स्कोप आर थ्री परियोजनाको वार्षिक प्रभाव मूल्याङ्कन गोष्ठी सम्पन्न

बर्दिया ११ मंसिर ।

निड्स नेपाल र अक्सफाम नेपालको साझेदारीमा सञ्चालित विपद् पूर्वतयारी, द्रुत प्रतिकार्य तथा पुनर्लाभका लागि समुदायको सशक्तीकरण परियोजना (स्कोप आर थ्री) को वार्षिक प्रभाव मूल्याङ्कन गोष्ठी सम्पन्न भएको छ।

गत मंसिर ८ देखि १० गतेसम्म बर्दियाको मधुवन नगरपालिकामा आयोजित तीनदिने गोष्ठीमा कञ्चनपुरका भीमदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालिका, बेलडाँडी गाउँपालिका र डडेलधुराको परशुराम नगरपालिकाका जनप्रतिनिधि, विपद् सम्पर्क व्यक्ति, सामुदायिक विपद् व्यवस्थापन समितिका प्रतिनिधि, सहयोगी संस्था अक्सफाम र एक्टका प्रतिनिधि तथा निड्स नेपालका प्रतिनिधिलगायत सरोकारवालाको सहभागिता रहेको थियो।

निड्स नेपालका सचिव तारा थापा क्षेत्रीको सभापतित्वमा सम्पन्न गोष्ठीको उद्घाटन बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथले गर्नुभएको थियो भने समापन कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोरकुमार लिम्बू प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

विगत छ वर्षदेखि चारवटै पालिकामा सञ्चालन हुँदै आएको परियोजनाका गतिविधि, उपलब्धि र समुदायमा परेको प्रभावको समीक्षा गर्दै आगामी दिनको रणनीति तथा कार्ययोजना तय गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको हो।

समापन कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोरकुमार लिम्बूले परियोजनाअन्तर्गत सञ्चालन भएका गतिविधि समुदायमा कत्तिको प्रभावकारी भएका छन् भन्ने विषयमा समुदाय, पालिका र संस्थाको संयुक्त सहभागितामा मूल्याङ्कन गरी आगामी कार्ययोजना तय गर्न गोष्ठी महत्वपूर्ण रहेको बताउनुभयो।

त्यसैगरी सहयोगी संस्था एक्टका व्यवस्थापक रमनकुमारले परियोजना सञ्चालनपछि समुदायमा आएका परिवर्तन, प्रभाव र उपलब्धिको समीक्षा गर्न गोष्ठीले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले विगत छ वर्षदेखि सञ्चालन हुँदै आएको परियोजनालाई आगामी थप तीन वर्षसम्म निरन्तरता दिने अपेक्षा रहेको समेत उल्लेख गर्नुभयो।

यसैगरी स्कोप आर थ्री परियोजनाका संयोजक ईश्वर उपाध्यायले हरेक वर्ष आयोजना गरिने यस्तो गोष्ठीमा परियोजनाका सबै सरोकारवालाको संयुक्त सहभागितामा हालसम्म भएका कामको प्रभावकारिता, समुदायमा परेको असर, कार्यान्वयनका क्रममा देखिएका चुनौती तथा आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे गहन छलफल गरिने बताउनुभयो।

तीन दिनसम्म सञ्चालन भएको गोष्ठीमा परियोजनाका उपलब्धि तथा प्रभावको समीक्षा, समुदायका अनुभव आदानप्रदान, विपद् जोखिम न्यूनीकरणका चुनौती पहिचान र आगामी दिनमा अपनाउनुपर्ने रणनीति तथा कार्ययोजनाबारे छलफल गरिएको थियो।

गोष्ठीबाट प्राप्त अनुभव, सुझाव र सिकाइले आगामी दिनमा विपद् पूर्वतयारी, द्रुत प्रतिकार्य तथा पुनर्लाभका कार्यक्रमलाई थप प्रभावकारी र दिगो बनाउँदै विपद् उत्थानशील समुदाय निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

ताजा खबर

समाजसेवी ऐरीको पहलमा मालिकार्जुन आधारभूत विद्यालयमा निःशुल्क आँखा शिविर

कञ्चनपुर, ५ मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित मालिकार्जुन आधारभूत...

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकाथन ‘इन्नेक्स २०२६’ सुरु

कञ्चनपुर, ५ मंसिर। सुदूरपश्चिम विश्वविद्यालयमा सूचना प्रविधि र नवप्रवर्तनको क्षेत्रमा...

भीमदत्त–७ मा ब्रह्मदेव राजमार्गको झाडी सफाइ, सडकमा सौर्यबत्ती जडान गरिने

कञ्चनपुर, ५ मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ स्थित ब्रह्मदेव राजमार्गअन्तर्गत...

उत्कृष्ट खेलाडीलाई मदन चन्दद्वारा ट्र्याकसुट वितरण

कञ्चनपुर, १५ कार्तिक  कञ्चनपुर को भीमदत्त नगरपालिका–७ हल्दुखालमा आयोजित खुला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?