झन्डै पाँच लाख नागरिकले नागरिकता प्राप्त गर्ने

काठमाडौँ, असार ९ गते । सर्वोच्च अदालतबाट नागरिकता ऐन कार्यान्वयनको बाटो खुलेसँगै देशभरिका झन्डै पाँच लाख नागरिकले नागरिकता प्राप्त गर्ने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते विधेयक प्रमाणीकरण गरेपछि २०७२ असोज ३ गतेभन्दा अगाडि जन्मका आधारमा नागरिकता प्राप्त गरेका एक लाख ७५ हजारभन्दा धेरै नागरिकका सन्तानले नागरिकता पाउने छन्।

सर्वोच्च अदालतले राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण भएको नागरिकता ऐन प्रथम दृष्टिमा अवैधानिक भन्न नमिल्ने बताएको छ। गृह मन्त्रालयका उपसचिव एवं नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका प्रमुख कृष्णबहादुर कटुवालले हालसम्मको तथ्याङ्कमा एक लाख ७५ हजारभन्दा बढी नागरिकले जन्मसिद्ध नागरिकता लिएको बताउनुभयो।

उहाँले भन्नुभयो, “यो सङ्ख्यामा केही तलमाथि हुन सक्छ तर लगभगमा यही नै हो। जन्मसिद्धका आधारमा नागरिकता लिएका नागरिकका झन्डै चार लाख ५० हजारदेखि पाँच लाख सन्तान रहेको तथ्याङ्क विश्लेषणमा देखिएको छ, अरू छुटेकालाई पनि नागरिकता वितरण गरिएपछि वास्तविक तथ्याङ्क आउने छ।” उहाँले जन्मसिद्ध नागरिकता लिनेका सन्तानसँगै आमाका नामबाट नागरिकता लिने नागरिकको सङ्ख्या पनि उल्लेख्य रहेको बताउनुभयो। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नागरिकता ऐन कार्यान्वयनमा जाने भएपछि नागरिकमा देखिएको खुसी अनुभूत गर्न सक्नुपर्ने बताउनुभयो। उहाँले वर्षौंदेखि नागरिकताबाट वञ्चित तल्लो तहका उपेक्षित र देशमै नागरिकताविहीन भएर बाँचिरहेका नागरिकको जितका रूपमा सर्वोच्च अदालतको आदेशलाई लिनुपर्ने विचार व्यक्त गर्नुभयो।

उहाँले ऐन कार्यान्वयन भएपछि रोजगारीमा जाने, लेखपढ गर्ने र बैङ्क खाता खोल्नेसम्मका काममा नागरिकलाई राहत हुने बताउनुभयो। उहाँले भन्नुभयो, “नागरिकता ऐन कार्यान्वयन भएपछि लाखौँ नागरिक प्रत्यक्ष लाभान्वित हुने छन्।”

यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीले नागरिकता ऐनविरुद्ध परेको रिटको सुनुवाइ गर्दै निवेदनमा उठाइएका अन्य जिकिरलाई प्रस्तुत रिट निवेदनको अन्तिम किनारा गर्दा विचार गरिने र अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गर्न नमिल्ने आदेश जारी गर्नुभएको थियो। आदेशमा ‘कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन’ भन्ने संवैधानिक व्यवस्था रहेको प्रस्ट पारिएको छ। सर्वोच्चको आदेशसँगै जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता प्राप्त गर्ने छन्।

के छ नागरिकता ऐनमा ?

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको ऐनमा आमाको नामबाट नागरिकता प्राप्त गर्ने, २०७२ असोज ३ गतेभन्दा अगाडि जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता प्राप्त गर्ने र गैरआवासीय नागरिकलाई सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारसहितको नागरिकता प्रदान गर्ने व्यवस्था गरिएको छ।

नागरिकता ऐनमा २०७२ असोज ३ गतेभन्दा अगाडि जन्मको आधारमा नागरिकता लिएका नागरिकका सन्तानले १६ वर्ष उमेर पूरा भएपछि वंशजका आधारमा नेपालको नागरिकता पाउने छन्। जसमा बुवा र आमा नेपाली नागरिक हुनुपर्ने छ। ऐन बन्नुअघि यस्तो व्यवस्था थिएन।

त्यसै गरी आमाको नामबाट नागरिकता लिन सक्ने प्रावधान ऐनले व्यवस्था गरेको छ। ऐनअनुसार नेपाली नागरिक र नेपालमै जन्म र बसोबास गरेका आमाबाट जन्मेका तर बुवाको पहिचान नभएका सन्तानले वंशजको नागरिकता प्राप्त गर्ने छन्। साथै विदेशी नागरिकसँग विवाह गरेका नेपाली महिलाबाट जन्मिएका सन्तानले पनि वंशजकै आधारमा नागरिकता प्राप्त गर्ने छन् तर ती महिलाका आमाबुवा दुवै नेपाली नागरिक हुनुपर्ने छ।

ऐनमा यसरी नागरिकता लिएका कुनै व्यक्तिको बुवा विदेशी रहेको ठहरे निजको वंशजको नागरिकता कायम नरहने व्यवस्था गरिएको छ। निजले बुवाको नागरिकताका आधारमा विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको भनी तोकिएबमोजिम स्वघोषणा गर्नुपर्ने छ। वंशजको नागरिकता प्रमाणपत्र बुझाए अङ्गीकृत नागरिकता प्राप्त गर्ने व्यवस्था ऐनले गरेको छ। नागरिकता ऐनमा यसअघि यो प्रावधान थिएन।

नागरिकता ऐनमा गैरआवासीय नेपाली नागरिकका लागि पनि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता प्राप्त गर्ने व्यवस्था गरिएको छ। ऐनमा ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेका, पहिले वंशज वा जन्मका आधारमा बुवाआमा, बाजेबज्यै नेपाली नागरिक भएका व्यक्तिले विदेशी नागरिकता प्राप्त गरेको भएमा त्यस्ता व्यक्तिलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने’ गरी नागरिकता प्रदान गर्ने व्यवस्था गरेको छ।

   स्राेत    गोरखापत्र 

ताजा खबर

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?