सरोकारवालाको चिन्ता: नबढे शिक्षा बजेट, दिगो विकासका लक्ष्य चैट्

काठमाडौं । सरकारले शिक्षा क्षेत्रमा आवश्यक बजेट विनियोजन नगरे दिगो विकासका लक्ष्य हासिल हुन नसक्ने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । योजना र कार्यक्रम राम्रा भएपनि बजेट अभावमा कार्यान्वयन हुन नसक्ने उनीहरुको आशंका छ ।
शुक्रवार शिक्षा पत्रकार समूहले आयोजना गरेको दिगो विकास लक्ष्य: कार्यान्वयनको स्थिति, चुनौति र अवसर’ विषयक अन्तक्र्रियामा बोल्ने अधिकांशले तीनवटै सरकारले लगानीको प्रतिवद्धता जनाए दिगो विकासका लक्ष्य हासिल हुने ठोकुवा गरे । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव घनश्याम अर्यालले तत्कालका लागि बजेट अभाव देखिए पनि निर्धारित समयमा लक्षित उपलब्धी हासिल हुने जिकिर गरे । विद्यमान योजनाहरुको प्रभावकारी कार्यान्वयन भए शिक्षा क्षेत्रमा दिगो विकास लक्ष्य हासिल गर्न कुनै कठिनाइ नभएको उनको दाबी थियो ।
तत्कालका लागि बजेटको कमी रहेको स्वीकार गर्दै उपसचिव अर्यालले शिक्षामा लगानी गरिएको बजेटको ठूलो हिस्सा शिक्षक, कर्मचारीहरुको तलबमा खर्च हुने भएकाले विद्यालयहरुमा थप कार्यक्रम संचालन गर्न भने गाह्रो रहेको बताए । ‘विद्यालय तहमा अझै ५३ हजार शिक्षकको दरबन्दी कमी रहेको तथा १८ सय माध्यमिक विद्यालय अझै दरबन्दीविहीन रहेको भएपनि तीनवटै तहका सरकारले साझेदारीमा लगानी गरेर जाने हो भने लक्ष्य हासिल गर्न सकिन्छ ।’ उपसचिव अर्यालले भने ।
उता, स्थानीय तहका जनप्रतिनिधिहरुले भने संघीय सरकारले आवश्यक बजेटको व्यवस्था नगरे शिक्षामा दिगो विकास लक्ष्य हासिल हुन कठिन रहेको दाबी गरे । गाउँपालिका राष्ट्रिय महासंघ, नेपालका कोषाध्यक्ष उमेश भट्टले संघले स्थानीय तहमा योजना र जिम्मेवारी मात्रै दिएको तर कार्यान्वयनका लागि बजेट नदिएको गुनासो गरे । स्थानीय तहमा विद्यालय शिक्षामा स–साना समस्या रहेको तर संघीय सरकारका योजनाले त्यसलाई नसमेटेको उनको भनाइ थियो । ‘विद्यालयमा भवन, शिक्षक, सिकाइ सामग्री धेरै चिजको अभाव छ, गुणस्तर सुधार्ने भनेर मात्रै कसरी सुध्रन्छ’, भट्टले प्रश्न गरे, ‘कसरी हासिल हुन्छ दिगो विकासका लक्ष्य ?’
यस्तै, पञ्चदेवल विनायक नगरपालिका अछामकी मेयर अम्बिका चलाउनेले बजेटको अभावमा स्थानीय तहले शिक्षालाई गुणस्तरीय बनाउने गरी त्यसको पूर्वाधार विकासमा काम गर्न सक्ने अवस्था नरहेको बताइन्। गुणस्तरीय जनशक्ति उत्पादनका लागि पहिले विद्यालयको आधारभूत तहमा लगानी बढाउनुर्नेमा उनको जोड थियो । ‘कम्तिमा देशभरका विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था गरेपछि मात्रै गुणस्तरका लागि काम गर्न सकिन्छ ।’ मेयर चलाउनेले भनिन् ।
पद्यकन्या मावि डिल्ली बजारकी प्रअ रिता तिवारी हुमागाईंले कार्यान्वयनको प्रमुख पक्ष विद्यालय र शिक्षकलाई वेवास्ता गर्दै बनेका शिक्षाका योजनाले लक्षित उपलब्धी हासिल नहुने ठोकुवा गरिन् । यस्तै, पद्योदय मावि प्रदर्शनीमार्गका प्रअ नारायण गौतमले शिक्षकका समस्या समाधान बिना शिक्षाका समस्या समाधान नहुने बताए ।
कार्यक्रममा शिक्षाविद् वाइपी आचार्यले शिक्षकको क्षमता विकासमा ध्यान दिन आग्रह गर्दै शिक्षामा राजनीतिक प्रतिवद्धता नबढ्दा लक्षित उपब्धी हासिल हुन नसकेको बताए । सबैलाई जीवनपर्यन्त शिक्षासँग जोड्नुपर्ने भन्दै आचार्यले स्थानीय समस्या र खुबीका आधारमा शिक्षाका व्यवहारिक योजना बन्नुपर्नेमा जोड दिए ।
युनेस्को काठमाडौंका शिक्षाप्रमुख ध्रुव रेग्मीले सबै पक्षको प्रतिवद्धता र सहकार्यले दिगो विकासका लक्ष्य हासिल हुने बताए । यसका लागि सबैपक्षले हातेमालो गर्न आवश्यक रहेकोमा उनको जोड थियो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक सुरेशकुमार जोशीले सरकार शिक्षामा दिगो विकासका लक्ष्य हासिल गर्नेगरी अगाडि बढीरहेको स्पष्ट पारे । यसका लागि सबैपक्षको सहयोग र प्रतिवद्धता आवशयक रहेकोमा उनको जोड थियो ।
कार्यक्रममा शिक्षा मन्त्रालयका उपसचिव घनश्याम अर्याल, युनेस्को काठमाडौंका शिक्षाप्रमुख ध्रुव रेग्मी, शिक्षा पत्रकार सुदर्शन सिग्देलले कार्यपत्र प्रस्तुत गरेका थिए । ती कार्यपत्रमा शिक्षा अभियन्ताहरु वाइपी आचार्य, प्रकाश घिमिरे र राजकुमार बरालले टिप्पणी गरेका थिए ।

रोशन गाउँले
महासचिव
शिक्षा पत्रकार समूह

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?