महाकाली नदीमा ट्युब र डुंगामार्फत अवैध रुपमा स्वदेश भित्रिने क्रम जारी

बैतडी: भारतबाट अवैध बाटो भएर नेपाल भित्रिने क्रम नरोकिएपछि बैतडीमा कोरोना संक्रमणको जोखिम बढेको छ।

निषेधाज्ञा जारी गरेर भारतसँग सीमा जोडिएको नाका झुलाघाट खुला भए पनि अवैध बाटोबाट नेपाल भित्रिने क्रम नरोकिएको हो। झुलाघाट नाकामा हेल्थ डेस्क स्थापना गरी एन्टिजेन विधिमार्फत अनिवार्य रुपमा कोरोना परीक्षण गर्ने गरिएको छ। तर अवैध रुपमा नेपाल आउँदा जोखिम बढेको हो।

महाकाली नदीमा ट्युब र डुंगामार्फत अवैध रुपमा स्वदेश भित्रिने गरेकोले कोरोना संक्रमणको जोखिम बढेको पञ्चेश्वर गाउँपालिका प्रवक्ता एवं वडा नं २ का अध्यक्ष दशरथ मंगोलाले बताए। उनले भने,‘औपचारिक नाका खुला हुँदाहुँदै पनि अवैध रुपमा आउँदा गाउँमा जोखिम बढाएको छ।’

गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी छ। जिल्लाको तल्लोस्वराड क्षेत्रमा पर्ने अस्थायी नाका (घाटहरू) अहिले बन्द गरिएका छन्। पञ्चेश्वर गाउँपालिकामा पर्ने बलारा, विनायक,रोल,धरम, डिम्बर र ढोयाघाट तथा शिवनाथ गाउँपालिकामा पर्ने कुस्मौत र नागार्जुन घाट बन्द छन। स्थानीय तहहरूले ती घाटहरू बन्द गरेका भए पनि डुंगा र ट्युबबाट नेपाल–भारत आवतजावत नरोकिएको स्थानीय बासिन्दाले बताएका छन्।

अवैध रुपमा नेपाल भित्रिने क्रम रोक्नका लागि प्रहरी प्रशासनलाई अनुरोध गरिएको वडाअध्यक्ष मंगोलाले बताए। उनले भने, ‘अवैध रुपमा भित्रिँदा जोखि बढेको छ, प्रहरी प्रशासनलाई पनि भनेका गस्ती गरिरहेका भए पनि चोरीछिपी भने आउने क्रम रोकिएको छैन।’ चोरीछिपी नेपाल आउने गरेका नागरिक कोही भने जनप्रतिनिधि र स्वास्थ्यकर्मीको सम्पर्कमा आउने गरेका र कोही सम्पर्कमा नआएर सीधै घर जाने गरेका समेत स्थानीयले बताएका छन्।

‘अवैध रुपमा नआउनुस् भनेर आग्रह धेरैपटक आग्रह गरिसकेका छौं, कसैले भनेको मान्दैनन्। यसले गर्दा गाउँमा कोरोनाको जोखिम बढेको छ’, वडाअध्यक्ष मंगोलाले भने।

अवैध रुपमा नेपाल भित्रिने नागरिकमा जिल्लाको शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिक बढी छन्। जनप्रतिनिधि र स्वास्थ्यकर्मीको सम्पर्कमा आएकाहरूको कोरोना परीक्षण गर्ने गरिएको स्थानीय तहहरूले जनाएका छन्।

महाकाली नदी किनार शिवनाथ र पञ्चेश्वरमा सुरक्षाकर्मीले सुरक्षा दिइरहेको छन्। डिम्बरघाटमा प्रहरी चौकी र रोलघाटमा सशस्त्र प्रहरी बसेको छ। तर सुरक्षाकर्मीले भने अनुसार कडाइ नगरेकाले अवैध रुपमा नेपाल भित्रिने क्रम नरोकिएको स्थानीयको आरोपसमेत रहको छ।

झुलाघाट नाकाबाट आउँदा शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई यातायात र बसोबासका लागि समस्या हुने गरेकोले अवैध रुपमा ट्युबमार्फत भित्रिने गरेका हुन सक्ने सञ्चारकर्मीसमेत रहेका पञ्चेश्वरका स्थानीय बासिन्दा मोहन चन्दले बताए। उनले भने, ‘झुलाघाट नाकाबाट आउँदा यहाँका नागरिकलाई २ दिन घर पुग्न लाग्छ, निषेधाज्ञाका कारणले यातायात र बस्न समस्या हुने गरेकोले अवैध रुपमा आउँछन्।’

अवैध रुपमा नेपाल भित्रिने क्रम रोक्न प्रहरी प्रशासनले कडाइका साथ उक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गर्नुपर्नेमा चन्दले जोड दिए।

यता बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले भने उक्त क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएकोले अवैध रुपमा नेपाल भित्रिएको कुरा आफ्नो जानकारीमा नभएको बताए। उनले भने, ‘सुरक्षाकर्मी, स्थानीय तहका जनप्रतिनिधिसँग सम्पर्क भइरहन्छ, अहिलेसम्म त्यसरी आएको भन्ने गुनासो कतैबाट आएको छैन।’

झुलाघाट नाका खुला रहेकोले त्यसरी अवैध नाका भएर नेपाल प्रवेश नगर्न प्रमुख जिल्ला अधिकारी पाण्डेको आग्रह रहेको छ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि बैतडीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी छ। जिल्लामा हाल कोरोनाका ३०० जना सक्रिय संक्रमित छन् भने १६ जनाको मृत्यु भइसकेको छ।

ताजा खबर

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?