दसैंमा सबैका हातमा नयाँ–नयाँ नोट,असोज ४ देखि वितरण

भदौ २९ काठमाडौँ —   कोभिडको उच्च जोखिम भन्दै अघिल्लो दसैंमा सर्वसाधारणलाई नयाँ नोट नबाँडेको राष्ट्र बैंकले यो वर्ष भने वितरण गर्ने भएको छ । राष्ट्र बैंकले असोज ४ देखि काठमाडौंमा केन्द्रीय कार्यालय बालुवाटार र हरेक प्रदेश कार्यालयमार्फत सर्वसाधारणलाई नयाँ नोट वितरण गर्नेछ ।

‘धेरै भीड नहोस् भनेर गत सातादेखि नै बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट दिन थालिसकेका छौं,’ राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले भने । उनका अनुसार राष्ट्र बैंकले ४ गतेदेखि नै बाँडे पनि अन्य बैंक र वित्तीय संस्थाले दसैंको १५ दिनअघिबाट मात्र वितरण गर्ने अनौपचारिक सहमति भएको छ ।

यद्यपि राष्ट्र बैंकमै आउने सर्वसाधारणलाई अहिले नयाँ नोट सटही सुविधा दिइएको नेपालले बताए । ‘वितरण भइरहेको जानकारी पाएर आउने सर्वसाधारणलाई खाली हात फर्काएका छैनौं,’ उनले भने । यसो गर्दा धेरै भीड नहुने उनको भनाइ छ ।

सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट पाउनेछन् । यो ५ देखि १ सय रुपैयाँसम्मको एक÷एकवटा बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट दिएको छ । सम्बद्ध बैंकमा ढुकुटीको क्षमता, ग्राहकको मागलगायत आधारमा क, ख र ग वर्गका वित्तीय संस्थालाई उल्लिखित रकम प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ । सोही क्रममा आइतबारसम्म बैंक तथा वित्तीय संस्थाले ३ अर्ब ६० करोड रुपैयाँ लगिसकेका छन् ।

बैंक तथा वित्तीय संस्थाले असोज १०÷१२ देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने जानकारी राष्ट्र बैंकलाई गराएका छन् । दसैं र तिहारका अवसरमा हरेक वर्ष औसतमा ६० देखि ७० अर्ब रुपैयाँ बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्छ । बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन् । खासगरी सर्वसाधारणले सयभन्दा साना दरका नोट धेरै साट्छन् । बैंक तथा वित्तीय संस्थाले सयभन्दा माथि (५ सय र हजार) दरका नोट बढी उपयोग गर्दै आएको राष्ट्र बैंकले जनाएको छ । यो रकममा सिक्काको हिसाब हुँदैन । दसैं र तिहारको अवसरमा सामान्य सिक्कासँगै चाँदी र सुनले बनेका सिक्का (चाँदीका स्मारिका सिक्का र सुनका असर्फी) पनि धेरै विक्री हुँदै आएको छ ।

दसैं र तिहारका लागि नयाँ नोटको माग बढ्दो छ । मागअनुसार राष्ट्र बैंकले बर्सेनि वितरण गरिने नयाँ नोटको परिणाम पनि बढाउँदै आएको छ । यसले बजारमा मुद्रा आपूर्ति बढाउँछ । यसको अर्थ नागरिकको हातहातमा धेरै पैसा पुग्छ । हात हातमा पैसा भएपछि खर्च गर्ने प्रवृत्ति बढ्छ । खर्च गर्ने क्षमता बढेपछि माग बढ्छ । माग बढेपछि बजारमा वस्तु तथा सेवाको मूल्य बढ्छ । यसले समग्र राष्ट्रको मूल्य वृद्धिदर बढाउँछ । मूल्य वृद्धिदर बढ्नु भनेको पैसाको क्रयशक्ति (भाउ) घट्नु हो । यसकारण पैसाको मूल्य तीव्र रूपमा घट्न नदिन अर्थशास्त्री सुझाउँछन् । उनीहरूले नयाँ नोट वितरण राष्ट्र बैंकका लागि चुनौतीपूर्ण बन्दै गएको बताएका छन् ।

राष्ट्र बैंकले नोट छपाइ, वितरण तथा व्यवस्थापनमा वार्षिक करिब ३ अर्ब रुपैयाँ खर्च गर्छ । नोटको माग बढेअनुसार यस्तो खर्च पनि बढ्छ । यसले राष्ट्रको व्ययभार बढाउँछ । यो क्षेत्रमा गरिने लगानी तुलनात्मक रूपमा अनुत्पादक मानिन्छ । नोटको आयु यति नै वर्ष हुन्छ भन्ने नतोकिए पनि जतनले उपयोग गरे धेरै वर्षसम्म टिकाउन सकिन्छ । यो वर्ष वितरण गरेको नयाँ नोट राष्ट्र बैंकमा फर्किंदा पुरानो भएर आउँछ । नागरिकको माग पूरा गर्न राष्ट्र बैंकले ठूलो धनराशि खर्च गर्नुपर्छ । यसरी हरेक वर्ष ठूलो मात्रामा नयाँ नोट छपाइ गर्दा प्रयोग नभएकै अवस्थामा स्टकमा रहेको पुरानो नोटको पनि आयु सकिँदै जाने र नयाँ नोटको आयु पनि सकिने जानकार बताउँछन् ।

पछिल्ला वर्षमा राष्ट्र बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै आएको छ । विस्तारै नगद कारोबारको सीमा घटाउँदै जाने रणनीति राष्ट्र बैंकले लिएको छ । यद्यपि सफा नोट नीति प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा नोटको उचित व्यवस्थापन हुन नसकेको राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले बताए । ‘सफा नोट नीति चुनौतीपूर्ण बन्दै गएको छ,’ उनले भने, ‘३० वर्षअघि कार्यान्वयनमा ल्याउनुपर्ने नोटको अटोमेसन प्रक्रिया बल्ल कार्यान्वयनको चरणमा छ ।’ अटोमेसन भनेको नयाँ नोट प्रवाहदेखि तिनको अवस्थाअनुसार (सुकिलो, पुरानो, च्यातिएको आदि) छनोट र वर्गीकरण हो ।

सरकारले गरेको पछिल्लो व्यवस्थाअनुसार नेपाली मुद्रा (कागजी नोट) वा सिक्का जलाउन, केरमेट गर्न, गाल्न, च्यात्न पाइँदैन । यसो गरेको भेटिए प्रहरीले सीधै प्रक्राउ गरी तीन महिनासम्म जेल हाल्न र पाँच हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ । प्रमाणसहित उजुरीका आधारमा पनि प्रहरीले कारबाही गर्ने  छ ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?