नागरिकता प्राप्तिको गाठो अध्यादेशले यसरी फुकायो

काठमाडौं: जन्मसिद्धका सन्तानले पनि अब वंशजको नागरिकता सहज रुपमा पाउने भएका छन्। सरकारले नागरिकता (पहिलो संसोधन) अध्यादेश २०७८ जारी गरेपछि बालिग भएका जन्मसिद्धका सन्तानले सहज रुपमा वंशजको नागरिकता पाउने भएका हुन्।

मन्‍त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति विद्या भण्डारीले आइतबार जारी गरेको अध्यादेशमा नेपालको संविधान जारी हुनुभन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता लिएका व्यक्तिका सन्तानहरुले अब वंशजको नागरिकता पाउने व्यवस्था गरिएको छ। जनता समाजवादी पार्टी (जसपा) को माग सम्बोधन गर्ने क्रममा सरकारले यो अध्यादेश जारी गरेको जस्तो देखिए पनि यो व्यवस्थाबाट नागरिकताबाट बञ्चित हजारौं नेपाली लाभान्वित हुनेछन्।

नेपालको संविधान जारी हुँदा पनि संविधान जारी भएको मितिसम्म जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तान बालिग भएपछि वंशजको नागरिकता दिने व्यवस्था थियो। तर ऐन बन्‍न नसक्दा यो कार्यान्वयन हुन सकेको थिएन। संविधानको व्यवस्थाअनुसार ऐन नआउँदा नागरिकताका लागि परेको करिव ३५ हजार बढी निवेदन गृहमन्‍त्रालयमा थन्किएका छन्।

यससम्बन्धी विधेयक लामो समयदेखि संसद्‍मा अल्झिएको थियो। सर्वोच्च अदालतले समेत संविधानको यो व्यवस्थालाई ऐन बनाएर कार्यान्वयनमा ल्याउन निर्देशन दिइसकेको थियो। तत्काल संसद्बाट पारित हुने अवस्था नभएपछि अध्यादेश ल्याएर सरकारले नागरिकता प्राप्तिको कानुनी जटिलता फुकाएको हो। यसअघि अन्तरिम संविधान २०६३ जारी हुनुअघिको मितिसम्म कायम रहेका जन्मसिद्धका सन्तानलाई पनि वंशजको नागरिकता दिइएको थियो ।

आइतबार जारी गरिएको अध्यादेशमा भनिएको छ, ‘संवत् २०७२ साल असोज ३ गतेभन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेका नागरिकको सन्तानले बाबु र आमा दुबै नेपालको नागरिक रहेछन् भने निजको उमेर १६ वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।’

आमाको नामबाट पनि नागरिकता

नेपाली आमाबाट जन्म भई नेपालमा नै बसोबास गरेको व्यक्तिको बाबु पहिचान नभएको अवस्थामा वंशजको नागरिकता दिइनेछ । तर, बाबु पहिचान भई बाबुले अन्य देशको नागरिकता नलिएको स्वघोषणा गरेमा अंगीकृत नागरिकता दिने व्यवस्था गरिएको छ । अध्यादेशका यी व्यवस्था संविधानमा समेत उल्लेख छन् ।

नेपाली आमाबाट जन्म भई बाबु पहिचान हुन नसकेको व्यक्तिले नागरिकता प्राप्त गर्न आफू र आमाको समेत स्वघोषणा पेस गर्नुपर्ने व्यवस्था अध्यादेशमा गरिएको छ । मूल ऐनको दफा ८ को उपदफा १ को खण्ड (क १) थप गरी त्यस्तो व्यवस्था गरिएको हो । तर, आमाको मृत्यु भएमा वा होस् ठेगानमा नभएको अवस्थामा भने नागरिकता लिने व्यक्तिले सो व्यहोराको समेत स्वघोषणा गर्नुपर्ने व्यवस्था अध्यादेशमा छ।

यस्तो स्वघोषण झुटो ठहर भएमा कसुर कायम गरी सजायको व्यवस्था समेत गरिएको छ । नागरिकता प्रमाणपत्र प्राप्त गर्न निवेदन दिँदा पेस भएको स्वघोषणा झुटो भएमा कसुर अनुसार सजायको प्रबन्ध गरिएको छ । कसुरमा एक वर्षदेखि तीन वर्षसम्म केद वा एक लाख रुपियाँदेखि तीन लाख रुपियाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्ने व्यवस्था यो अध्यादेशमा गरिएको छ।

मधेसमा खुशीयाली
सप्तरी संवाददाताका अनुसार नेपाल नागरिकता (पहिलो संशोधन), २०७८ अध्यादेश जारी भएका खुशीयालीमा आज साँझ यहाँ मैनबत्ती प्रज्वलन गरिएको छ । संसद्मा नागरिकता विधेयकका रुपमा पेश भएको र विचाराधीन रहेको सो अध्यादेश जारी भएका खुशीयालीमा राजविराजसहित विभिन्न ठाउँमा स्वागत गरिएको छ ।

गजेन्द्रनारायण सिंहको शालिक रहेको राजविराजस्थित गजेन्द्र चोक र शहीद दशनचोकमा जनता समाजवादी पार्टी नेपालका नेताहरुले मैनबत्ती प्रजवलन गरेका छन् । कार्यक्रममा महन्थ ठाकुर र राजेन्द्र महतो समर्थित जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवसहित जिल्लाका नेताको सहभागिता थियो । जसपाको मूल मागका रूपमा रहेको नागरिकतासम्बन्धी अध्यादेश जारी भएको खुशियाली मनाइएको जिल्ला समन्वय समितिका प्रमुख यादवले बताए।

यसैगरी राष्ट्रिय एकता अभियानले पनि मैनबत्ती प्रज्वलन गरी खुशीयाली मनाएको छ । नागरिकतासम्बन्धी अध्यादेशले जन्मसिद्ध नागरिकका छोराछोरीलाई वंशजको नागरिकता दिने र बाबुको पहिचान नभएका नेपाली महिलाका सन्तान र जन्मसिद्धका छोराछोरीलाई वंशजको नागरिकता दिने व्यवस्था गरेको कानून, न्याय तथा संसदीयमामिलामन्त्री लीलानाथ श्रेष्ठले बताइन्।

संविधानले नै जन्मसिद्धका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने व्यवस्था गरेबमोजिम संविधानले प्रत्याभूत गरेका अधिकारबाट नागरिकलाई वञ्चित गर्नु हुँदैन भनेर अध्यादेश ल्याउनु उपयुक्त भएको नेकपा (एमाले) का नेता अशोक यादवले बताए।

हेर्नुहोस् अध्यादेश:नेपाल-नागरिकता-पहिलो-संशोधन-अध्यादेश-२०७८-1

ताजा खबर

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?