले टाउको लगायतमा प्रहार गरेका थिए।

ट्राफिक जवान घिमिरेको हत्या गरेपछि सचिनसहितको समूहले शवलाई म्याट्रेसले ढाकेर छोडे। लुगा, जुत्ता जलाइदिए। त्यसपछि उनीहरूको समूह नै जरंखुस्थित सडक पेटी पुगेर सुतेका थिए।

यो समूहले ट्राफिक जवान घिमिरेलाई कुटेर हत्या गरेपछि पर्समा रहेको दुई हजार रुपैयाँसमेत झिकेर लगेका थिए।

ट्राफिक जवान घिमिरेमाथि कुटपिट गर्नुको कारण अञ्जलीसँगको विवाद र लुटपाट हुन सक्ने प्रहरीको प्रारम्भिक विश्लेषण छ। यद्यपि यसबारे थप अनुसन्धान हुन बाँकी नै रहेको एसएसपी रजौरेले बताए।

सचिन यसअघि पनि पक्राउ परिसकेका व्यक्ति हुन्। उनीविरूद्ध चोरी र अभद्र व्यवहार कसुरमा मुद्दा चलेको थियो।

ट्राफिक जवान घिमिरेको शव पोष्टमर्टमको लागि टिचिङ अस्पताल लगिएको थियो। रिपोर्टबाट उनले मापसे गरे, नगरेको खुल्नेछ। पक्राउ परेकाहरू माथि कर्तव्‍य ज्यान कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

ताजा खबर

नागोयामा गुञ्जियो गौरवपूर्ण दशैंको धुन, सयौँ नेपाली एकजुट

जापानको नागोयामा सुदूरपश्चिम नेपाली समाज तोखाई जापानले आयोजना गरेको...

जापानको नागोयामा दशैंको झल्को: जमराको महिमा

- काठमाडौ : सुदूर पूर्वी मुलुक जापानको नागोयामा...

१० दिनमै फेरी कञ्चनपुरमा हात्तीको आक्रमण : बेलौरीका उमेश चौधरीको मृत्यु

कञ्चनपुर- जंगली हात्तीको आक्र्रमणमा परेर फेरी कञ्चनपुरमा एक युवकको...

कञ्चनपुरको बेलौरी नगरपालिका स्तरमै सर्वाधिक धनराशिको खुल्ला फुटबल प्रतियोगिता गोकलपुरमा हुदै

किशोर तामाङ कञ्चनपुर,२१ असोज २०८१ कञ्चनपुरको बेलौरीमा वडा अध्यक्ष कप...

कञ्चनपुरको पुनर्वासमा भारतसँग सीमा जोडिएका वडामा सीमा सम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन

किशोर तामाङ कञ्चनपुर २० असोज २०८१ सीमा सुरक्षाको भूमिकामा रहेको सशस्त्र...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?