‘भोकले मर्नु भन्दा बरु रोगले मरौँला’

देवेन्द्र खड्का

महेन्द्रनगर । आज विहान कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीमा ७ जनाको समुह भेटियो । उनीहरुले निधारमा रातो टिका, कानमा फूल, मुखमा मास्क र पिठ्यूमा झोला भिरेका थिए । नेपाल तर्फ बेला बेला फर्केर हेर्दै, भारततर्फ आफ्ना पाईला अगाडि बढाइरहेका थिए उनीहरु । तिनै ७ जनाको समुहमा कञ्चनपुरको शुक्लाफांटा नगरपालिका–३ जोनापुरका ३२ वर्षिय गणेशदत्त जोशी पनि थिए । जोशी विश्व महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणबाट बच्न चैत महिनामा यही गड्डाचौकी नाका हुदैँ भारतको बैंगलोर बाट नेपाल फर्किएका थिए । तर महामारीकाबिच जोशी रोजगारीका लागी पुनः भारत गइरहेका छन् ।

‘कोरोना बाट बच्न रोगले मरे पनि नेपालमै मर्छु भन्दै चैतमा भारतबाट घर फर्किएको थिए ।’ जोशीले भने ‘तर के गर्नु यहाँ रोगले भन्दा पहिला भोकले मर्नु पर्ने स्थिति आयो ।’ घर फर्किएको ६ महिना सम्म बेरोजगार बस्नु पर्दा दुई छाक टार्न पनि मुस्किल भएपछि फेरी भारत जान बाध्य भएको जोशीले बताए । उनले भने ‘भोकले मर्नु भन्दा त रोगले मर्नु राम्रो जस्तो लागेर बाध्य भई भारत गइरहेको छु ।’ ‘गाउँमा कामको खोजीमा थुप्रै ठाउँ गए, तर लेबरको कामपनि पाएन ।’ त्यहि समुहमा रहेका ३० वर्षिय पदमदत्त जोशीले भने ‘ यहाँ पावर र राजनितिक चिनजान भएपछि मात्र काम पाइने रहेछ । तर के गर्नु आफ्नो न पावर छ, न त कसैसंग चिनजान नै छ ।’ त्यस्तै नेपालमा गुजार नचलेपछि कामको खोजीमा भारत गइरहेको भीमदत्त नगरपालिका–१० सुकासालका चन्द्र बहादुर दमाईको परिवार पनि नाकामा भेटियो । दमाईको परिवार पनि चैत महिनामा स्वदेश फर्किएको थियो ।

 

‘सरकारले केहि काम त दिन्छ होला भन्ने आशले ६ महिना सम्म प्रतिक्षा गरेम ।’ चन्द्र बहादुर दमाईले भने ‘ तर सरकारले हामीलाई हेरेन, त्यसैले पेट पाल्न श्रीमती सहित ४ बच्चा लिएर भारत जादैँ छु ।’ नाकामा जोशी र दमाईका जस्ता थुप्रै समुह तथा परिवारको नजर भारततर्फ थियो । भदौ सुरु भएसँगै नेपाली युवा भारत जाने क्रम सुरु भएको हो । विभिन्न जिल्लामा निषेधाज्ञा र लकडाउन भए पनि ठाउँ–ठाउँमा सुरक्षाकर्मीलाई अनुरोध गर्दै अटोमा महङगो भाडा तिरेर भएपनि युवाहरु नाकासम्म पुग्ने गरेका छन् । एक सातायता भारत जानेको लर्को बढेको गड्डाचौकी नाका सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक ९सई० राम बहादुर बमले बताए । उनका अनुसार कर्णाली प्रदेशकाका विभिन्न जिल्लासँगै, बाँके, बर्दिया, र सुदूरपश्चिमका कैलाली,कञ्चनपुर र पहाडी जिल्लाबाट कामको खोजीमा दिनहुँ ६०÷७० जना भारत पसिरहेका छन् । ‘गड्डाचौकी नाका भएर सोमबार मात्रै ६३ जना युवा भारत छिरे ।’ सई थापाले भने, ‘अहिले भारतबाट भित्रिनेभन्दा त्यता जानेको संख्या बढेको छ ।’ जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको तथ्याङक अनुसार पछल्लो एक सातामा मात्रै १ हजार १ सय १८ जना गौरीफन्टा नाका र ३ सय ५० जना नेपाली गड्डाचौकी नाका भएर भारत पसेका छन् ।

नेपालीहरू ठूलो संख्यामा महाराष्ट्रको मुम्बई, गुजरातको सुरत र पञ्जाब, बैंगलोर लगाएतका सहर बढी जाने गरेका छन् । भारतीय सुरक्षाकर्मीले आधार कार्ड बोकेका परिवार वा भारतीय कम्पनीले मजदुरका लागि पास पठाएकालाई मात्र प्रवेश गर्न दिएको सई बमले बताए । कामका लागि भारत पस्ने केहीसँग रासन ९आधार० कार्ड छ, कसैसँग छैन । रासन कार्ड नभएकाहरू कार्ड भएका परिवारको सदस्य भएर पनि भारत पस्ने गरेका सई बमले जानकारी दिए ।

‘सरकारले रणनीतिक योजना ल्याउन सकेन’

भारतबाट फर्किएका युवा जनशक्तिहरुलाई स्वदेशमै रोजगार बनाउने किसिमले सरकारले सम्बोधन गर्न नसक्दा पुनः भारततर्फ जानु परेको उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष जंग बहादुर मल्ल बताउँछन् । तीनै तहका सरकारले मानव श्रमशक्तिलाई अवसरमा बदल्न नसकेको उनको टिप्पणी छ । ‘ठूलो जनशक्ति स्वदेश भित्रिएको थियो । तर सरकारले सीपमूलक रोजगारको सृजना गर्न सकेन । सरकारले केही रणनीतिक योजना नै ल्याएन,’ उनले भने, ‘त्यसैले जहाँबाट जनशक्ति आएका थिए, त्यही जान बाध्य भएका छन् ।’

स्थानीय, प्रदेश र संघीय सरकारले भारतबाट स्वदेश आएका युवा जनशक्तिका लागि रोजगारी सृजना गर्ने कुनै ठोस योजना ल्याएको छैन् । जसले गर्दा स्वदेशमै रोजगारीविहिन भएर जीविकोपार्जन गर्नै धौ–धौ परे पछि कामको खोजीमा भारत जानु पर्ने बाध्यता सृजना भएको छ । भारतबाट फर्किएकाहरुको सीप पहिचान गरी उनीहरुलाई रोजगारीमा जोड्ने कार्यक्रम ल्याउन स्थानीय तहलाई भनिएको सुदूरपसश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकर बहादुर बिष्टले बताए । स्थानीय तहहरुलाई रोजगारमा जोड्ने विभिन्न कार्यक्रम ल्याएको उनको दाबी छ ।

ताजा खबर

मुद्दा फर्छ्यौटमा उत्कृष्ट कञ्चनपुर जिल्ला अदालत, ५ करोडभन्दा बढी राजस्व संकलन

कञ्चनपुर, १ साउन कञ्चनपुर जिल्ला अदालतले गत आर्थिक वर्ष २०८२/८३...

कञ्चनपुरको गैलनदीमा प्रहरी चौकीको नयाँ भवन निर्माण सुरु, २०८४ असारभित्र सम्पन्न हुने

कञ्चनपुर, ३१ असार कञ्चनपुरको बेदकोट नगरपालिका–८ गैलनदीमा नेपाल प्रहरीको अस्थायी...

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?