मार्मा गाउँपालिकामा यार्सागुम्बा संरक्षण तथा प्रशोधन केन्द्र स्थापना हुने

दार्चुलाको मार्मा गाउँपालिकामा यार्सागुम्बा संरक्षण तथा प्रशोधन केन्द्र स्थापना हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मार्मा गाउँपालिकाबीच यार्सागुम्बाको संरक्षण तथा प्रशोधनका लागि केन्द्र स्थापना गर्ने समझदारी भएको हो ।
उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूको उपस्थितिमा मन्त्रालय र गाउँपालिकाबीच आइतबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । गाउँपालिकाका तर्फबाट अध्यक्ष जमनसिंह धामी र मन्त्रालयको तर्फबाट सहसचिव बाबुराम गौतमले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
मन्त्री बडूले दार्चुलामा यार्सागुम्बा संरक्षण, अनुसन्धान तथा प्रशोधन केन्द्र स्थापना गर्दा यार्सा संकलक किसान, व्यापारी र समग्रमा राज्यलाई नै फाइदा पुग्ने बताए ।
मार्मा गाउँपालिकामा स्थापना हुने यार्सागुम्बाको संरक्षण तथा प्रशोधन केन्द्रले हिमाली भेगमा पाइने बहुमूल्य जडिबुटीको वास्तविक महत्व पत्ता लाग्ने विश्वास रहेको मन्त्री बडूले बताए । ‘हालसम्म देशभित्र यसको वैज्ञानिक अध्ययन र अनुसन्धान हुन पाएको छैन । संकलक र व्यापारीले पैसा कमाइरहेका छन् । यसको उपयोगिता के हो ? यसको मूल्य किन बढिरहेको छ ? उर्बरता र संरक्षण कसरी बढ्छ ? भन्ने विषयमा वैज्ञानिक अनुसन्धान जरुरी छ,’ उनले भने, ‘मन्त्रालय र मार्मा गाउँपालिकाबीच भएको यो समझदारीले यार्सागुम्बाको उत्पादन, संरक्षण र व्यापारिक प्रयोजनका लागि हामीले कति तहसम्म जान सक्छौं भन्ने यकिन हुनेछ । यसको वैज्ञानिक अनुसन्धानबाट पत्ता लगाउनेछौं ।’
मन्त्रालयले यार्सागुम्बा संरक्षण तथा प्रशोधन केन्द्र स्थापनाका लागि चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ मार्मा गाउँपालिकालाई दिने समझदारी पत्रमा उल्लेख छ । मन्त्री बडूले अनुसन्धानबाट प्रशोधनको चरणमा पुगेपछि बजेट बढाउन सरकार तयार रहेको बताए ।
मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले हालसम्म यार्सागुम्बाको संरक्षण, अनुसन्धान र प्रशोधन हुन नसकेको अवस्थामा मन्त्रालयले चालेको कदमले त्यसतर्फ विकास भएको बताए । ‘दार्चुलाका हिमालमा प्राप्त हुने जडिबुटी र यार्सागुम्बाको वैज्ञानिक अनुसन्धान हुन सकेको छैन । हामीले बाहिर निर्यात मात्रै गरिरहेका छौं । यसको अनुसन्धान गरेर अघि बढ्न सकिएको थिएन,’ उनले भने, ‘अहिले संरक्षण, अनुसन्धान र प्रशोधन केन्द्र स्थापना गर्ने गरी अगाडि बढ्न चाहिरहेका छौं । यसमा संघीय सरकारको महत्वपूर्ण भूमिका रहन्छ ।’

मन्त्रालयका सचिव तोयनारायण ज्ञवालीले यार्सागुम्बा अनुसन्धान र प्रशोधन केन्द्र स्थापनाका लागि अर्थ मन्त्रालय, वन तथा वातावरण र स्थानीय तहसँग सहर्कायको काम भइरहेको जानकारी दिए । प्रशोधन केन्द्र स्थापना गरेर काम थाल्ने गरी समझदारीपत्र भएको उनको भनाइ थियो । चालु आर्थिक वर्षमा नै यार्सागुम्बा अनुसन्धान तथा प्रशोधन केन्द्र स्थापना हुने उनले बताए ।
यार्सागुम्बा अनुसन्धान तथा प्रशोधन केन्द्र स्थापनाको लागि मन्त्रालय र मार्मा गाउँपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा दार्चुलाको अपीहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराको पनि उपस्थिति थियो । दार्चुलाको अपीहिमाल गाउँपालिकामा सबैभन्दा बढी यार्सागुम्बा पाइन्छन् ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?