महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीकी १५ वर्षिया रविना भट्ट (नाम परिवर्तन) असोज १३ गते विहानै मर्निङ वाक जान्छु भन्दै घरबाट निस्किइन् ।
विहानै घरबाट निस्केकी रविना १०÷११ बजे सम्म पनि घर नफर्किएपछि उनका परिवार आत्तिए । रविनाका परिवारले छोरी घर नफर्किएपछि आफ्ना आफन्त साथीभाई सबैलाई छोरी त्यहाँ आएकी छ की ? भनेर सोधपुछ गर्न थाल्ये ।
आफन्त साथीभाइबाट यहाँ आएकी छैन, भन्ने जवाफ पाएपछि रविनाका परिवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुगे । जिप्रकामा हराएकी छोरी खोजीदिन भन्दै उनका परिवारले निवेदन दिएपछि प्रहरी टोली रविनाको खोजी कार्यमा जुट्यो ।
र प्रहरीले निवेदन आएको केहि घण्टामै रविनालाई जिल्लाको माहाकाली नगरपालिका स्थित नेपाल भारत सीमा नजिकैबाट उद्दार गर्यो ।
रविनालाई उनको फुपु नाता पर्ने कृष्णपुर नगरपालिका–२ वाणीकी ममता गिरीले ललाईफकाई भारततर्फ लैजादै गरेको अवस्थामा सीमानाका नजिकै बाट उद्दार गरिएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार झोलुङगे पुलमा राम्रो टिकटक बनाइदिन्छु र त्यहाँ फोटो पनि राम्रो आउँछ भन्दै रविनालाई फुपु नाता पर्ने ममताले झोलुङगे पुल सम्म लगेर गईन् ।
झोलुङगे पुल पुगेपछि ममताले पुलपारी झन राम्रो फोटो आउँछ,पारी गएर फोटो खिचेर आउँ भन्दै रविनालाई भीमदत्त नगरपालिका–१३ का राजेन्द्र गिरी संग बाईकमा पठाइन् ।
त्यसपछि राजेन्द्रले फकाएर रविनालाई भारततर्फ लैजादैँ गरेको अवस्थामा नेपाल–भारत सीमानाका नजिकैको बाबाथान बजारबाट माइती नेपाल संगको सहकार्यमा प्रहरीले उद्दार गर्यो ।
त्यस्तै प्रहरीले थप अनुसन्धान गर्दै जाँदा रविनालाई भारत लैजानका लागि भन्दै भीमदत्त नगरपालिका–७ का राजेन्द्र भट्टले भारु पैसाको ब्यवस्था गरिदिएको खुल्न आएको बताइएको छ ।
हाल राजेन्द्र गिरी,राजेन्द्र भट्ट र ममता गिरीलाई मानव बेचविखनको आरोपमा प्रकाउ गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक अमर बहादुर थापाले बताए ।फाइल फोटो