फ्रन्टलाइनमा खटिएका सुरक्षा फौजले आफैं पीसीआर जाँच्ने

काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसको महामारीका बेला फ्रन्टलाइनमा खटिएका सुरक्षा फौजले आफैं पिसीआर परीक्षण गर्ने तयारी थालेका छन् । फौजमा संक्रमितको संख्या बढ्दै जाँदा आफैं पीसीआर मेसिन खरीद गरेर परीक्षण गर्ने तयारी थालिएको हो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पीसीआर मेसिन जडान गर्ने प्रक्रिया अघि बढाएका छन् । सेनाले सैनिक अस्पताल, छाउनीमा राख्ने गरी पीसीआर मेसिन खरिदका लागि टेण्डर खुलाएको छ । सशस्त्र प्रहरीले पनि मेसिन खरिदका लागि टेण्डर खुलाएको सशस्त्र प्रहरी अस्पतालका डीएसपी डा. प्रविण नेपालले बताए ।

नेपाल प्रहरी अस्पतालमा पनि बुधबार पीसीआर मेसिन राखिएको छ । यसको प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले उद्घाटन गरेको अस्पतालका एसएसपी सञ्जय श्रेष्ठले बताए । ‘केही प्राविधिक पक्ष मिलाउन बाँकी छ, केही दिनपछि पूर्ण रुपमा सञ्चालनमा आउँछ’, श्रेष्ठले थपे ।

अभियुक्तको म्याद थप्दा पीसीआर रिपोर्ट अनिवार्य

महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी दीपक थापाका अनुसार ८ असारमा जिल्ला अदालत, काठमाडौंले पीसीआर रिपोर्ट नल्याएको भन्दै विद्युतीय कारोबार सम्बन्धी ऐनका एक अभियुक्तलाई फिर्ता गरिदिएको थियो ।

थापाले भने, ‘अदालतले अभियुक्तसँगै रहने सुरक्षाकर्मीको पनि पीसीआर जाँच्न भनेको थियो ।’ तर, प्रहरी अधिकृतलाई टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउँदा प्रहरीकहाँ नै जाँच्ने भन्दै फर्काइयो ।

‘पहिले प्रयोगशालामा पठाउँदा प्रहरीले नै जाँच्छ भनेर फर्काइएको थियो, प्रहरी अस्पतालमा अहिले पसीआर उपकरण जडान भएको छ’, थापाले सुनाए, ‘हाल प्रहरी अस्पतालमै स्वाब संकलन गरेर प्रयोगशाला पठाउने गरिएको छ ।’

मिसनमा जान पनि पीसीआर रिपोर्ट

नेपाली सेनाका एक हजार सैनिक अधिकारी संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जाँदैछन् । महामारीका कारण तीन महिना रोकिएको बदली पुनः सुरु भएसँगै उनीहरुलाई पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको क्वारेन्टिनमा राखिएको छ ।

यूएनले उनीहरुको पीसीआर रिपोर्ट अनिवार्य पठाउन भनेको छ । त्यसैले जाँचका लागि सेनाले पनि आफैं पीसीआर मेसिन खरिद गर्न लागेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

‘एकपटकको टेण्डर रद्द भएको छ र दोस्रो पटक फेरि टेण्डर खुलाउँदैछौं’, उनले भने, ‘यो सैनिक अस्पतालमा राखिनेछ ।’

सेनाले विदामा गएका सैनिकहरुलाई पनि पीसीआर परीक्षण गरेर मात्र ब्यारेकमा राख्ने गरेको छ । त्यसैले पनि पीसीआर मेसिन सैनिक अस्पतालमा राख्नु आवश्यक रहेको जंगीअड्डाका अधिकारीहरुको भनाइ छ ।

सरकारले दैनिक पीसीआर जाँचलाई बढाउँदै लैजाने तयारी स्वरुप सुरक्षा निकायलाई पनि पीसीआर जाँच गर्न दिने निर्णय गरेको थियो ।

सशस्त्र प्रहरीले खरिद गर्न लागेको पीसीआर मेसिन बलम्बुस्थित कोभिड विशेष अस्पतालमा राखिनेछ । त्यहाँ सशस्त्र प्रहरीका अधिकारीहरुको जाँच हुनेछ ।

हालसम्म नेपाली सेनामा ५२ जना अधिकारीमा कोभिड–१९ संक्रमण देखिएको छ भने २५ जना निको भइसकेका छन् । नेपाल प्रहरीका ८२ जना संक्रमित रहेको प्रवक्ता डीआईजी निरजबहादुर शाही बताउँछन् ।

सशस्त्र प्रहरीमा ४३ जना संक्रमित छन्, तीमध्ये २५ जना निको भइसकेको सशस्त्र प्रहरी प्रवक्ता प्रविणकुमार श्रेष्ठले बताए । [यो समाचार अनलाईनखबरमा गौरव पोखरेलले लेखेका छन् ।]

ताजा खबर

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ ३० वैशाख  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री...

शिक्षामन्त्रीसँग अस्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ २५ वैशाख  माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?