पोखरा र काठमाडौँमा कैलालीका खसी बोकाको माग

असोज २९, कन्चनपुर । कैलालीको चुरे गाउँपालिकाका किसान जीवन थापाले यसपालि आफ्नै खोरमा पालेका नौ गोटा खसी र १२ बोका बिक्री गरे। काठमाडौँ र पोखराबाट आएका व्यापारीसँग खोरमै उचित मूल्यमा खसी बोका बेच्न पाउँदा उनी खुशी मुद्रामा थिए ।

“पछिल्ला वर्षमा माग बढेसँगै पोखरा र काठमाडौँका व्यापारीले खोरमै पुगेर खसी बोका खरिद गरेर लैजान थालेका छन्”, धनगढीमा खसी बोकाको घुम्ती व्यापार गरिरहेको भेटिनुभएका थापाले भने, “यसले बाख्रापालन गर्ने किसानमा यो व्यवसायप्रति हौसला बढेको छ ।”

चुरे गाउँपालिकामा एउटै खोरबाट कम्तीमा पनि ३५ गोटासम्म खसी बोका बिक्री गर्ने किसान रहेको बताइएको छ । धनगढी अत्तरियालगायतका सहरी क्षेत्रमा भने खसी बोकाको माग पहिलेको जति नहुने गरेको बताइएको छ ।

अर्का व्यापारी लोकबहादुर बोहराले बलि दिने परम्परामा कमी आउँदा धनगढी अत्तरियालगायतका क्षेत्रमा खसी बोकाको माग पहिलेको जस्तो नभएको अनुभव सुनाए । धनगढीमा खसी बोका सङ्कलन केन्द्र तथा खरिद बिक्री केन्द्र सञ्चालन गरिहेका उनले भने, “काठमाडौँका व्यापारी खसी बोका खरिद गर्न चुरे आइपुग्छन्, यसबाट किसानको आम्दानी वृद्धि भइरहेको छ, तर स्थानीय सहरी क्षेत्रमा यसको माग नहुँदा भने सोचेअनुसारको कमाइ गर्न सकेका छैनौँ ।”

कैलालीको चुरे पहाडी क्षेत्रमा पर्ने चुरे गाउँपालिका बाख्रापालनका लागि पकेट क्षेत्रका रूपमा रहेको छ । बडा दसैँको समयमा यो क्षेत्रमा खसी बोकाको ठूलो मात्रामा कारोवार हुने गर्छ । यसपालि चुरे गाउँपालिकाबाट मात्रै व्यापारीले झण्डै २० हजार गोटा खसी बोका स्थानीय किसानबाट खरिद गरेर काठमाडौँ, पोखरालगायतका शहरमा पु¥याएको बताइएको छ ।

कोरोना जोखिमका कारण खसी बोका कारोवारमा केही असर पुगेको घुम्ती व्यापार गर्नेको भनाइ छ । “स्थानीय क्षेत्रमा जिउँदो खसी मुस्किलले प्रतिकिलो रु ५०० देखि ५५० मा खरिद बिक्री भइरहेको छ,” बोहराले भने, “यहाँका खसी बोका पोखरा काठमाडौँ पुर्याएर बेच्दा प्रतिकिलो रु ७०० देखि ८०० सम्ममा बिक्री हुने गरेको सुनिन्छ ।”

बाख्रापालन व्यवसायका लागि सरकारबाट सहयोग नपुगेको गुनासो कृषकको छ । किसान थापाले भने “सरकारले बख्रापालनका लागि पकेट क्षेत्र घोषणा गर्छ, तर पकेट क्षेत्रमा गर्नुपर्ने सहयोग किसानलाई उपलब्ध गराउँदैन ।”

चुरे गाउँपालिकामा अधिकांश किसानको मुख्य आयस्रोत बाख्रापालन, फलफूल, अदुवा र बेसारको खेती रहेको छ । घरघरमा खसी बोकाको मार हान्ने र देवी देवताको नाममा बलि दिने चलन घट्दै जाँदा पछिल्ला वर्षमा दसैँको समयमा खसी बोकाको कारोवार पनि घट्दै गएको बताइएको छ ।

दसैँमा देवीदेवताको नाममा घरघरमा खसीबोका, कुखुरा, हाँस परेवाजस्ता पशु पक्षीको बलि दिने चलन पहिलेको तुलनामा निकै कमी आएको व्यापारीको भनाइ छ । पशु बलिको विकल्पमा नरिवल, कुभिण्डो, फर्सी काँक्राको बलि दिन थालिएको पाइन्छ ।

यद्यपि सुदूरपश्चिम प्रदेशको तराईका जिल्लाको तुलनामा पहाडी जिल्लाका कतिपय शक्तिपीठमा राँगा, खसीबोकाको बलि दिने चलन भने कायम नै छ । देवीदेवताका नाममा पशु पक्षीको बलि दिनु अनुचित हो भन्ने भनाइ पशु अधिकारकर्मीको छ ।

बलि दिएर शक्तिको आराधना गर्ने परम्परामा कमी आउँदा रमाइलो नहुने, एक ठाउँ भेला हुने अवसर प्राप्त नभई सन्तुष्टि प्राप्तसमेत नहुने बलि पक्षधरको भनाइ छ । बलि दिने प्रचलनमा कमी आउँदा शक्तिको उपासना र अध्यात्मिक भावनामा कमी आउन थालेको कतिपयको तर्क पनि उनीहरुको छ ।

ताजा खबर

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

गड्डाचौकीमा नाकामा एकिकृत चेक पोष्ट निर्माण गरिने

कञ्चनपुर, २३ पौष सुदुरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको गड्डाचौकीमा नाकामा एकिकृत...

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ः छात्रा भलिबल तर्फ लक्ष्मीमावि बागफाँटा प्रथम

शुनिल राना, 20 कञ्चनपुर भीमदत्त नगरपालिकाले सचालन गरेको १६ औँ...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?